जोगबनीबाट फेरि आयात निर्यात ठप्प

विराटनगर — भारतको अररिया जिल्ला प्रशासनले मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक लगाएको छ । बिहीबारदेखि आयात–निर्यात ठप्प भएको छ । पुलबाट साना सवारी साधन मात्र गुड्न दिइएको छ । 

अररिया जिल्ला प्रशासनले पुस २४ देखि माघ ६ गतेसम्म पुल मर्मत गर्ने सूचना सार्वजनिक गरेको छ । यसअघि पुस ३ देखि ११ सम्म मर्मत गर्ने भन्दै ढुवानी साधन गुड्न दिइएको थिएन । जोगबनी नाकाबाट दैनिक सरदर अढाई सय मालवाहक साधन भित्रिन्छन् । ०७४ साउन अन्तिम साताको बाढीले पुलको पूर्वतिरको पिलर धस्सिएको थियो । त्यस बेला अढाई महिना सवारी अवागमन ठप्प भएको थियो । करिब सय किलोमिटर घुमाउरो बाटो भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट मालसामान ल्याइएको थियो ।


भारत तथा तेस्रो मुलुकबाट तयारी वस्तु र औद्योगिक कच्चापदार्थ लिएर आएका ढुवानीका साधन बथनादेखि फारबिसगन्जसम्म अलपत्र परेको भन्सार एजेन्ट संघका उपाध्यक्ष नवल उपाध्यायले बताए । विराटनगर भन्सारले दैनिक सरदर १५ करोड राजस्व असुली गर्दै आएको थियो । अब १२ दिनसम्म राजस्व असुली ठप्प हुनेछ । पुसमा ३ अर्ब ८७ करोड २१ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । तर पटकपटकको आयातनिर्यात बन्दले ५० प्रतिशत मात्र राजस्व असुली भएको भन्सारको तथ्यांक छ । बथनाहबाट डाइभर्ट गरेर भन्टाबारी नाकाबाट आयात–निर्यात गर्न प्राविधिक र ढुवानी लागतका कारण सम्भव नहुने उद्योगी व्यवसायीको भनाइ छ ।


मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बाढीले भासिएको पुलमा पटकपटक समस्या आइरहे पनि नयाँ पुल निर्माणमा भारतीय पक्षले बेवास्ता गर्दै आएको बताए ।



प्रकाशित : पुस २६, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?