कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बरौनीबाट इन्धन ढुवानी बन्द

पर्सा — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना सञ्चालनमा आएपछि भारतको बरौनीबाट ट्यांकरमा इन्धन ढुवानी बन्द भएको छ । नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार, भारतबाट पाइप लाइनबाटै डिजेल भित्रिन थालेपछि वर्षौंदेखि बरौनीबाट हुँदै आएको इन्धनको ढुवानी बन्द भएको हो । ‘हाल बरौनीबाट इन्धनको ढुवानी ठप्प भएको छ,’ उनले भने, ‘इन्डियन आयल कर्पोरेसनको रक्सौल डिपोबाट भने पेट्रोल, हवाई इन्धन, मटितेल र थोरै परिमाणमा डिजेल पनि आइरहेको छ ।’ 

यसअघि वीरगन्जबाट करिब १२५ किमि दूरीमा रहेको बरौनीबाट दैनिक १ सयभन्दा बढी ट्यांकरले २ हजारदेखि ३ हजार किलोलिटरसम्म इन्धन ढुवानी गरी अमलेखगन्ज ल्याउने गरेका थिए । बरौनीबाट डिजेलको ढुवानी बन्द भएपछि वीरगन्ज–अमलेखगन्ज सडकमा ट्यांकरको चाप केही कम भएको र इन्धनको ढुवानी खर्च पनि जोगिएको छ । बेलाबेलामा नेपाली ट्यांकर चालक बरौनी–रक्सौल रुटमा लुटिने, कुटपिटमा पर्ने, अवैध असुलीको सिकार हुने जस्ता घटना हुँदै आएका थिए ।


यसै वर्षको जुलाईको तेस्रो साताबाट मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना सञ्चालनमा आएको हो । यादवका अनुसार हाल पाइप लाइनबाट डिजेल मात्र आयात भइरहेको छ । पाइप लाइनबाट भारतबाट १ घण्टामा १ लाख ९० हजार लिटर डिजेल अमलेखगन्ज डिपोमा आइपुग्छ । लगातार ५ दिन पाइप लाइनबाट इन्धन भित्रिएपछि २/३ दिन डिजेल आउँदैन । त्यसपछि फेरि डिजेल आउन थाल्छ । करिब २ हजार केवल डिजेल पाइप लाइनमै बसिरहने गरेको छ । यसो गर्दा पाइपमा हावा भरिँदैन । हाल भारतको पटनामा रहेको आईओसीको पम्पबाट पाइप लाइनमार्फत नेपालतर्फ डिजेल आउने गरेको यादवले जानकारी दिए ।


प्रकाशित : मंसिर २७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?