कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विस्फोटक पदार्थको माग दैनिक १५ टन

विमल खतिवडा

काठमाडौँ — पछिल्लो समय सडकलगायत पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ आयात गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा विस्फोटक पदार्थको माग तीव्र छ । चीनबाट ल्याउन समय धेरै लाग्ने हुँदा अहिले भारतबाट मात्रै विस्फोटक पदार्थ आउने गरेको छ ।

विस्फोटक पदार्थको माग दैनिक १५ टन

चालु आवको ५ महिनामा मात्र २५ करोड १७ लाख ७० हजार बराबरको ११ लाख ६३ हजार ६ सय ७० किलो विस्फोटक पदार्थ आयात भएको छ ।


दैनिक १५ दशमलव ५ टन माग रहेको विस्फोटक पदार्थ आयात गर्ने एकीकृत व्यापार कम्पनीका निर्देशक सीताराम कार्कीले जानकारी दिए । विशेषगरी भूमिगत संरचना निर्माणमा विस्फोटक प्रयोग हुने गर्छ । सिमेन्ट उत्पादन, सुरुङ, हाइड्रो र सडक निर्माणमा यसको माग बढ्दो छ । सुरुमा चीन सरकारले बनाएका सडकमा भने उतैबाट विस्फोटक पदार्थ ल्याएर निर्माण गरिन्थ्यो । अहिले सप्लायर्समार्फत ल्याउने गरिएको छ । गत भदौदेखि भने नेपाली सेना आफैंले विस्फोटक पदार्थ उत्पादन थालेकाले आयात कम हुने व्यवसायीको भनाइ छ । व्यवसायीले गुणस्तरीय विस्फोटक पदार्थ कम मूल्यमै मागअनुसार उपलब्ध गराउनुपर्ने बताउँदै आएका छन् । सेनाले मकवानपुरको सुनाचुरीमा नयाँ प्लान्ट राखेर दैनिक १० टनसम्म विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । पहिला उत्पादन कम थियो । गुणस्तरीय पनि थिएन । तर अहिले उत्पादन क्षमता बढेको र गुणस्तरीय भएको सेनाको दाबी छ । ‘सुरुङ निर्माणमा हाम्रो लामो अनुभव छ, यस अवधिमा विभिन्न खालको विस्फोटक पदार्थ प्रयोग गरिसकेका छौं,’ स्वतन्त्र ऊर्जा उत्पादक नेपाल (इपान) का उपाध्यक्ष कुमार पाण्डेले भने, ‘नेपालभित्र उत्पादन भएर त्यसले काम दिन्छ भने प्रयोग गर्न तयार छौं ।’ उत्पादन भने गुणस्तरीय हुनुपर्ने उनले बताए ।


कुनै पनि विकास आयोजना दुई–तीन महिना चल्ने हुँदैनन्, दसौं वर्ष चल्छन् । ‘त्यही भएर यस्ता आयोजनालाई सामान दिन सक्छौं भनेर ग्यारेन्टी गर्न जरुरी छ, नभए विकल्प खोज्नुपर्ने हुन्छ,’ उनले भने, ‘विस्फोटक पदार्थ किन्न, एक ठाउँबाट अर्को ठाउँमा लैजान र भण्डारण गर्न धेरै जटिल छ, यी समस्या पनि समाधान हुनुपर्छ ।’ नेपालमै उत्पादन भएपछि यी समस्या समाधान हुनुपर्ने उनको भनाइ छ । अहिले सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ एक वर्ष अवधिको छ ।


पहिला तीन महिनासम्मको थियो, जसले गर्दा गुणस्तरमा प्रश्न उठ्ने गरेको थियो । ‘सेनाले उत्पादन गरेको विस्फोटक पदार्थमा आशा गर्ने ठाउँ धेरै छ,’ पाण्डेले भने, ‘तर निर्णयमा पुग्ने बेला भइसकेको छैन ।’


नेपालमै उत्पादन हुने भएपछि विस्फोटक पदार्थ सस्तो हुनुपर्ने आयोजना प्रमुखहरूको माग छ । ‘त्यसमा पनि नयाँ प्लान्ट राखेर सेनाले सुधार गरेको छ,’ इजी इन्जिनियरिङका कार्यकारी अध्यक्ष बलराम खतिवडाले भने, ‘ओपन ब्लास्टका लागि ठीक छ, सुरुङमा प्रयोग गर्न बाँकी छ ।’ इजी इन्जिनियरिङले ८ मेगावाटको नीलगिरि–१ को काम गर्दै छ ।


भारतबाट अहिले प्रतिकिलो १२५/३० रुपैयाँमा विस्फोटक पदार्थ आइरहेको छ । नेपालमा भने प्रतिकिलो १९८ रुपैयाँ पर्ने व्यवसायीको भनाइ छ । यता नागढुंगा सुरुङ निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले भने सेनाले उत्पादन गरिरहेको विस्फोटक नयाँ भएकाले प्रयोग गर्नेहरूबाट प्रतिक्रिया आइनसकेको बताए । ‘उत्पादन मापदण्ड राम्रो छ, नयाँ उत्पादन भएकाले पूर्ण रूपमा विश्वस्त भइसक्ने अवस्था छैन, भविष्यमा राम्रो हुँदै गयो भने प्रयोग गर्न समस्या छैन,’ उनले भने । अहिले उत्पादित विस्फोटक पदार्थ गुणस्तरीय रहेको सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी हेगेन्द्रलाल महर्जनको दाबी छ । ‘पहिला वार्षिक २ सय मेट्रिक टन उत्पादन गर्ने क्षमताको प्लान्ट थियो, अहिले वार्षिक २४ सय मेट्रिक टन उत्पादन हुने नयाँ प्लान्ट छ,’ उनले भने, ‘यो सिंगल सिफ्टमा उत्पादन गरिएको हो, आयोजनाहरूमा माग बढ्दै गए डबल सिफ्ट गरेर ४८ सय मेट्रिक टन उत्पादन गर्न सकिन्छ ।’


आयातित विस्फोटक पदार्थको तुलनामा आफूहरूको उत्पादन उत्कृष्ट रहेको महर्जनको दाबी छ । ‘प्रधानसेनापतिबाटै मूल्य कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा एउटा टिम बनाएर गृहकार्य भइरहेको छ,’ उनले भने ।

प्रकाशित : माघ ८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?