कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनतर्फ खाद्य वस्तु निर्यात ठप्प

रसुवा — चार महिनादेखि रसुवागढी नाका हुँदै चीनतर्फ नेपाली खाद्य वस्तुको निर्यात ठप्प भएको छ । 

वस्तुको लेबलिङमा भाषाको समस्या देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य वस्तु निर्यातमा रोक लगाएको व्यापारीहरूले बताएका छन् । ‘खाद्य वस्तुको निर्यात गर्न नपाएको चार महिना भयो,’ व्यापारी मकुन्द पौडेलले भने, ‘चिनियाँ पक्षले किन हो नेपाली खाद्य वस्तु लैजान रोक लगाएका छन् ।’


नेपालबाट चीनतर्फ खाद्य वस्तुमा मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सिको क्यान्डी, चकलेट, सख्खर, चुइगमलगायत वस्तु निर्यात हुँदै आएको थियो । अहिले ती वस्तु निर्यात हुन नसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘अन्य वस्तु भने नियमित निर्यात भइरहेको छ,’ उनले भने । चिनियाँ भाषामा लेबलिङ भएका सामग्री मात्र निर्यात गर्न दिने अडान चिनियाँ पक्षको रहेको छ ।


नेपाली पक्षले पनि चिनियाँ भाषामा लेबलिङ भएका खाद्य वस्तु आयातमा कडाइ गरेको छ । त्यसैको बदलामा चिनियाँ पक्षले नेपाली खाद्य वस्तुको निर्यातमा रोक लगाएको हुन सक्ने व्यापारीहरूले बताएका छन् । खाद्य वस्तु निर्यातमा चिनियाँ पक्षले गरेको अवरोध हटाउन व्यापारीहरूले माग गर्दै आएका छन् ।

प्रकाशित : मंसिर २७, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?