२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

जयनगर–जनकपुर रेल : इन्जिन र डिब्बा कुर्दै विभाग

(जनकपुर) — सीमावर्ती भारतीय जक्सन जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ब्रोडगेजको लिंक (ट्र्याक) तयार भएको दुई वर्ष बित्यो । तयार प्लेटफर्म र स्टेसन भवनको रङ फिक्का हुन थाल्यो । रेल सञ्चालन भइहाल्ने दुई वर्षदेखिको जनकपुरका बासिन्दाको प्रतीक्षा लम्बिँदो छ । 

जयनगर–जनकपुर रेल : इन्जिन र डिब्बा कुर्दै विभाग

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सन् २०१८ को अक्टोबरसम्म रेल कुद्ने बाचा गरेका थिए । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी र नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले पनि भौतिक पूर्वाधार तयार रहेकाले रेल कुदाउन कठिनाइ नरहेको आश्वासन दिएका थिए ।


भारत सरकारको सहयोगमा रेलको भौतिक पूर्वाधार निर्माण सकिए पनि इन्जिन र डिब्बाको ठेगान नहुँदा पुन: रेल सञ्चालनमा ढिलाइ भएको छ । नेपालले दुई वटा इन्जिनसहित डब्बा खरिद गर्न भारतीय कम्पनीसित सम्झौता गरेको पनि १ वर्षभन्दा बढी भयो । रेल विभागका महानिर्देशक मिश्र फागुनसम्ममा रेल कुद्ने दाबी गर्छन् ।


मिश्रका अनुसार भारतको कोंकन रेल्वे कर्पोरेसनसँग २ सेट (इन्जिन र डब्बा) ट्रेन खरिद भइसकेको र डिलेभरी लिने समय आइसकेको बताए । नेपालले खरिद गरेको ‘डेमु ट्रेन’ (डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट) हो । यो रेल डिजेलले उत्पादन गर्ने बिजुलीबाट गुड्छ ।


‘भौतिक पूर्वाधारको हिसाबले हामी तत्कालै रेल सञ्चालन गर्ने स्थितिमा छौं । भारतबाट सेट अफ ट्रेन हस्तान्तरण हुने बित्तिकै रेल कुद्छ,’ मिश्रले कान्तिपुरसँग भने, ‘फागुनसम्ममा रेल कुदाइहाल्ने हाम्रो लक्ष्य हो ।’ २०७५ सालको विवाहपञ्चमी त्यसपछि २०७६ वैशाख १ गतेलगायत अनेकौ तिथि रेल सञ्चालनका लागि तोकिएका थिए ।


‘रेलको ट्र्याक, स्टेसन–प्लेटफर्म, कर्मचारी, आवासलगायत सबै भौतिक संरचना तयार भए पनि रेल सञ्चालनमा ढिलाइले हामीलाई सशंकित बनाएको छ,’ जनकपुरका सुनिल मिश्रले भने । भारत सरकारको करिब १० अर्बको लगानीमा निर्माणाधीन जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजना सन् २०१६ मईसम्ममा पूरा भई रेल सञ्चालन भई सक्नुपर्ने थियो ।


रेल सञ्चालन हुन नसके पनि रेल्वेको मातहात रहेको महत्त्वपूर्ण सामानहरू चोरी हुने क्रम भने बढेको छ । गत साउनमा आएको बाढीले खजुरी र जयनगरबीचको इनर्वा स्टेसननजिक ७१ मिटर रेल्वे ट्र्याक बगाएको थियो । त्यो ठाउँमा मर्मत सम्भार हुँदै छ । नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाले बाढीले बगाएको ट्र्याकको मर्मतसम्भार अन्तिम चरणमा रहेको बताए ।


प्रस्तावित जयनगर (भारत)–बर्दिबास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनमा आउन अझै दुई/तीन वर्ष लाग्ने भए पनि जयनगर–जनकपुर–कुर्था (३५ किलोमिटर) रेल तत्कालै सञ्चालन गर्न सकिने रेल विभागका मिश्रको दाबी छ ।


भारत सरकारको लगानीमा सञ्चालित उक्त परियोजना तीन चरणमा पूरा हुने नेपाल रेल्वेका इन्जिनियर ओझाले जानकारी दिए । प्रथम चरणमा जयनगर–कुर्था, दोस्रो चरणमा कुर्था–भंगहा (१७ किलोमिटर) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किलोमिटर) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना सञ्चालनमा छ । दोस्रो चरणको कुर्थादेखि भंगहासम्मको रुटमा समेत धमाधम काम भइरहेको ओझाले जानकारी दिए ।


१९९४ सालमा तत्कालीन ब्रिटिसकालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो तर २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर) मा सीमित हुन पुगेको थियो । पछि बन्द नै भयो ।


कानुन अझै बनेन

भौतिक रूपले रेल सञ्चालन गर्न कठिनाइ नभए पनि प्रस्तावित रेल्वे कानुन अझै बन्न सकेको छैन । कर्मचारी भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । आवश्यक कानुन तथा कर्मचारीको अभावमा रेल सञ्चालन गर्न समस्या छ । रेल विभागका महानिर्देशक मिश्रले रेल्वे कानुन मन्त्रीपरिषद्बाट पास भइसकेकोले अगामी संसद् अधिवेशनमा पारित हुने बताए । उनले भने, ‘अगामी संसद् अधिवेशनमा रेल्वेसम्बन्धी कानुन पास हुन्छ । अनि समयमै कर्मचारी भर्ना प्रक्रिया पनि सुरु हुन्छ ।’ मिश्रका अनुसार रेल्वे सञ्चालनका लागि २ सय कर्मचारीको आवश्यकता छ ।


प्रकाशित : पुस २, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?