कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेल आउने पक्का, कर्मचारीमा अन्योल

विमल खतिवडा

काठमाडौँ — माघ तेस्रो साताबाट जयननगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनमा आउने निश्चित जस्तै छ । कर्मचारीको टुंगो भने लागेको छैन । दुई सय कर्मचारी माग गरिए पनि भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । भारतमा दुई वटा रेल सेट बनिसकेका छन् । तिनलाई ल्याउन मात्र बाँकी छ । रेल विभागले भने कर्मचारी भर्ना नगरे पनि रेल सञ्चालनमा समस्या नहुने बताएको छ ।

रेल आउने पक्का, कर्मचारीमा अन्योल

पहिलो चरणमा एक सेट रेल नेपाल ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।


करारमा कर्मचारी राखेर भए पनि रेल सञ्चालन ल्याइने उनको भनाइ छ । ‘अब रेल आउन मात्र बाँकी छ,’ उनले भने, ‘रेलसम्बन्धी नियमकानुन बन्ने क्रममा छ ।’ रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभामा पेस भएर छलफलका क्रममा छ । कर्मचारी विनियमावली पनि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । ‘भारतबाट कर्मचारी ल्याएर भए पनि रेल सञ्चालनमा आउनेछ, यसका लागि तयारी भइरहेको छ,’ उनले भने, ‘सुरुमा थोरै कर्मचारीबाट भए पनि काम चलाउँछौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्मचारी भर्नाबारे सक्रियता नजनाउँदा ढिलाइ भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । कर्मचारीबारे जानकारी लिन खोज्दा मन्त्रालयका उच्च अधिकारीहरूले अनविज्ञता प्रकट गरे । ‘कर्मचारी भर्ना गर्न समय लाग्छ,’ मिश्रले भने, ‘अहिले रेल चलाउन कति कर्मचारी चाहिने हो भन्नेबारे पनि निर्णय भइसकेको छैन ।’ केही विज्ञ कर्मचारी भारतबाट ल्याउने विषयमा भारत सरकारसँग पनि छलफल गरिने उनले बताए ।


‘लोकसेवाबाट कर्मचारी भर्ना गर्न अहिले समय छैन,’ मिश्रले भने, ‘त्यसका लागि कम्तीमा ६ महिना लाग्छ । त्यसैले करारका कर्मचारीबाट भए पनि काम चलाउँछौं ।’ जयननगर–जनकपुर–कुर्था खण्डका विभिन्न स्थानमा आठ स्टेसन रहनेछन् ।


त्यसमध्ये एउटा स्टेसनमा कम्तीमा १५ जना कर्मचारी चाहिन्छ । ‘रेल चलाउने, हेर्ने र मर्मत गर्ने विदेशी (भारतीय) कर्मचारी लिनुपर्छ,’ उनले भने, ‘अरू कामका लागि नेपाली कर्मचारी राख्छौं ।’ अन्तिम समयमा आएर काम गर्दा कर्मचारी व्यवस्थापनमा ढिलाइ भएको विभागको भनाइ छ । ‘हामी पूर्वतयारीमा चुकेकै हौं,’ उनले भने । रेल विभागले लामो समयदेखि कर्मचारी माग गर्दै आएको थियो । जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, बैदेही, पर्वा, जनकपुर, कुर्था, प्रिपाडी, बिजलपुरासम्ममा कर्मचारी चाहिन्छ । पहिलो चरणमा जयननगर–जनकपुर–कुर्थासम्मको दूरी ३५ किमि हो । यस क्षेत्रको काम सकिसकेको छ । कुर्थादेखि बिजलपुरासम्मको दूरी १७ किमि छ । बिजलापुरदेखि बर्दिबाससम्म पनि १७ किमि दूरी छ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ ।


रेल सेट खरिदका लागि ८४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । रेलको एक सेटमा पाँच डिब्बा रहनेछन् । दुई सेट रेलमा गरी एकपटकमा दुई हजार पाँच सय जनाले यात्रा गर्न सक्ने विभागका महानिर्देशक मिश्रले जानकारी दिए ।


प्रकाशित : माघ ५, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?