१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गलत डिजाइनले सडकमुनि पुल

ज्योति कटुवाल

(दैलेख) — गलत डिजाइनका कारण माथिल्लो डुगेश्वर हुँदै दैलेख बजार जोडिने लुवा खोलामा सडकमुनि पुल निर्माण भइरहेको छ । तीन वर्षअघि थालिएको पुलमा ‘फिनिसिङ’ को काम भइरहेको छ । निर्माणाधीन पुल देखेर आवतजावत गर्ने यात्रु अचम्मित हुने गरेका छन् । 

गलत डिजाइनले सडकमुनि पुल

ईआरएम्सी कन्सल्टेन्सीले पुलको डिजाइन गरेको हो । कम्पनीले काठमाडौंमै बसेर डिजाइन गर्दा सडकमुनि पुल बनेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार गलत डिजाइनकै कारण कर्णाली लोकमार्गका दर्जन पुल अलपत्र परेका छन् । पुल बनेर सञ्चालन आए पनि वर्षायाममा समस्या पर्ने स्थानीय कमल केसीले बताए । ‘वर्षा लागे पानी पुलमाथि बग्ने निश्चित छ,’ उनले भने, ‘बाढीका कारण पुल भत्किने जोखिमसमेत उत्तिकै छ ।’


स्थानीय रामबहादुर मिजारले पुल निर्माणको लगानी खेर गएको बताए । ‘सडकसम्म पुर्‍याउन पुलमा तला थप्नुपर्ने देखियो,’ उनले भने, ‘पुलकै लागि सडक तल झार्न लागिएको छ ।’ उनका अनुसार सडकलाई पुलसम्म पुर्‍याउन एक सातादेखि डोजरमार्फत काम भइरहेको छ ।


पुलको काम रसुवा/इलाइट/सूर्य जेभीले गरिरहेको छ । कम्पनीले सन् २०१७ मा निर्माणका लागि सम्झौता गरेको हो । लोकमार्गमा १५ पुल निर्माणको जिम्मा दिएको कम्पनीले गलत डिजाइनकै कारण अन्य पुल निर्माणमा पनि समस्या आएको जनाएको छ । कम्पनीका प्रतिनिधि दीपक खड्काले एउटै पुलको निर्माण २/३ पटकसम्म दोहोर्‍याएर गर्नुपर्ने बाध्यता रहेको सुनाए । ‘दुर्गममा बनाइने पुलको डिजाइन काठमाडौंमा बसेर कपीपेस्ट गर्दा समस्या भएको हो,’ उनले भने, ‘सरकारी निकायले पनि अनुगमन नगरी ठेक्का गरेको पाइयो ।’ उनले गलत डिजाइनको दोष निर्माण कम्पनीलाई आउने गरेको गुनासो गरे । सडक विभागको वैदेशिक सहायता महाशाखाले पुन:डिजाइन गर्न बेवास्ता गरेको उनको आरोप छ ।


कम्पनीले प्याकेज १ मा लोहा खोला, रती खोला, माटे खोला, लाम्चुडी खोला र पातले खोलामा १६ करोड रुपैयाँको ठेक्का लिएको हो । खड्काले डिजाइनको समस्याले रती खोलामा ३ पटकसम्म पुल निर्माण गरिएको जनाए । उनका अनुसार उक्त खोलामा फेरि डिजाइनको काम भइरहेको छ । ‘लुवा खोलामा पनि आधा निर्माण सकिएपछि रिडिजाइन भएको हो,’ उनले भने, ‘डिजाइन परिवर्तनका कारण हामी पनि समस्यामा परेका छौं ।’


लोकमार्गमा विश्व बैंकको सहयोगमा १५ पुल निर्माण हुन लागेका हुन् । संघीय सरकारले ५८ करोड रुपैयाँमा पुल निर्माण गर्न लागेको हो । सरकारले पुल बनाउने स्थानको भौगोलिक अवस्थाबारे अनुगमन नगरी ठेक्का खोल्दा समस्या भएको निर्माण व्यवसायीको गुनासो छ । ‘डिजाइन गर्ने कम्पनीको भर परी टेन्डर आह्वान गरिन्छ,’ व्यवसायी टोपबहादुर महतराले भने, ‘समस्याको भागीदार भने निर्माण गर्ने ठेकेदार भइरहेका छौं ।’

प्रकाशित : माघ ३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?