कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

यसै वर्ष घरजग्गा मूल्य सूचकांक

घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सहयोगी हुने
यज्ञ बञ्जाडे

काठमाडौँ — घरजग्गा मूल्य सूचकांक निर्माण गर्न राष्ट्र बैंकले अध्ययन थालेको छ । घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्न राष्ट्र बैंकले सूचकांक निर्माण गर्न लागेको हो । धितोपत्र बजारको अवस्था प्रतिविम्बित गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ज्यालादरको उतारचढाव मूल्यांकन गर्न ज्याला सूचकांक भए जस्तै घरजग्गा कारोबारमा हुने उतारचढाव प्रतिनिधित्व गर्न घरजग्गा मूल्य सूचकांक बनाउन लागिएको हो । हाल नेपालमा यस्तो सूचकांक छैन ।

यसै वर्ष घरजग्गा मूल्य सूचकांक

राष्ट्र बैंकले गत वर्षदेखि नै घरजग्गा सूचकांक निर्माणको तयारी थालेको थियो । ‘सूचकांक निर्माणका लागि गत वर्ष नीतिगत व्यवस्था तथा विधि प्रक्रिया तय गरियो,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने, ‘अहिले घरजग्गा मूल्य सर्वेक्षण भइरहेको छ, यो वर्षभित्र अध्ययन पूरा गर्ने लक्ष्य छ ।’ घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सूचकांक सहयोगी हुने उनको भनाइ छ । ‘सूचकांकले मूल्य नियन्त्रणभन्दा पनि घरजग्गाको मूल्य प्रवृत्ति देखाउँछ,’ उनले भने, ‘सूचकांक घरजग्गा लगानीकर्ताका लागि लगानी निर्णय गर्न र त्यो क्षेत्रको मूल्य उतारचढावबारे जान्न उपयोगी हुन्छ ।’


मालपोतको तथ्यांकमा आधारित र बैंकहरूले कर्जा प्रवाह गर्दा आधार लिइएको घरजग्गा मूल्य सूचकांक गरी दुई वटा सूचकांक गणना गर्ने राष्ट्र बैंकको योजना छ । सूचकांक निर्माणका लागि तोकिएका २० वटा मालपोत कार्यालयको स्थलगत तथा अनलाइन सर्वेक्षणको काम सकिइसकेको छ । त्यसमा मुलुकभर बढी कारोबार हुने स्थान र हरेक प्रदेशमा दुइटा केन्द्र पर्ने गरी २० जिल्लाका मालपोत कार्यालय छानिएको छ । ‘बैंकिङ तथ्यांकमा आधारित घरजग्गा मूल्य सूचकांक निर्माणका लागि मालपोतको सर्वेक्षणबाट निर्धारित विभिन्न २० स्थानका ४० वटा वडाको सर्वेक्षण प्रक्रिया सुरु गरिएको छ,’ स्रोतले भन्यो, ‘यसका लागि बढी कारोबारको सघनता भएका तथा शाखा सञ्जाल बढी भएका छ वटा वाणिज्य बैंकको तथ्यांक लिइनेछ ।’ यसअन्तर्गत ०७५ साउन १ देखि पुस मसान्तसम्म घरजग्गाको धितोमा प्रवाह भएको कर्जाको वडाअनुसारको कर्जा विवरण खुल्ने गरी तथ्यांक संकलन गरी ‘सिस्टमेटिक स्याम्पप्लिङ’ मार्फत सूचकांक निर्माण गरिनेछ ।


‘यी दुवै सूचकांकमा घर भएको जग्गा तथा जग्गा मात्र गरी दुई वटा उपशीर्षकमा घरजग्गा मूल्य सूचकांक गणना गरिनेछ,’ स्रोतले भन्यो, ‘घरजग्गाको मूल्यमा प्रत्येक स्थानपिच्छे फरक हुने भएकाले बीचको मूल्य (मिडियन प्राइस) लिएर सूचकांक निर्माण गरिनेछ ।’ प्राप्त तथ्यांकका आधारमा सफ्टवेयर निर्माणसमेत भइरहेकाले छिट्टै सूचकांक गणना गरी प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा मूल्य सूचकांक तयार गर्न सर्वेक्षण सुरु गर्ने घोषणा गरेको थियो । यो वर्षको मौद्रिक नीतिमा पनि यसलाई निरन्तरता दिइएको छ ।


सोहीअनुसार राष्ट्र बैंक अनुसन्धान विभागले काम थालेको हो । मुलुकभरका विभिन्न स्थानबाट घरजग्गाको मूल्य संकलन गरेर सूचकांक तयार पारिनेछ ।


सूचकांक निर्माणका लागि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, झापा, मोरङ, बाँके, मकवानपुर, पर्सा, सुर्खेत, सल्यान, दाङ, कैलाली, कञ्चनपुर, बुटवल, पूर्वी नवलपरासी, सर्लाही, धनुषा र सुनसरी गरी २० जिल्ला छनोटमा परेका छन् । ती जिल्लाअन्तर्गतका विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र वडा कार्यालय गरी २४ हजार ९ सय ८३ वटा छनोट संख्या चयन गरिएको छ ।


‘घरजग्गाको मूल्य कता गइरहेको छ, अर्थतन्त्रको वृद्धिमा यसले प्रतिनिधित्व गर्छ कि गर्दैनलगायत जानकारी घरजग्गा मूल्य सूचकांकले दिन्छ,’ अर्थविद् केशव आचार्यले भने । सूचकांक लगानीकर्ता, नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी सबैका लागि उपयोगी हुने उनको दाबी छ । घरजग्गासँगै सम्पत्ति सूचकांक पनि तयार गर्न उनले सुझाए ।


‘अब सुनचाँदीलगायतको बहुमूल्य वस्तुको पनि मूल्य सूचकांक तयार पारिनुपर्छ,’ उनले थपे । बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा धितोका रूपमा लिइने स्थिर सम्पत्ति वा घरजग्गाको मूल्यांकन विधिमा एकरूपता छैन । सोही कारण राष्ट्र बैंकले धितोमा रहेको स्थिर सम्पत्ति मूल्यांकन विधि तथा प्रक्रियामा एकरूपता ल्याउन चाहेको छ, जसलाई राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उठाउँदै आएको छ । यसका लागि पनि घरजग्गा सूचकांक उपयोगी हुने विज्ञहरू बताउँछन् ।


सरकारले पनि घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन चाहेको छ । यसका लागि मान्यताप्राप्त कम्पनीमार्फत मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था सरकारले गरेको छ ।

प्रकाशित : पुस १३, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?