कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण व्यवसायीसँग ठेक्काको १ % माग्दै पत्र

विमल खतिवडा

काठमाडौँ — ठेक्काको निश्चित प्रतिशत रकम चन्दा माग्दै प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले पत्राचार गरेको र नदिँदा आक्रमण हुन थालेको भन्दै निर्माण व्यवसायीले काम गर्न समस्या भएको बताएका छन् । 

निर्माण व्यवसायीसँग ठेक्काको १ % माग्दै पत्र

तीन महिनायता उक्त समूहका कार्यकर्ताले फोन र पत्र पठाएर कुल ठेक्काको १ प्रतिशत रकम दिनुपर्ने माग राखेको व्यवसायीले बताए । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निर्माणस्थलमा रहेका निर्माण सामग्रीमा आगजनी गराएर क्षति पुर्‍याइएको छ । ‘उक्त समूहले लामो समयदेखि आतंकित पार्दै चन्दा माग्दै आएका छन्,’ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले भने, ‘पहिला माग मात्र गर्थे, अहिले प्रतिशत नै छुट्याउनुपर्ने भनेर पत्र पठाउने गरेका छन् ।’ चन्दा आंतकले व्यवसायी त्रसित बनेको सिंहले बताए । ‘अस्वाभाविक हिसाबले रकम माग गरिएको छ, नदिए जे पनि हुन सक्छ भन्ने धम्की दिने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा काम गर्न समस्या भएको छ ।’


फिल्डमा काम गर्ने कामदार र कर्मचारीको मनस्थिति खस्कँदै गएको उनले बताए । ‘कामदार काम गर्न डराउँछन्, फिल्डमा जान मान्दैनन्,’ उनले भने, ‘तीन महिनादेखि यो समस्या देशभरका निर्माण व्यवसायीले भोगिरहेका छन् ।’ रकम दिएको कुरा संघमा आउँदैन । समस्या परेपछि मात्र व्यवसायीले संघलाई गुहार्ने गरेका छन् । ‘माग गरेको कुरा पूरा गर्न सक्ने अवस्था छैन, यो कार्यले निर्माणमा ठूलो असर पुग्छ,’ अध्यक्ष सिंहले भने, ‘गृहमन्त्री, नेकपाका शीर्ष नेता, संसद्को विकास तथा प्रविधि समितिलाई पनि जानकारी गराएका छौं, सुरक्षा हुन्छ भन्ने आश्वासन आउँछ तर कार्यान्वयन नहुँदा डराइडराई काम गर्नुको विकल्प छैन ।’ उनका अनुसार भौतिक र मानवीय क्षतिको त्रास छ । ‘कुनै दुर्घटना भए क्षतिपूर्ति पाउने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर सरकारले काम गर्ने माहोल बनाइदिन जरुरी छ ।’ सरकारले शान्ति सुरक्षा कायम नगरे फिल्डमा गएर काम गर्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन् ।


‘हामीले सुरक्षित महसुस गर्न सकेका छैनौं,’ उनले भने, ‘यसले गर्दा पूर्वाधार निर्माणमा गतिरोध आउन सक्छ ।’ केही दिनअघि मात्र मोरङ, झापा र उदयपुरमा निर्माणाधीन सडक, पुलमा प्रयोग भएका डोजरमा बम राख्ने र आगजनी गराएर क्षति पुर्‍याइएको थियो । अहिले ती ठाउँमा निर्माणको काम बन्द भएको महासंघले जनाएको छ । महासंघका सल्लाहकार रमेश शर्माका अनुसार असुरक्षाका कारण साइटमा मजदुर बस्न सक्ने अवस्था छैन । गृह मन्त्रालयका उपसचिव उकाकान्त अधिकारीले कसैलाई पनि आतंक फैलाउने छुट नभएको बताए । ‘व्यवसायीसँग जबजर्जस्ती चन्दा माग्न छुट छैन, त्यस्तो कतै पाइए सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई खबर गर्नुस्,’ उनले भने, ‘गृह मन्त्रालयले समेत देशभर शान्ति सुरक्षा कायम गर्ने र चन्दा आतंक रोक्न निर्देशन दिइसकेको छ ।’


उनका अनुसार निर्माण व्यवसायीले चन्दा आतंकबारे जानकारी गराएका र यसबारे मन्त्रालय गम्भीर भई सुरक्षाको प्रत्याभूति दिन लागिपरेको छ । निर्माण व्यवसायीले सरकारले व्यवसायी र उपकरणलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गर्दै आएका छन् । केही वर्षयता निर्माणमा प्रयोग हुने उपकरणमा आगजनी र निर्माणस्थलमा बम राखेर त्रसित बनाएको भन्दै सुरक्षाको माग गरेका हुन् । आगजनीबाट २० करोडभन्दा बढीको उपकरणमा क्षति भएको छ । चन्द समूहलाई मागेको रकम नदिँदा आगजनी र निर्माणस्थलमा बम राखेर त्रसित पार्ने गरिएको छ ।

प्रकाशित : माघ १०, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?