कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्पादन–निर्यात बढाउन ‘नेपाल ग्याप’

राजु चौधरी

काठमाडौँ — अर्गानिक उत्पादनको नीति विफल भएपछि सरकारले असल कृषि अभ्यास (नेपाल ग्याप) मा जोड दिएको छ । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०७५ असोजमा कार्यान्वयन निर्देशिका जारी गरेको थियो । मन्त्रालयले एक वर्ष ढिलाइ गरी पुस दोस्रो साता ती फर्मलाई प्रमाणपत्र वितरण गरेर काम सुरु थालेको छ । 

उत्पादन–निर्यात बढाउन ‘नेपाल ग्याप’

‘तराईको माटोमा रासायनिक मल नहाल्दा उत्पादन घट्छ । सर्वप्रथम माटोमा प्रांगारिक पदार्थ चाहिन्छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘अर्गानिकमा विषादी बन्द नै छ । असल कृषि अभ्यासमा विषादी प्रयोग गर्न पाइन्छ, तर सही मात्रा र परिमाणमा मात्रै ।’ अभ्यासअन्तर्गत पानीमा पाइने कोलिफर्मलगायत अन्य मेटल भए/नभएको परीक्षण हुन्छ । तर अर्गानिकमा पानी तथा कोलिफर्म परीक्षण अनिवार्य नभएको मन्त्रालयले बताएको छ ।


दिगो कृषि उत्पादन गरी उपभोक्ताका लागि स्वच्छ एवं गुणस्तरीय उत्पादनको सुनिश्चितता गर्ने र कृषि व्यापारमा आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने ग्यापको उद्देश्य हो । नेपाल ग्यापले कामदारको स्वास्थ्य, सुरक्षा र कल्याणमा पनि जोड दिएको मन्त्रालयको दाबी छ । प्रमाणीकरण भने खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने केसीले बताए ।


विभागले पहिलो चरणअन्तर्गत नागार्जुन नगरपालिका–६ रामकोटको मैत्री मंगलम अर्गानिक कृषि फार्म प्रालि, नागार्जुन नगरपालिका–८ को विशेष सदावहार कृषि प्रालि र महालक्ष्मी नगरपालिका–५ टीकाथलीको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई प्रमाणपत्र दिएको छ । ‘मन्त्रालयले बनाएको मापदण्डअनुसार फार्महरूको उत्पादन दुईपटक अडिट गरेर प्रमाणपत्र दिएका छौं,’ विभागका प्रवक्ता मोहन महर्जनले भने, ‘अब फार्मले मापदण्डअनुसार मात्रै विषादीको मात्रा प्रयोग गर्नुपर्छ ।’ कृषक वा कृषक समूहले सरकारबाट रजिस्टर्ड विषादी मात्रै प्रयोग गर्नुपर्छ । साथै तालिम प्राप्त कामदारले विषादी छर्नुपर्छ । बीउबिजन पनि आधिकारिक पसलबाट मात्रै खरिद गर्नुपर्ने विभागले जानकारी दिएको छ । ‘पानी र माटोको गुणस्तर परीक्षणपछि मात्र ग्यापको लोगो पाइन्छ,’ महर्जनले भने । अगस्टदेखि पहिलो परीक्षण सुरु भएको उनले बताए ।


मन्त्रालयका अनुसार असल कृषि अभ्यासले निर्यातमा पनि सहजता ल्याउँछ । नेपाल ग्यापलाई प्रभावकारी बनाउन सरकारले निर्देशिकासमेत जारी गरेको छ । निर्देशिकाअनुसार कार्यान्वयनका लागि सचिवको संयोजकत्वमा निर्देशन समिति छ । समितिले अनुगमन तथा मूल्यांकन गर्नेछ । कृषक वा कृषकको समूहले प्रमाणीकरणको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै नेपाल ग्यापको चिह्न प्रयोग गर्न पाइन्छ ।


चिह्न प्रयोग गर्दा प्रमाणित फार्मको सम्बन्धित कृषि उपजका सन्दर्भमा मात्र प्रयोग हुनेतर्फ ध्यान दिनुपर्छ । प्रमाणित नभएका फार्मको कृषि उपजलाई प्रमाणित भएको भन्ने जनाउने गरी चिह्न प्रयोग गर्न हुँदैन । ‘प्रमाणपत्र पाउने कम्पनीले उत्पादन खुला बिक्री गर्न पाइँदैन । एक वर्षसम्म ग्यापको लोगो लगाएर बिक्री गर्नुपर्छ,’ मन्त्रालयका प्रवक्ता केसीले भने, ‘हरेक वर्ष नवीकरण गर्दै जानुपर्छ । हरेक उत्पादनको परीक्षण हुन्छ ।’


अहिले पाइलटिङ प्रोजेक्टका रूपमा सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । परीक्षण खर्चिलो भएकाले सुरुको खर्च मन्त्रालयले नै बेहोर्दै आएको छ । विस्तार परीक्षण शुल्क भने फार्मले नै तिर्नुपर्नेछ । यसका लागि काठमाडौं वरिपरिका १०/१५ जना युवालाई तालिम दिइएको छ । सबै प्रदेशका कृषि अधिकृतलाई पनि तालिम दिइएको छ । ‘आगामी वर्ष नेपाल ग्याप प्रमाणपत्र लिने संख्या थप बढ्न सक्छ,’ केसीले भने, ‘अहिले सचिवालयको जिम्मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मात्रै गर्दै आएको छ ।’


पुस २३ देखि विषादी प्रयोगमुक्त सप्ताह प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पुस २३ देखि विषादी प्रयोग मुक्त सप्ताह कार्यक्रम आयोजना गर्दै छ । विषादी प्रयोग घटाउन, विषादीले मानव स्वास्थ्यमा हुने हानिबारे सचेत गराउन केन्द्रले सप्ताह आयोजना गर्न लागेको हो । प्रदेश ३ लाई लक्ष्य गरी हुने कार्यक्रम पुस २९ गतेसम्म हुनेछ ।

प्रकाशित : पुस २२, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?