कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं–तराई द्रुत मार्ग : ३० किलोमिटर ग्राभेलयोग्य

- असारसम्म सडकको काम सकिने  
- सुरुङ र पुल निर्माण नयाँ आर्थिक वर्षबाट
विमल खतिवडा

(लेनडाँडा, मकवानपुर) — सेनाले जिम्मा लिएको काठमाडौं–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि ग्राभेलका लागि योग्य भएको छ । सडकको कुल लम्बाइ ७२.२ किमिमध्ये १७.२ किमिमा पुल, टनेल पर्छन् । 

काठमाडौं–तराई द्रुत मार्ग : ३० किलोमिटर ग्राभेलयोग्य

ललितपुरको खोकनाबाट बाराको निजगढतर्फ लाग्दै गर्दा चोभार पुलको आडैमा काठमाडौं–तराई द्रुतमार्गको ठूलो बोर्ड देखिन्छ । तर, बोर्डमा लेखिएको नामअनुसार काम देख्न भने पाइएको छैन । कारण यो खण्डमा जग्गा विवाद थियो । त्यसमा पनि सिकाली क्षेत्रको पुरातात्त्विक इलाका । यही इलाकाबाट सडक निर्माण गर्दा पुरातात्त्विक क्षेत्र मासिने भन्दै स्थानीयले विरोध गरे ।


सुरुमा एसियाली विकास बैंक (एडीबी) को प्रस्तावित रेखांकनले यही क्षेत्रबाट सडक निर्माण हुने उल्लेख गरेको थियो । अहिले स्वीकृत विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) अनुसार यो क्षेत्रलाई बाइपास गरिएको छ । ‘पहिला सिकाली चौरबाट सडक पर्थ्यो, अहिले स्थानीयको मागअनुसार उक्त क्षेत्रलाई बाइपास गरेर अघि बढेका छौं,’ आयोजनाका कार्यान्वयन तथा अप्रेसन महाशाखा प्रमुख कर्णेल विश्वबन्धु पहाडीले भने, ‘प्रारम्भिक रेखांकन स्वीकृत डीपीआरअनुसार अब सडक वाग्मती किनार भएर जानेछ । समस्या मुआब्जाको थियो, अहिले कतै अवरोध छैन,’ उनले भने । यो खण्डको सर्भे डिजाइनको काम भइरहेको छ । पुसको पहिलो हप्ताबाट निर्माणको काम सुरु हुने सेनाको दाबी छ ।


यो क्षेत्रबाट करिब चार किमि अघि बढेपछि भने कतै सडक त कतै वाल निर्माण गरिरहेको दृश्य देख्न पाइन्छ । जुन क्रम निजगढसम्मै चलेको छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट सुरु सडकले पछिल्लो समय गति लिँदै गएको छ । जता हेर्‍यो उतै पहाड । कतै भीर त कतै चट्टान नै चट्टान । ती ठाउँमा डोजरले भीरलाई सम्म बनाइरहेका देख्न पाइन्छ । ठूला पहाड काटेर फराकिलो बनाइएको छ । अप्ठ्यारा पहाड भत्काउन सेनाले विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ । हरेक निर्माण क्षेत्रमा पहुँच मार्ग बनाइएको छ । जसले गर्दा निर्माण क्षेत्रमा पुग्न सहज भएको छ । पहाड कटिङको काम रातिसमेत हुने गरेको छ । ‘दुई सिफ्ट गरेर काम भइरहेको छ,’ महादेवटार बेस क्याम्पका मेजर पूर्णचन्द्र ढकालले भने, ‘कटिङको काम बेलुका र आरी वाल र फिलिङ गर्ने काम दिउँसो हुन्छ ।’ उनका अनुसार बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई सिफ्टमा काम हुन्छ । ठाउँठाउँमा रुख व्यवस्थापनमा सेना खटिएको भेटिन्छ । ‘असार मसान्तसम्म सडक निर्माण सक्ने लक्ष्यसहित काम भइरहेको छ,’ कर्णेल पहाडीले भने, ‘अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ ।’ असार मसान्तसम्म सबग्रेड लेबलको सडक बनाइनेछ ।


०७४ वैशाख २१ गते मन्त्रिपरिषद्ले सेनाको निर्माण व्यवस्थापनमा आयोजना निर्माण गर्न दिने निर्णय गरेको थियो । ०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढ पुगेर यो मार्गको शिलान्यास गरेका थिए । सरकार आफैंले बनाउन लागेको यो पहिलो आयोजना हो । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये काठमाडौं–तराई द्रुत मार्ग एक प्रमुख आयोजना हो ।


मख्खुबेंसी बेस क्याम्पका मेजर अजित श्रेष्ठका अनुसार यो खण्डको ४ सय मिटरको चट्टान काट्ने काम सकिइसकेको छ । भीरखण्डको ३६ सय मिटर पहाड कटिङको काम भइरहेको छ । यसमा ४ सय मिटरको काम सकिइसकेको छ । अहिले सडक निर्माण, क्रस ड्रेनेजमा पाइप कल्भर्ट, वक्स कर्ल्भट निर्माणको काम भइरहेको छ । ७२ दशमलव २ किमि सडकको लागत १ खर्ब ५५ अर्ब रहेको छ ।


१० ठाउँमा सेनाको क्याम्प

आयोजना निर्माणको काम सञ्चालन गर्नका लागि सेनाले विभिन्न १० ठाउँमा क्याम्प खडा गरेको छ । खोकना, मख्खुबेंसी, सिस्नेरी, महादेवटार, धेद्रे, लेनडाँडा, बुदुने, राजदमार, वागदेव र निजगढमा क्याम्प खडा गरिएको छ । एउटा क्याम्पमा करिब १ सय जना सेना राखिएको छ । ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । कर्णेल पहाडीका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २० र ०७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । जसमध्ये ५ वटा प्याकेजमा सेनाले आफ्नै जनशक्ति र साधन प्रयोग गरेर काम गरिरहेको छ । मख्खुबेंसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम गरिरहेको छ । जहाँ पहाड काट्ने र फिलिङको काम भएको छ । निजगढको ९ किमि क्षेत्रको काम सकिसकेको छ ।


८७ वटा पुल

पहिलो चरणमा सडक निर्माणको काम मात्र हुनेछ । पहुँच मार्गमा बेलिब्रिज निर्माण गरेर सडक निर्माणको काम तीव्र पारिएको छ । पुल र सुरुङमार्गको काम आउने आर्थिक वर्षमा सुरु हुनेछ । सडकमा ८७ वटा पुल निर्माण हुनेछन् । जसमा विशेष प्रकृतिका १६ वटा पुल निर्माण गरिनेछन् । बढीमा ५ सय २० मिटर लामा र ८० मिटर अग्ला पुल निर्माण हुनेछन् । कुल सडकमध्ये १०.६ किमि पुल निर्माण हुनेछ । सडकको चौडाइ पहाडी भूभागमा २५ र समथरमा २७ मिटर रहनेछ ।


३ वटा सुरुङमार्ग

यो सडक खण्डमा तीन वटा सुरुङमार्ग निर्माण गरिनेछ । आयोजनाका अनुसार महादेवडाँडामा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमि रहेको छ । ट्वीइन टनेल हुनेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङमार्ग निर्माण हुनेछ । ‘पुल र सुरुङमार्ग निर्माणका लागि ठेक्का बन्दोबस्तीसम्बन्धी पूर्वतयारीको काम भइरहेको छ,’ कर्णेल पहाडीले भने, ‘निर्माणको सुपरीवेक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने काम अघि बढाएका छौं, नयाँ आर्थिक वर्षबाट ठेक्का गरेर काम सुरु गर्नेछौं ।’ उनका अनुसार प्रारम्भिक रूपमा ६ वटा परामर्शदाता छनोट भएका छन् । जसबाट एक जना छनोट गरिनेछ ।


मकावनपुरमा धेरै क्षेत्र

सडक निर्माणको क्रममा सबैभन्दा बढी क्षेत्र मकवानपुरमा परेको छ । आयोजनाका अनुसार चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७ दशमलव ९, बारा ७ दशमलव ६ किमि रहेको छ । आर्थिक वर्ष ०८१/०८२ सम्म निर्माण अवधि रहेको यो सडक सञ्चालनमा आएपछि १ घण्टामा काठमाडौंबाट बारा पुगिनेछ । अहिले निजगढबाट काठमाडौं आउन छोटो मार्ग प्रयोग गर्दा पाँच घण्टा लाग्छ ।


कामको प्रगति

आयोजानाका अनुसार अहिलेसम्म सडक निर्माणको काम ८० प्रतिशत सकिएको छ । असार मसान्तसम्म सब ग्रेड लेबल (पिच गर्ने पूर्वतयारी) सम्मको सडक बनाइनेछ । पुल र सुरुङ निर्माणको काम सुरु हुनै बाँकी छ । सेनाका अनुसार हालसम्म १ करोड ३५ लाख ५७ हजार घनमिटर कटिङको काम भएको छ । त्यस्तै १५ लाख घनमिटर फिलिङ गर्ने काम सकिएको छ । क्रस पाइप, कल्भर्ट, रिटेनिङ वाल, आरी लगाउने काम भइरहेको छ । सिस्नेरी इलाकामा १२० मिटर अग्लो पहाड काटेर सडक निर्माण गरिएको छ । ‘१२० मिटर अग्लो पहाडलाई काटेर ७० मिटरसम्म झारेका छौं,’ सिस्नेरी क्याम्पका मेजर राजेशकुमार देवले भने, ‘अप्ठ्यारो ठाउँमा ब्लास्ट गर्ने काम भएको छ ।’ सडक मार्गको अधिकार क्षेत्रअन्तर्गत समथरमा १ सय मिटर र पहाडी भेगमा ५० मिटर रहेको छ ।


१ रुख बराबर २५ बिरुवा

सेनाले १ रुख बराबर २५ वटा बिरुवा रोप्न सुरु गरेको छ । जसका लागि सेनाले क्याम्पभित्र छुट्टै नर्सरी स्थापना गरेको छ । अहिले २ वटा क्याम्पमा नर्सरी राखिएको छ । निजगढमा १ लाख १० हजार ७ सय बिरुवा उत्पादन गरिएको छ । जहाँ टिक, खयर, इपिलइपिल, सिमल, सिसौ, अमला, निम, बेल रहेको छ । त्यस्तै राजदमार क्याम्पमा ७० हजार ४ सय २० बिरुवा तयार पारिएको छ । वृक्षरोपण कार्यदलका प्रमुख कर्णेल सुशीलकुमार कार्कीका अनुसार बाराको कोल्हवी नगरपालिका–८ स्थित सहजनाथ साझेदारी वन क्षेत्रमा गत असोजमा ५ हजार बिरुवा रोपिएको छ । ५ दशमलव ६१ हेक्टर क्षेत्रफलमा टिक, सिमल, शिरीष र जामुन प्रजातिका बिरुवा रोपिएको हो ।


प्रकाशित : मंसिर २९, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?