कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धबाबामा सुरुङ निर्माण ठेक्काको तयारी

विमल खतिवडा

काठमाडौँ — बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङ निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइने भएको छ । स्विस सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार भएसँगै सुरुङमार्गको ठेक्का गर्न बाटो खुलेको हो । यो खण्डमा दुर्घटना बढेपछि विकल्पमा सुरुङको तयारी गरिएको हो ।

अन्यत्र बनाउने भनिएका सुरुङमार्गमध्ये पहिलो प्राथमिकतामा सिद्धबाबा रहेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।


‘यो सुरुङ नेपाल सरकार आफैंले बनाउँछ,’ उनले भने, ‘डीपीआरको काम सकिएको छ । १ दशमलव ३ किमि लम्बाइको सुरुङ निर्माणमा ८ अर्ब लाग्नेछ । ‘सुरुङ दुई लेनको रहनेछ– एउटा सवारीसाधन जाने र अर्को आउने,’ थापाले भने, ‘त्यस्तै सुरुङ छेउमा सर्वसाधारणलाई हिँड्न छुट्टै बाटो निर्माण गरिनेछ ।’ यसको निर्माण अवधि तीन वर्षको रहनेछ । ‘बढीमा ८ महिनाभित्र टेन्डर भएर निर्माण सुरु हुनेछ,’ उनले भने, ‘यसमा स्विस सरकारले पर्यवेक्षण गरिदिनेछ ।’ स्विस सरकारकै सहयोगमा अहिले थानकोट–चित्लाङ सुरुङमार्गबारे अध्ययन भइरहेको छ । प्रारम्भिक अध्ययन अन्तिम चरणमा पुगेको प्रमुख थापाले जानकारी दिए ।


थानकोटबाट चित्लाङसम्मको सुरुङ ३ किमिको रहनेछ । ‘सुरुमा १ दशमलव ८९ किमि दूरी रहने अनुमान गरेका थियौं,’ उनले भने, ‘पछि नापजाँचका क्रममा ३ किमि पुगेको हो ।’ दुई महिनाभित्र अध्ययनको रिपोर्ट आउने उनले बताए । विज्ञ टोलीले फिल्ड सर्भेको काम सकिसकेको र रिपोर्ट दिन मात्र बाँकी रहेको थापाको भनाइ छ । डीपीआरको काम चाँडै सकिए टेन्डर प्रक्रिया अघि बढ्ने उनले बताए ।

सरकारले सुरुङ निर्माणको प्रारम्भिक अध्ययन गर्न भन्दै चालु आवमा ५९ करोड बजेट छुट्याएको छ, जसमा १२ वटा सुरुङको अध्ययन गर्नुपर्नेछ तर अहिलेसम्म तीनवटा सुरुङको मात्र अध्ययन भएको छ, जुन स्विस र चीन सरकारको खर्चमा भइरहेको छ । अध्ययन खर्च बढी लाग्ने भएकाले छुट्याइएको बजेट पर्याप्त नहुने सडक विभाग स्रोतले जनाएको छ । अहिले चीनकै विज्ञ टोलीले टोखा–छहरे सुरुङमार्गको अध्ययन गरिरहेको छ । ९ जनाको विज्ञ टोलीले महिना दिन लगाएर सुरुङको अध्ययन गर्नेछ ।


‘टोलीले अध्ययनपछि यहाँ रिपोर्ट सार्वजनिक गर्नेछैनन्,’ उनले भने, ‘उतै लैजान्छन् र उतैबाट रिपोर्ट आउनेछ ।’ त्यस्तै बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्गको अध्ययन जापान सरकारले गरिदिने कुरा आए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । यता दोलखाको लामाबगरमा चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङ बनाउने भनिए पनि यो खण्डको काम अहिलेसम्म सुरु भएको छैन । ‘निर्माण गर्न भन्दै ऊर्जा मन्त्रालयबाट कुरा आएको हो तर डिजाइन छैन,’ उनले भने, ‘काम अगाडि बढ्न सकेको छैन, कस्तो सुरुङ बनाउने ? कस्तो चट्टानमा बनाउने हो भन्ने कुरा पनि केही खुलेको छैन ।’ यसबारे केही तथ्यांक नभएको उनले बताए ।

प्रकाशित : पुस १५, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?