कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेल पढ्न चीनको छात्रवृत्ति

लक्ष्मी लम्साल

(बेइजिङ) — चीनले नेपालको रेल यातायातका लागि दक्ष जनशक्ति उत्पादनमा सघाउन हरेक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । हालै बुटवल नगरपालिकाका प्रमुख तथा उपमेयरसहितको टोलीले चीनको पल्लो सान्सीस्थित सिआन सहरको भ्रमण गरेपछि यस विषयमा सहमति भएको हो ।

रेल पढ्न चीनको छात्रवृत्ति

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा बुटवल र सिआन सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो ।


ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटीको सहजीकरणमा नेपाली टोली र सिआनको रेलवे युनिभर्सिटीको इन्टरनेसनल डिपार्टमेन्टका उपप्रमुखबीच भएको सम्झौताअनुसार आउँदो सेप्टेम्बरदेखि केही वर्षसम्म नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित भर्ना गरिनेछ ।


सोसाइटीका संस्थापक राजीव झाका अनुसार रेलवे युनिभर्सिटीमा रेलसम्बन्धी विषय मात्रै पढाइ हुन्छ । चीनको रेल यातायातका लागि चाहिने जनशक्ति पनि यहींबाट उत्पादन हुन्छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत हिमालय पार रेल लैजाने चर्चा चलिरहेका बेला जनशक्ति उत्पादनका लागि छात्रवृत्तिसम्बधी सहमति भएको हो ।


चीनले पिछडिएको भनिएको तिब्बत स्वशासित क्षेत्रलाई खुला गर्ने ध्येयले चीन, नेपाल, भारत, बंगलादेश, म्यानमार करिडोरलाई पनि जोड दिइरहेको छ । तिब्बतबाट बेइजिङ व्यापार गर्न धेरै टाढा पर्ने तर तिब्बत सिधै नेपाल छिरेर करिडोरअन्तर्गतका मुलुकहरूसम्म पुग्नु धेरै फाइदाजनक हुने चीनको बुझाइ देखिन्छ ।


यही डिसेम्बर २७ मा चीनले भौगर्भिक अवस्थितिसम्बन्धी प्रतिवेदन नेपालसमक्ष पेस गरेको थियो । नेपालमा वातावरण विभागले रेलवेबाट वातावरण बिग्रने मात्रै तथ्य उजागर गरेकामा त्योबाहेक अनेक फाइदा हुने चीनको चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपले बुझाएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा कसरी रेलवे विस्तार गर्न सकिन्छ भनेर उसले ४० वटा ‘जियोलजिकल’ नक्सा दिएको छ । उनीहरूको प्रतिवेदनमा सन् २०२६ सम्ममा रेल जाने सम्भावना देखाइएको छ । नेपालमा कुनै पनि ठूला परियोजना समयमा नसकिने र राजनीतिक उथलपुथल भइरहने हुनाले यो योजना बीचैमा अलपत्र पर्ने हो कि भन्ने चिन्ता चिनियाँ पक्षमा देखिन्छ ।


नेपालमा रेल जाने भएपछि तालिमप्राप्त जनशक्ति चाहिन्छ भनेर नै चीनले जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको ट्रान्स हिमालयनका संस्थापक अध्यक्ष झाले बताए ।


सिआन युनिभर्सिटीमा २० विद्यार्थी

चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगर सिआनमा यो वर्षदेखि २० जना नेपाली विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन थालेका छन् । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी, नेपालसँगको सम्झौताअनुसार ती विद्यार्थीले गएको सेप्टेम्बरमा सिआन युनिभर्सिटीमा पढ्न थालेका हुन् । सिआन सरकारले बीआरआईअन्तर्गत यो छात्रवृत्ति उपलब्ध गराएको हो । यस विश्वविद्यालयमा नेपाली विद्यार्थीले बीबीए, रोबर्ट इन्जिनियरिङ, चिनियाँ लिटरेचर, पर्यटनलगायतका विषयमा अध्ययन गर्न सक्छन् ।


ट्रान्स हिमालयनका संस्थापक झाका अनुसार सिआन सरकारले नेपाली विद्यार्थीका लागि गरेको यो ठूलो लगानी हो । ‘हरेक वर्ष २० जना विद्यार्थी सिआनका विश्वविद्यालयमा भर्ना भएर कम्तीमा ५ वर्ष अध्ययन गर्न पाउँछन्,’ उनले भने, ‘चीनका अरू प्रान्तले पनि यस्ता स्किम खोज्न सक्छन् । यसले नेपाललाई फाइदा पुग्छ ।’


बुटवल र सिआनमा बुद्धमूर्ति

सिआनले नेपालमा र नेपालले सिआनमा बुद्धमूर्ति स्थापना गर्ने भएका छन् । सिआनमा २ सय वर्गमिटर क्षेत्रफलमा ‘स्मल बुद्ध’ राखिनेछ । सिआनको छ्यौछ्वान जिल्लास्थित तासिङ स्तूपा नजिक नेपालको एउटा पेभेलियन हुनेछ । बुटवलबाट नेपाली कालिगढ ल्याएर नेपाली ढाँचामा बौद्ध स्तूप बनाइने ट्रान्स हिमालयनले जनाएको छ ।


ट्रान्स हिमालयनका झाले सम्झौताका सबै काम सकिएको जानकारी दिँदै यसै महिना बुटवलमा बुद्ध स्तूप बनाउन सुरु हुने बताए । बुटवलमा चिनियाँ पक्षले ३० मिटर अग्लो ‘बिग बुद्ध मूर्ति’ स्थापना गर्ने इच्छा जाहेर गरेको छ ।

प्रकाशित : माघ ५, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?