कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा कोषमा बैंकका कर्मचारी अनिच्छुक

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा जान वित्तीय क्षेत्रका कर्मचारी अनिच्छुक देखिएका छन् । राष्ट्र बैंकले सूचना जारी गरी मातहतका बैंक तथा वित्तीय संस्थालाई कोषमा दर्ता हुन निर्देशन दिएको समयमा कर्मचारीले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको केन्द्रीय नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकलाई पत्र लेखेर कोषमा दर्ता हुन बाध्य नपार्न आग्रह गरेको छ । राष्ट्र बैंकले गत मंगलबार सूचना जारी गरी कोषमा दर्ता हुन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

सुरक्षा कोषमा बैंकका कर्मचारी अनिच्छुक

हालकै अवस्थामा सामाजिक सुरक्षा कोषमा जाँदा बैंकिङ क्षेत्रका कर्मचारीले खाइपाई आएको सुविधा पनि कटौती हुने भन्दै तत्कालका लागि बाध्य नगर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । राष्ट्र बैंकले सरोकारवालासँग छलफल नै नगरी एकपक्षीय ढंगबाट निर्देशन दिएको प्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।


बैंक तथा वित्तीय संस्थाका छाता संगठनले कोषमा दर्ता हुन नमानिरहेको समयमा कर्मचारी पनि आन्दोलित हुन थालेका हुन् ।


‘नेपाल सरकारद्वारा ०७६ साउनदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले संविधान तथा श्रम ऐन र ट्रेड युनियन ऐनद्वारा प्रदत्त अधिकारबाट सम्बोधन गर्न सक्दैन,’ संघको पत्रमा भनिएको छ, ‘यस सम्बन्धमा सरोकारवालासँग सामान्य छलफल नै नगरी नियामक निकायको कार्य क्षेत्र र अधिकारको दुरुपयोग गरी केन्द्रीय बैंकद्वारा जारी सूचनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’


राष्ट्र बैंकबाट जारी सो निर्देशन अविलम्ब फिर्ता गरी यस क्षेत्रको अन्योल अन्त्य गर्न संघले माग गरेको छ । अन्यथा बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघ र संघसँग आबद्ध वित्तीय क्षेत्रका सम्पूर्ण प्रतिष्ठान दबाबमूलक कार्यक्रमको घोषणा गरी आन्दोलनमा जान बाध्य हुने पनि पत्रमा उल्लेख छ । हाल बैंकिङ क्षेत्रका कर्मचारीले खाइपाई आएको सेवा सुविधा ग्यारेन्टी गरेपछि मात्र कोषमा जान सकिने संघका अध्यक्ष पदमराज रेग्मीले बताए । रेग्मीले राष्ट्र बैंकको तर्फबाट संघमा प्रतिनिधित्व गर्छन् ।


‘हाम्रो माग संविधान तथा श्रम ऐन र ट्रेड युनियन ऐनद्वारा प्रदत्त अधिकारबाट कर्मचारी वञ्चित हुनु भएन,’ उनले भने, ‘यसका लागि अहिलेलाई कोषमा जान स्वैच्छिक व्यवस्था गर्न सकिन्छ ।’ अनौपचारिक निजी क्षेत्रका कर्मचारीका लागि सुरक्षा योजना ठीक भए पनि बैंकिङ क्षेत्रका लागि उचित नभएको उनले बताए ।


प्रकाशित : मंसिर ३०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?