कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० दिनसम्म ब्रोइलरका चल्ला उत्पादन नहुने

रमेशकुमार पौडेल

(चितवन) — मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला १० दिनसम्म उत्पादन नहुने भएको छ । चल्ला उत्पादन गर्ने उद्योगीहरूको संस्था नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिको आयोजनामा भरतपुरमा भएको भेलाले यो निर्णय गरेको हो ।

१० दिनसम्म ब्रोइलरका चल्ला उत्पादन नहुने

भरतपुरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष टीकाराम पोखरेलले मागभन्दा उत्पादन बढी भएको र मूल्य पनि नआएका कारण यस्तो निर्णय गरेको बताए ।


‘मंसिर २९ गतेदेखि १० दिनसम्म कुनै पनि ह्याचरीले ब्रोइलर र कलर ब्रोइलर कुखुराका चल्ला उत्पादन नगर्ने निर्णय भएको छ,’ पोखरेलले भने । भेलामा देशभरबाट जम्मा भएका १५० जना उद्योगीहरूले एकमतले यो निर्णय गरेको उनले बताए । नेपालमा हाल प्रतिहप्ता ब्रोइलरका ४५ लाख र कलर ब्रोइलरका एक लाख ७० हजार चल्ला उत्पादन भइरहेको संघको तथ्यांक छ ।


चल्ला उत्पादन नगर्ने भनेका कारण ह्याचरी मेसिनमा सेट गरिसकेका अण्डाहरू पनि शुक्रबारदेखि नै झिकेर नष्ट गरेको उनले दाबी गरे । १० दिनसम्म ६० लाख चल्ला उत्पादन हुने गर्दछ । यी चल्ला बजारमा जाने हो भने ३५ देखि ४० दिनपछि मासुका लागि कुखुरा तयार हुन्छन् । जसबाट १ करोड २० लाख केजी मासु उत्पादन हुने अध्यक्ष पोखरेलको भनाइ छ ।


‘नेपालमा प्रतिहप्ता ३० देखि ३२ लाख गोटा चल्ला उत्पादन भए माग र आपूर्ति मिल्छ । उत्पादन ४५ लाखभन्दा धेरै छ । त्यसैले चल्लाको मूल्य सस्तो भयो । बजारमा धेरै चल्ला गएका कारण किसानले उत्पादन गरेको कुखुराको मूल्य पनि आएन,’ पोखरेलले भने । ह्याचरीले अहिले प्रतिगोटा ३० रुपैयाँमा चल्ला बेचेको छ । उत्पादन लागत नै ५० देखि ५५ रुपैयाँसम्म पर्ने उनले बताए ।


त्यसैगरी तयारी कुखुराको मूल्य किसानले प्रतिकेजी १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पाएका छन् । उत्पादन लागत प्रतिकेजी १९० रुपैयाँसम्म पर्ने नेपाल कुखुरापालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले बताए । त्यसैले व्यवसायीले उचित मूल्य पाएका छैनन् । उपभोक्ताले मासुमा मनग्गे खर्च गरेका छन् ।


ह्याचरीले १० दिन चल्ला उत्पादन रोक्दा लगभग दुई महिनापछि मासुको माग र कुखुराको संख्या मिल्न आउने आशाले यो निर्णय गरेको ह्याचरी उद्योग संघका अध्यक्ष पोखरेलले बताए । ‘नौ महिनादेखि ह्याचरी उद्योगले घाटामा चल्ला बेचेका छन् । किसानलाई पनि फाइदा भएन । १० दिन रोक्दा बजारमा माग र आपूर्तिको सन्तुलन मिल्ने आशामा यो निर्णय गरेको हो,’ पोखरेलले भने ।


तत्कालका लागि यो उपाय ल्याए पनि समस्याको दीर्घकालीन समाधानका लागि नेपालमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको अनुमति दिनुपर्ने व्यवस्था हुनुपर्ने उनले बताए । ‘विदेशका धेरै देशहरूमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको प्रबन्ध मिलाउने गरेको छ,’ उनले भने । कुखुरापालन क्षेत्रमा मौलाएको बिचौलिया प्रवृत्ति र दानाको मूल्य बढेका कारण किसान र ह्याचरी उद्योगीहरू मारमा परेको उनको भनाइ छ ।


बिचौलियाको हालीमुहाली रोक्न सहकारीमार्फत बिक्री गर्ने योजना बनाउँदै छौं । कुखुरापालन क्षेत्रमा दानाको हिस्सा ८० प्रतिशत हुन्छ । अधिकांश दानाको कच्चा पदार्थ भारतबाट आउँछ । पहिला भन्सार नलाग्ने कच्चा पदार्थमा अहिले कर लाग्छ,’ अध्यक्ष पोखरेलले भने । यसको असर व्यवसायमा परेको छ । झन्डै सवा खर्ब रुपैयाँ लगानी भएको कुखुरापालन क्षेत्रलाई जोगाउन बेलैमा सरकारले सोच्नुपर्ने उनको आग्रह छ ।

प्रकाशित : मंसिर २९, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?