कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ठेक्कामात्र ओगट्दा पुँजीगत खर्च भएन’

ऋषिराम पौड्याल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूले ठेक्का ओगटेर बस्ने प्रवृत्ति हाबी हुँदा पुँजीगत खर्च गर्न नसकिएको बताए । एउटै ठेकेदारलाई ५० वटाभन्दा बढी ठेक्का दिइएकाले काम छिटो हुन नसकेको उनले बताए । काम सुरु नहुँदै २० प्रतिशत अग्रिम भुक्तानी दिने विगतको गलत नीति आफ्नो सरकारले सच्याइएको उनले बताए । 

‘ठेक्कामात्र ओगट्दा पुँजीगत खर्च भएन’

सरकार गठन भएपछि ३ हजार ६ सय किमि सडक कालोपत्रे भएको र दुई वर्षमा ३२५ वटा पुल बनेको उनको दाबी छ । ७० वटा ठूला आयोजनाको प्रगति समीक्षा हेर्दा भइसकेका कामको पनि समयमै भुक्तानी नहुँदा खर्च कम भएको उनको दाबी छ । निर्माण व्यवसायीले समयमै बिल पेस नगर्नु, वैदेशिक सहयोग समयमै नआउनु, ठेक्काको म्याद थपका लागि समयमै अनुरोध नआउनु वा म्याद थप हुन नसक्नु जस्ता प्रमुख कारण देखिएको उनले बताए ।


सहरी विकास मन्त्रालयअन्तर्गतका ३६८ मध्ये २३९ ठेक्काको म्याद नाघेको उनले जानकारी दिए । ‘खानेपानी मन्त्रालयतर्फ ७२ अर्ब ८० करोड रकम बराबरका ११५ मध्ये ६८ ठेक्काको म्याद सकिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक र पुलमा करिब ६ अर्ब वैदेशिक स्रोत नजुट्दा भुक्तानी भएको छैन,’ ओलीले भने । सहरी विकासतर्फ १८ कम्पनीले ४४ दशमलव ४ प्रतिशत रकम बराबरको ठेक्का ओगटिरहेको उनले बताए । साथै सडकतर्फ १८ कम्पनीले २ खर्ब ३९ अर्ब ४७ करोड रकम बराबरको ठेक्का ओगटेको उनले जानकारी दिए ।


गल्छी–रसुवागढी–केरुङ ४ सय केभी क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण गर्न नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन लिमिटेड चाइनाबीच सम्झदारीपत्र सम्पन्न भएको उनले बताए । ओलीले नेपाल–भारत सीमादेखि गोरखपुरसम्मको १२० किमि ४ सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्ने सहमति भएको छ । नेपाल–चीनबीच ऊर्जा सहमति र सहकार्यको सम्झौता सम्पन्न भएको उनले जानकारी दिए । मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको पनि उद्घाटन भएको उनले बताए । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक वृदिदर विश्वका १० मुलुकसँगसँगै रहेको बताएका छन् । गणतन्त्र स्थापनापछिको एक दशकसम्म आर्थिक वृद्धिदर ४ प्रतिशत रहे पनि गत वर्ष ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि भएको उनको भनाइ छ । सबै प्रदेशमा ६ प्रतिशतभन्दा कम आर्थिक वृद्धि नभएकाले यसले रोजगारी बढाएको उनको दाबी छ ।


०७६ सालको अन्त्यतिर १६ दशमलव ५ प्रतिशत मात्र गरिबी रहने अनुमान प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले अब गरिबी उन्मूलन हुने गरी काम गरिने जानकारी दिए । न्यूनतम ज्यालामा भएको वृद्धि, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कार्यक्रमको विस्तारले न्यून आय भएका जनतालाई थप राहत पुगेको उनको भनाइ छ । विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि भएको तथ्यांक पेस गर्दै उनले चालु आवमा मात्रै २ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता थपिएको बताए ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?