१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

भम्रण वर्षको मुखमै पर्यटन बोर्ड प्रमुखविहीन, १७ जनाको आवेदन 

सुरज कुँवर

काठमाडौँ — सरकारले २० लाख पर्यटक ल्याउने उद्देश्यले थालेको भम्रण वर्ष २०२० अभियान सुरु हुन एक हप्ता बाँकी हुँदा पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीइओ) विहीन हुन पुगेको छ ।

भम्रण वर्षको मुखमै पर्यटन बोर्ड प्रमुखविहीन, १७ जनाको आवेदन 

बोर्डका सीईओ दीपकराज जोशीको चारवर्षे कार्यकाल मंगलबारदेखि सकिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार, पर्यटन बोर्डको सञ्चालक समितिले भम्रण वर्ष सुरु हुनै लागेकाले सीईओ दीपकराज जोशीको पदावधि तीन महिनाका लागि थप गरेको थियो । तर, उनले बोर्डको प्रस्ताव अस्वीकार गरेका छन् । बोर्डका लागि सरकारले गठन गरेको छनौट उपसमितिमा सीईओ जोशीसहित १७ जनाले आवेदन दिएका छन् ।

पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको बोर्डको सञ्चालक समितिले सीईओ छनोट गर्न बोर्ड सदस्य विप्लप पौडेलको संयोजकत्वमा मंसिर १८ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त समितिले सीईओका लागि आह्वान गरेको समय मंगलबार सकिएको हो । २१ दिनको समयसीमा राखिएको उक्त विज्ञापनकै आधारमा मंगलबार बोर्डका १० जना कर्मचारी र ७ जना बाहिरका गरी १७ जनाको आवेदन परेको छ ।

आवेदनमा दिनेमा बोर्डका निर्वतमान सीईओ जोशीसहित बोर्डकै कर्मचारीहरु काशीराज भण्डारी, सन्तोषविक्रम थापा, कुन्दन मिश्र, नविन पोखरेल, सूर्य थपलिया, हिक्मत संह ऐर, उदय भट्टराई, लेखनाथ भुसाल र रोहिनी खनाल छन् । त्यस्तै सरकारले भम्रण वर्षका लागि गठन गरेको भम्रण वर्ष सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पनि बोर्डको सीईओका लागि आवेदन दर्ता गराएका छन् ।

यसका लागि निजी क्षेत्रबाट विजय नेपाल, धनन्जय रेग्मी, डा. विष्णुप्रसाद गौतम, प्रशन्न अधिकारी, दीपक बस्ताकोटी र प्रमेश श्रेष्ठले पनि आवदेन दिएका छन् ।


बोर्डले आह्वान गरेको विज्ञापनले सीईओका लागि न्यूनतम योग्यतामा पर्यटन क्षेत्रमा १० वर्ष अनुभव भएको, कुनै पनि विषयमा स्नातकोत्तर अध्ययन गरेको ३५ देखि ६० वर्ष उमेर पुगेको नेपाली नागरिकलाई प्रस्तावका लागि आह्वान गरेको थियो ।

पर्यटन बोर्डको सञ्चालक समितिलाई निवर्तमान सीईओको चार वर्ष अवधि थप्ने कानुनी बाटो खुला थियो । तर, समितिले सीईओ जोशीको अवधि चार वर्ष नथप्ने निर्णय गर्दै विज्ञापन आह्वान गरेको हो । भ्रमण वर्षकै संघारमा ८१ जना कर्मचारी रहको बोर्डको नेतृत्व अब त्यहाँ कार्यरतमध्ये वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गर्नेछिन् ।

बोर्डले महत्वपूर्ण निर्णय गर्नु परेमा त्यहाँ रहेका ५ वटा विभागका निर्देशकले सामूहिक रुपमा गर्नुपर्ने कर्मचारी विनियमले भनेको छ । ‘तर, विवादमा परिने भयले प्रायः निर्देशकहरु दीर्घकालीन महत्वको विषयमा निर्णय लिन चाहँदैनन्’, बोर्डका एक कर्मचारीले भने ।

छनोट समितिमा रहेका एक पदाधिकारीका अनुसार, अबको १५ दिनभित्र १७ आवेदनको मूल्यांकन गर्दै ९ जनालाई सर्टलिस्ट गरिने छ । तीमध्येबाट तीन जनालाई उपसमितिले बोर्डको सञ्चालक समितिमा सिफारिस गर्ने छ । ‘यी सबै प्रक्रिया पूरा गर्दा अबको एक महिनाभित्र बोर्डले नयाँ सीईओ पाउने छ’, उपसमितिमा रहेका एक पदाधिकारीले कान्तिपुरसँग भने ।

सरकारले २०५३ सालमा निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गरी नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन बोर्ड स्थापना गरेको थियो । यसको सञ्चालक समितिमा ५ जना निजी क्षेत्रका पर्यटन व्यवसायी र ५ जना नेपाल सरकारका कर्मचारी रहन्छन् ।

जोशी बोर्डका लागि चौथो प्रमुख कार्यकारी अधिकृत थिए । उनीअघि सुवास निरौला, प्रचण्डमान श्रेष्ठ, टेकबहादुर डाँगी र प्रदीपराज पाण्डे प्रमुख कार्यकारी अधिकृत थिए ।


बोर्डको मुख्य आम्दानीको स्रोत नेपाल भम्रणमा आउने विदेशी पर्यटकले फर्किँदा विमानस्थलमा बुझाउने एक हजार रुपैयाँ पर्यटन सेवा शुल्क हो । त्यस्तै बोर्डको दोस्रो ठूलो आयस्रोतमा पदयात्री पर्यटक सूचना व्यवस्थापन शुल्क (टिम्स) पर्छ । चालू वर्ष यसको बजेट १ अर्ब ३६ करोड रुपैयाँ छ ।

प्रकाशित : पुस ८, २०७६ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?