कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थल : चौथो पटक थपियो म्याद

माधव ढुंगाना

(भैरहवा) — गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरण गृहकार्यमा जुटेको छ । भौतिक पूर्वाधार निर्माण सकेर ठेकेदारले सरकारलाई हस्तान्तरण गरेको तीन महिनाभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा प्राधिकरण जुटेको हो ।

गौतम बुद्ध विमानस्थल : चौथो पटक थपियो म्याद

यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी कार्यदल गठन गरेर फिल्डमा परिचालन गरिसकेको छ ।


निर्माण सकिनासाथ परीक्षण उडान सुरु हुने नागरिक उड्डयन प्रािधकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । लगत्तै अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनका लागि प्रमाणीकरण प्रक्रिया पूरा गरिने उनले बताए । ‘यसका लागि आवश्यक गृहकार्य थालिसकेका छौं,’ उनले भने, ‘निर्माण सम्पन्न भएको तीन महिनाभित्र सञ्चालनमा ल्याउन कार्यदल परिचालन गरिएको छ ।’ कार्यदलमा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एक दर्जनभन्दा धेरै विषयका प्राविधिक छन् । कार्यदलले एक सातादेखि विमानस्थलको भौतिक पूर्वाधार निर्मार्ण गर्ने चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपतर्फको आयोजना (आईसीपी वान) र एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनका लागि उपकरण जडानका लागि थाइल्यान्डको एरो थाई कम्पनीले लिएको अर्को ठेक्का (आईसीपी टु) को स्थलगत अध्ययन सुरु गरेको छ ।


विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन तयार गर्नुपर्ने संरचना, त्यसमा आउन सक्ने समस्याबारे अध्ययन गरी यथाशीघ्र सञ्चालनमा ल्याउन सकिने वातावरण तयार पार्न कार्यदल जुटेको हो । विमानस्थलमा जडित विभिन्न उपकरण र मेसिनले ठीक किसिमले काम गरेका छन्/छैनन् भन्नेबारे जाँच्न क्यालिब्रेसन उडान गरेर पत्ता लगाइन्छ । सबै उपकरण ठीक भएको प्रमाणित भएपछि बल्ल परीक्षण उडानका लागि विमानस्थल योग्य मानिन्छ । सञ्चालनमा आइरहेको भएकाले गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गर्न भौतिक पूर्वाधार बनिसकेपछि जनशक्तिलगायतको समस्या नरहेको महानिर्देशक पोखरेल बताउँछन् । विमानस्थलका सबै पूर्वाधार तयार भएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि ६ महिनादेखि एक वर्षको समयसम्म परीक्षण अवधि लाग्छ । तर यो विमानस्थल सञ्चालनमै रहेको र आफ्नै अनुभवका आधारमा निर्माण सम्पन्न भएको तीन महिनाभित्र प्रमाणीकरण एवं सम्पूर्ण कागजी प्रक्रिया गरी अन्तर्राष्ट्रिय उडानका लागि मिति तय गरिनेछ ।


म्युनिखसँग सहकार्य

अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रमाणीकरण भइसकेपछि सञ्चालन र व्यवस्थापनका लागि जर्मनको सरकारी स्वामित्वमा रहेको म्युनिख एयरपोर्ट कम्पनीसँग सहकार्यका लागि दुई मुलुकका सरकार (जीटूजी) बीच कुरा अगाडि बढिरहेको महानिर्देशक पोखरेलले बताए । ‘जर्मन कम्पनीसँग गौतम बुद्ध विमानस्थल सहकार्यमा सञ्चालन गर्न खोजिएको हो । तर पूरै जिम्मा लगाउने होइन,’ उनले भने, ‘विमानस्थलको सञ्चालन र व्यवस्थापनमा सहकार्य गर्ने विषयमा दुवै मुलुकका सरकारबीच छलफल अघि बढाइएको छ ।’ म्युनिख कम्पनीका तर्फबाट छिट्टै नै एउटा टोली आउन लागेको उनले बताए । यसअघि पनि म्युनिख कम्पनीका तर्फबाट आएको एउटा टोलीले पहिलो चरणमा विमानस्थलको स्थलगत अध्ययन गरिसकेको छ ।


अब आउने टोलीसँग नमुना अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गर्नेबारे छलफल गरिनेछ । भविष्यमा नेपालका अन्य विमानस्थललाई पनि यसअनुरूप लैजान सकियोस् भन्ने सरकारको उद्देश्य छ । ‘विमानस्थल भनेको ठूलो व्यवसाय पनि हो, जसका लागि त्यही खालको सीप, दक्ष व्यवस्थापन र मार्केटिङ बिजनेस केन्द्रित भएर काम गर्न सक्ने खालको हुन जरुरी छ,’ पोखरेलले भने, ‘विदेशी वायुसेवा निगमलाई नेपाल आउनलाई केके गर्नुपर्छ, त्यो उनीहरूले गर्छन् । विमानस्थलको सञ्चालन र व्यवस्थापन उनीहरूको पनि एउटा लगानी हो ।’ म्युनिख कम्नीसँग महमति भएमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनका लागि तीन वर्षसम्म सहकार्य रहने उनले जानकारी दिए । यसबीचमा उसले यस विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग गर्ने, मार्केटिङ र विदेशी वायुसेवा निगमको उडान सञ्चालनका लागि पहल गर्नेछ ।


निर्माण कार्यको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको पछिल्लो पटक पुनः तीन महिनाका लागि म्याद थपिएको छ । विमानस्थलको भौतिक निर्माणतर्फको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपलाई म्याद थपिएको यो चौथो पटक हो ।


यसअघि निर्धारित ३१ डिसेम्बर २०१९ सम्म निर्माण कार्य सम्पन्न गर्न नसकेपछि म्याद थपेर ३१ मार्च २०२० पुर्‍याइएको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘उसलाई म्याद थप्नुको विकल्प थिएन,’ उनले भने, ‘कि त ठेक्का तोड्नुपर्ने हुन्थ्यो, त्यो गर्न अहिलेको अवस्थामा सम्भव थिएन ।’ चौथोपटक म्याद थपिए पनि समग्रमा आयोजनाको अवस्था राम्रो रहेको र सकभर अब म्याद थप्नुपर्ने अवस्था नआउनेमा आफू आशावादी रहेको उनले बताए । सन् २०१५ जनवरी १५ का दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको आयोजना डिसेम्बर २०१७ सम्म निर्माण सकिनुपर्ने थियो । आयोजनाको पहिलो पटक म्याद थपेर १५ जुन २०१८, दोस्रोपटक २८ जुन २०१९ कायम गरिएको थियो । तेस्रो पटक डिसेम्बर २०१९ कायम गरिएको हो । अब ३१ मार्च २०२० पुगेको छ ।


चिनियाँ ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याउनुपर्ने सम्पूर्ण उपकरण एकैपटक ल्याउन नसकेपछि यसअघिको निर्धारित मितिमा आयोजना सम्पन्न हुन नसकेको हो । गत अक्टोबर १५ सम्म सम्पूर्ण उपकरण आइपुग्नुपर्ने थियो । उपकरण समयमै नआउँदा जडानमा ढिलाइ भएको हो । मध्य अक्टोबरदेखि उपकरण जडान सुरु गरी डिसेम्बरसम्म विमानस्थलको सिभिल निर्माण सम्पन्न गर्ने योजना थियो ।


आयोजनाको सुरुवाती दिनदेखि नै विभिन्न कारणले गर्दा सहज रूपमा निर्माण अघि बढाउन नसक्दा आयोजनामा ठेकेदार कम्पनी घाटामा गएको छ । कति रकम घाटामा गयो भन्नबारे यकिन नभए पनि ठेकेदार कम्पनीका तर्फबाट देखापरेका कतिपय व्यवस्थापकीय कमजोरीका कारण साढे दुई अर्बको हाराहारीमा घाटा भएको अनुमान छ । उसले उपकरणमा मात्रै १ अर्ब ७० करोडभन्दा धेरै खर्च गर्नुपर्छ ।


चिनियाँ ठेकेदार कम्पनीले निर्माणतर्फको कार्यलाई निरन्तरता दिए पनि उपकरण खरिदमा आर्थिक स्रोत जुटाउन नसक्दा सबै उपकरण एकै पटक ल्याउन सकेको थिएन । ब्यागेज ह्यान्डलिङ सिस्टमबाहेक रनवे लाइटलगायत उपकरण भने उसले आयोजनास्थलमा ल्याइसकेको छ । ब्यागेज ह्यान्डलिङका उपकरण पनि ल्याउने क्रममा छ । विमानस्थलको भौतिक संरचनाबाहेक एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनका लागि उपकरण आयात गरी जडानका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको हो । एरो थाई कम्पनीले उपकरणहरू धमाधम आयोजनास्थलमा ल्याइरहेको निर्देशक अधिकारीले जनाए ।


उपकरण जडानका लागि तीन महिना जति समय लाग्छ । ९० प्रतिशत उपकरण आयोजनास्थलमा आइसकेको र बाँकी उपकरण पनि एक साताभित्र आइपुग्ने उनले बताए । उपकरण जडानपछि मात्रै परीक्षण उडान (क्यालिब्रेसन) गरिनेछ । त्यसका लागि आवश्यक विमान ल्याउने काम एरो थाई कम्पनीले गर्नेछ । केही दिनअघिको बेमौसमी वर्षाका कारण आयोजनास्थलमा काम गर्न निकै कठिनाइ भएको छ । पानीले आयोजनास्थलमा माटो दलदल भई चिप्लिनाले आयोजनास्थलमा ल्याइएर पनि कतिपय उपकरण जडान गर्न समस्या भइरहेको छ । पुसमा वर्षा भएर काममा अवरोध आउनेबारे नसोचिएको निर्देशक अधिकारीले बताए । जमेको पानी पम्पसेटले तानेर भए पनि उपकरण जडानका लागि जग खन्न थालिएको उनको भनाइ छ ।


आयोजनाको प्रगति ८६ प्रतिशत हाराहारीमा छ । उपकरण जडान हुनासाथ कार्यप्र्रगति शतप्रतिशत पुग्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । ‘यतिबेला उपकरण जडानपूर्वको तयारीका काम भइरहेका छन्,’ उनले भने, ‘उपकरण जडानपछि संरचनागत रूपमा विमानस्थल सञ्चालनयोग्य हुनेछ ।’ विगत डेढ वर्षको अवधिमा आयोजनाको काम द्रुत गतिमा अघि बढे पनि सुरुवाती समयको ढिलाइको असर अहिलेससम्म परेको उनको भनाइ छ ।


उडानका लागि छलफल

विमानस्थल सञ्चालनसँगै उडानका लागि स्वदेशी र विदेशी हवाई कम्पनीसँग सरकारी स्तरबाट वार्ता र छलफल जारी राखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य भएपछि विशेषगरी श्रीलंका, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, जापान, सिंगापुर, कोरिया, चीनलगायत बौद्धिस्ट तथा दक्षिणपूर्वी एसियाली मुलुक हवाई सञ्चालन गर्न इच्छुक छन् । नेपालमै सञ्चालनमा रहेका एयरलाइन्स कम्पनीसँग एक चरणको छलफल गरिसकेको प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । उनका अनुसार थप हवाई उडान सञ्चालन गर्न एयरलाइन्स कम्पनीलाई कम्तीमा पनि पाँच महिनाको समय लाग्छ ।



हवाई कम्पनीले ६ महिनाअघि सूचना दिएर आफ्नो टिकट बेच्ने, नयाँ उडान सञ्चालनका लागि स्वीकृत गराउनेलगायत प्रक्रिया पूरा गर्नुपर्छ । स्वदेशी नेपाल वायुसेवा निगम र हिमाली एयरलाइन्सले पनि गौतम बुद्ध विमानस्स्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सक्ने पोखरेलले बताए । ‘स्वदेशी एयरलाइन्स कम्पनीसँग गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे एक चरणको छलफल गरिसकेका छौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूसँग छलफल जारी छ ।’ यसबारे म्यानमारसँग कुरा हुँदा म्यानमारले हवाई सेवा सम्झौतामा केही परिमार्जन गर्नुपर्ने भन्दै प्रस्ताव पेस गरेको उनले जानकारी दिए ।

प्रकाशित : माघ १५, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?