कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरसञ्चार सेवा प्रदायकको गुणस्तर : तीनवटै कम्पनीको सेवा कमजोर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वका दुई स्थानमा गरेको टेस्ट ड्राइभ (परीक्षण) का क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट तीन वटै कम्पनीको सेवा मापदण्डभन्दा कमजोर रहेको पाइएको छ । झापाको दमक नगरपालिका र इलामको इलाम नगरपालिका क्षेत्रमा गरिएको परीक्षणमा केही पक्षबाहेक प्रायः मापदण्डमा तीन वटै कम्पनीको सेवा कमजोर पाइएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

दूरसञ्चार सेवा प्रदायकको गुणस्तर : तीनवटै कम्पनीको सेवा कमजोर

प्राधिकरणले फोन कल स्थापना हुन लाग्ने समय, फोन कल स्थापना हुने दर, आफैं फोन कल विच्छेद हुने दरजस्ता पक्ष समेटेर परीक्षण गरेको हो । नेपाल टेलिकमले एउटा मापदण्ड पूरा गरे पनि अन्य दुई सेवा प्रदायकको भने तीन वटै मापदण्ड कमजोर रहेको पाइएको छ । दमकमा गरिएको परीक्षणमा नेपाल टेलिकमबाट फोन कल स्थापना हुन लाग्ने समय करिब १० सेकेन्ड रहेको प्राधिकरणको प्रतिवेदनमा जनाइएको छ । एनसेलबाट एनसेलको नेटवर्कमा कल गर्दा कल स्थापना हुन साढे ६ सेकेन्ड लाग्छ भने स्मार्ट टेलिकमबाट उसैको नेटवर्कमा कल गर्दा ८ सेकेन्डपछि मात्रै कल स्थापित भएको छ ।


प्राधिकरणले तोकेको मापदण्डअनुसार फोन कल स्थापना हुन ५ सेकेन्ड वा सोभन्दा कम समय लाग्नुपर्छ । तर तीन वटै सेवा प्रदायक यो मापदण्डमा असफल देखिएका हुन् ।


दमकमा गरिएको परीक्षणका क्रममा फोन कल स्थापना हुने दरमा पनि तीन वटै सेवा प्रदायक असफल देखिएका छन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार फोन कल स्थापना हुने दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ । तर नेपाल टेलिकमको फोनकल स्थापना हुने दर ९७, एनसेलको करिब ९७ र स्मार्टको ९४ प्रतिशत मात्रै भेटिएको छ । कल स्थापना हुने दर भनेको कति पटक फोन डायल गरियो र कति पटक सम्पर्क भयो भन्ने तथ्यांकबाट निकालिने प्रतिशत हो ।


प्राधिकरणले तोकेको अर्को मापदण्ड आफैं फोन कल विच्छेद हुने दरमा पनि नेपाल टेलिकमबाहेक अन्य दुई सेवा प्रदायक असफल देखिएका छन् । दमकमा गरिएको परीक्षणका क्रममा नेपाल टेलिकमको आफैं फोन कल विच्छेद हुने दर १ प्रतिशत मात्रै देखिए पनि एनसेल र स्मार्टको दुई प्रतिशतभन्दा बढी भेटिएको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले तोकेको मापदण्डअनुसार आफैं फोन कल विच्छेद हुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्छ ।


दमक नगरपापालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा १ सय पटक, एनसेलको नेटवर्कमा ९९ पटक र स्मार्ट टेलिकमको नेटवर्कमा १ सय पटक कल प्रयास गरिएको थियो ।


इलाम नगरपालिका क्षेत्रमा पनि दमककै नतिजा देखिएको प्रतिवेदनले जनाएको छ । इलाममा फोन कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको साढे ९ सेकेन्ड र एनसेलको साढे ७ सेकेन्ड भेटिएको छ । फोन कल स्थापना हुने दर नेपाल टेलिकमको करिब ९९ प्रतिशत र एनसेलको ८१ प्रतिशत मात्रै देखिएको छ । इलाम नगरपालिका क्षेत्रमा आफैं फोन कल विच्छेद हुने दरमा पनि नेपाल टेलिकमले मात्रै मापदण्ड पूरा गरेको छ । एनसेलको आफैं फोनकल विच्छेद हुने दर करिब ९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल टेलिकमको नेटवर्कमा भने आफैं फोन कल विच्छेद हुने दर १ प्रतिशत मात्र रहेको प्रतिवेदनमा जनाइएको छ ।

इलाम क्षेत्रमा परीक्षण गर्दा नेपाल टेलिकमको नेटवर्कमा ९४ र एनसेलको नेटवर्कमा ९६ पटक कल प्रयास गरी औसतमा नतिजा निकालिएको हो ।


हरेक फोन कलको अवधि १२० सेकेन्ड रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसअघि पनि विभिन्न स्थानमा यस्तै परीक्षण गरी सेवा प्रदायकलाई मापदण्ड पूरा गर्ने गरी सेवा सुधार्न निर्देशन दिएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?