कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्रास हुँदै माटोको उर्वराशक्ति

माटोमा अम्लीयपन बढेको र प्रांगारिक तफ्व कम हुँदै गएको विज्ञहरुको टिप्पणी 
रमेशकुमार पौडेल

(चितवन) — पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगरको राजमार्गदेखि दक्षिणको क्षेत्र धान उत्पादनका लागि प्रख्यात छ । यहाँ वर्षमा दुई पटक धान रोप्ने चलन छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यो क्षेत्रलाई ‘धान जोन’ घोषणा गरेको छ । तर त्यहाँको माटोको उर्वराशक्ति कम हुँदै गएको परीक्षणले देखाएको छ । माटोमा अम्लीयपन बढ्नुका साथै प्रांगारिक तत्त्व कम हुँदै गएको विज्ञहरूले बताएका छन् ।

ह्रास हुँदै माटोको उर्वराशक्ति

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ का तर्फबाट त्यो क्षेत्रको माटोको १८० नमुना परीक्षण भएको थियो । जसमध्ये १२० नमुनाको नतिजा आएको छ । ‘परीक्षण भएकामध्ये १०१ नमुनामा अम्लीयपन बढी भएको देखिएको छ । त्यसैगरी ९८ वटा नमुनामा प्रांगारिक पदार्थको कमी देखिएको छ,’ जोनमा आबद्ध कृषि अधिकृत तथा सूचना अधिकारी माधव पौडेलले भने । ७१ वटा नमुनामा पोटासको मात्रा पनि कम देखिएको छ । ‘माटोमा अम्लीयपन कम वा बढी भए बिरुवाले उसलाई चाहिने खाद्य तत्त्व प्राप्त गर्न सक्दैन । रोगकिराको प्रकोप पनि बढ्छ,’ उनले भने । पोटासमा पनि रोग प्रतिरोध क्षमता हुने गर्छ । यसको कमी हुँदा बिरुवा बढ्ने र उत्पादन दिने बेलामा अनेक खालका समस्या किसानले बेहोर्नुपर्ने उनले बताए ।


वाग्मती प्रदेश सरकारको हेटौंडामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालयको मोबाइल प्रयोगशालाले स्थलगत रूपमै माटो परीक्षण गरेको थियो । प्रांगारिक पदार्थ भनेको माटोको मुटु भएको प्रयोगशालाका माटो विज्ञ गणेशप्रसाद साहले बताए । ‘प्रांगारिक पदार्थको अवस्था कमजोर देखियो । यो भनेको माटोको मुटु कमजोर भयो भनेर बुझ्नुपर्छ । यसो हुँदा माटो उर्वर हुन सक्दैन,’ उनले भने ।


अम्लीय माटोको उपचारका लागि मात्रा मिलाएर कृषि प्राविधिकको सल्लाहबमोजिम कृषि चुन प्रयोग गर्नुपर्ने उनले बताए । पोटासको. मात्रा पूरा गर्न सोही मल नै राख्नुपर्ने उनको भनाइ छ । ‘पिसाब मिसिएको गोबर मल प्रयोग गर्दा पनि पोटासको मात्रा बढ्छ,’ पौडेलले भने । खेतमा उत्पादित बालीको सबै अंश निकाल्ने गर्दा माटोमा प्रांगारिक पदार्थको कमी हुन थालेको उनले बताए ।


‘खेतमा अन्नबाली उत्पादन भएपछि अन्न लिने र ढोडपरालको अंश खेतमै छाड्ने गरे प्रांगारिक पदार्थको मात्रा माटोलाई पुग्थ्यो । तर अहिले अन्न र ढोडपराल दुवै लिने गरिन्छ । त्यसैले माटोमा प्रांगारिक पदार्थको अंश रहँदैन,’ कृषि अधिकृत पौडेलले भने । गाईवस्तु पाल्ने चलन कम हुँदै गएका कारण गोबर मल पनि माटोले पाउन नसक्दा प्रांगारिक पदार्थ कम भएको माटो साहले बताए ।


‘प्रांगारिक पदार्थ बढाउन कम्पोस्ट वा गोठेमलको प्रयोग बढाउनुपर्छ,’ पौडेलले भने । पूर्वी चितवनमा धानबाली नै मुख्य उत्पादन भएको र तरकारी खेती पनि बढ्दो क्रममा रहेका कारण माटोको उर्वरा शक्ति जोगाउन नगरवासीलाई सचेत बनाइने मेयर चौधरीले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?