कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोटेश्‍वरको जाम हटाउने प्रतिवेदन वर्ष दिनदेखि थन्‍कियो 

बीपी राजमार्ग हुँदै जाने सवारी कोटेश्वर–जडीबुटी भएर छुट्छन्, लामो जामले यात्रुलाई सास्ती हुने गरेको छ
विमल खतिवडा

काठमाडौँ — कोटेश्वर–जडीबुटी खण्डको जाम हटाउने विकल्प खोज्न गरिएको अध्ययन प्रतिवेदन एक वर्षदेखि थन्किएको छ । जापानी सहयोग नियोग (जाइका) ले प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन सडक विभागलाई बुझाएको थियो । प्रतिवेदनले पहिलो विकल्पका रूपमा तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारी साधन गुड्न मिल्ने अकासे–पुल बनाउन सुझाएको थियो ।

कोटेश्‍वरको जाम हटाउने प्रतिवेदन वर्ष दिनदेखि थन्‍कियो 

त्यसको दूरी १ दशमलव ६ किमि हुनेछ । ‘त्यो चार लेनको बन्नेछ,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘अकासे–पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प छ ।’


तेस्रो विकल्प तीनकुनेबाट जडीबुटीसम्म सुरुङ निर्माण गर्ने रहेको उनले बताए । ‘१ दशमलव ४ किमि दूरीको सुरुङ हुनेछ,’ उनले भने, ‘यसको प्रारम्भिक अध्ययन भइसकेको छ, कुन विकल्प छान्ने भन्ने निर्णय भइसकेको छैन ।’ जाइकाले खटाएको प्राविधिक टोलीबाट अध्ययन गरिएको हो ।


जनवरी अन्तिममा थप टोली नेपाल आउने जनाइएको थियो । तर अहिलेसम्म उनीहरू आएका छैनन् । ‘जनवरीमा ढिला भयो भन्दै मार्चमा आउने मौखिक सहमति भएको छ,’ थापाले भने, ‘अब आउने टोलीले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तहको काम गर्नेछ ।’ डीपीआर गर्न नौ महिनासम्म लाग्नेछ । ‘यसमा नेपाल सरकारले आग्रह गरेको खण्डमा जापान सरकार लगानी गर्न तयार छ,’ उनले भने, ‘तर उनीहरूले आफूले प्राथमिकता नतोक्ने र नेपाल सरकारलाई नै तोक्न आग्रह गरेका छन् ।’


जाइकाले सुरुङ र फ्लाई ओभरमध्ये एउटा विकल्प छान्न भनेको छ । ‘सबैभन्दा कम लागतको विकल्प फ्लाई ओभर हो । त्यसको लागत ९ अर्ब रुपैयाँ रहने अनुमान छ,’ उनले भने । फ्लाइओभरकै रुटमा सुरुङमार्ग बनाउन १८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । तीनकुनेदेखि जडीबुटी खण्डसम्म सुरुङ बनाउन भने २२ अर्ब रुपैयाँ लागत अनुमान छ ।


‘जाइकाले तीन वटा विकल्प दिए तर हाम्रो विकल्प योभन्दा फरक छ,’ थापाले भने, ‘नयाँ बानेश्वरबाट आउने सडकलाई विमानस्थल मुनिबाट जडीबुटी निकाल्ने गरी सुरुङ बनाउन सकिन्छ कि भन्ने हाम्रो तर्क छ । यसको दूरी ९ सय मिटर हुनेछ ।’ यसो गर्न सके लागत पनि कम पर्ने उनको भनाइ छ । तर विकल्प निकालिए पनि छलफल हुन सकेको छैन । यसले विमानस्थलको धावनमार्गलाई केही असर गर्दैन । ‘जापानी टोली आएपछि यसबारे थप छलफल हुन्छ,’ उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि छलफल गर्छौं, त्यसपछि के गर्ने भन्ने निर्णय निस्कनेछ ।’ भक्तपुरबाट कोटेश्वर हुँदै दैनिक २४ हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्ग हुँदै जाने यात्रुवाहक सवारी साधन पनि यही कोटेश्वर–जडीबुटी हुँदै छुट्ने गरेका छन् । तर कहिलेकाहीँ यहाँ लामो जाम हुने गरेकाले यात्रुले सास्ती बेहोरिरहेका छन् । ‘उल्लिखित विकल्पअनुसार काम गर्न सके पक्कै यहाँको जाम घट्छ,’ थापाले भने, ‘यात्रुले पनि सास्ती खेप्नुपर्दैन ।’ विकल्पबारे छिट्टै नै पुनः छलफल गरिने उनले बताए ।


सूर्यविनायक–धुलिखेल सडक विस्तार अघि बढेन

काठमाडौं (कास)– सूर्यविनायक–धुलिखेल सडक विस्तार अध्ययन प्रतिवेदन एक वर्षदेखि अलपत्र छ । त्यति बेला सडकलाई आठ लेनमा विस्तार गर्ने भन्दै प्रारम्भिक अध्ययन गरिएको थियो । जापानी सहयोग नियोग (जाइका) ले खटाएको प्राविधिक टोलीमार्फत अध्ययन भएको उक्त प्रतिवेदनमा सरकारको ध्यान गएको छैन ।


सडकको दूरी १६ किमि छ । ‘यो सडकको दुईदुई वटा सर्भिस लेन हुनेछन्,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘त्यस्तै बीचको चार लेन गरेर आठ लेनको हुनेछ ।’ अध्ययनअनुसार सडक खण्डमा यात्रु हिँड्ने १६ पुल, २ फ्लाइओभर र २ सुरुङ हुनेछन् ।


‘प्रतिवेदन हामीसँग छ, विस्तृत अध्ययन अझै हुन बाँकी छ,’ उनले भने, ‘यसलाई अगाडि बढाउने कि नबढाउने भन्ने हो, राम्रोसँग छलफल हुन सकेको छैन ।’ अध्ययन टोलीले केही विकल्सपमेत दिएको उनले बताए । पहिलो विकल्पमा सुरुङ नबनाउने र भित्तातिर जोडेर सडक निर्माण गर्न सुझाइएको छ । ‘सबैभन्दा राम्रो विकल्प १ दशमलव ३ किमिका २ वटा सुरुङ हुनेछन् । त्यसमा एउटा आउने र अर्को जाने हुनेछ,’ उनले भने, ‘थप अध्ययनका क्रममा ठाउँ परिवर्तन हुन सक्छ, अहिले पलाँसेबाट सिधै साँगामा लैजाने भनिएको छ ।’ सुरुङका कारण लागत बढ्न सक्ने उनले बताए । अध्ययनले भने निर्माण लागत २२ अर्ब देखाएको थापाले जानकारी दिए । चीन अथवा जापान कुन सरकारबाट बनाउन लगाउने हो भन्ने निश्चित छैन ।


थप अध्ययन कसलाई गराउने भन्नेबारे पनि अन्योल छ । ‘गत वर्षकै मार्च–अप्रिलमा जापानकै संसद्मा पेस गरेर जापान सरकारलाई अनुरोध गरेर थप अध्ययन गराउन लगाउने कुरा मौखिक रूपमा तयार भएको थियो,’ उनले भने, ‘जाइकाले नेपाल सरकारको प्राथमिकता जे हो, त्यसमा लगानी गर्छौं, यो प्राथमिकता होइन भने पछि हट्छौं भनेको छ ।’ प्राथमिकता सरकारले तोक्ने उनले बताए । के गर्ने भन्नेबारे आन्तरिक रूपमा छलफल भइरहेको उनको दाबी छ । जाम घटाउन सडक विस्तार योजना अघि ल्याइएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । बीपी राजमार्ग सञ्चालनमा आएपछि यो खण्डमा बढेको सवारीको चाप अत्यधिक हुँदा जाम गराएको छ ।

प्रकाशित : माघ २२, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?