कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिफला उत्पादनमा सहकारी

अर्जुन राजवंशी

(बिर्तामोड) — झापाका किसानले आयुर्वेद औषधि ‘त्रिफला चूर्ण’ उत्पादन गर्न थालेका छन् । अर्जुनधारा नगरपालिका–९ स्थित त्रिगाउँ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारीका किसानले गत वर्षदेखि त्रिफला चूर्ण उत्पादन गर्न थालेका हुन् । 

सहकारीले हर्रो, बर्रो र अमलाको मिश्रणबाट त्रिफला चूर्ण उत्पादन गर्दै आएको हो । शनिश्चरे, अर्जुनधारा, खुदुनाबारी र बुधबारेका २४७ किसानले सहकारी स्थापना गरेका थिए । ०६७ सालमा स्थापना भएको सहकारी लामो समय निष्क्रिय थियो ।


‘सहकारीलाई चलायमान बनाउन दुई वर्षदेखि हामीले त्रिफला चूर्ण उत्पादन गर्न थालेका हौं,’ सहकारीका अध्यक्ष हरिप्रसाद दाहालले भने, ‘गत वर्ष कच्चा पदार्थ हातले कुटेर बनाएको त्रिफला चूर्णले राम्रो प्रशंसा बटुलेपछि यो वर्ष मेसिन राखेर व्यवस्थित रूपमा उत्पादन गरिरहेका छौं ।’ सहकारीले यो वर्षदेखि प्रशोधन केन्द्र स्थापना गरी व्यवस्थित रूपमा त्रिफला चूर्ण उत्पादन गर्न थालेको हो ।


डिभिजन वन कार्यालयको १५ लाख अनुदान तथा सहकारीको ३ लाख १२ हजार गरी १८ लाख रुपैयाँको लागतमा प्रशोधन भवन, तीन वटा प्रशोधन मेसिन र एउटा प्याकेजिङ मेसिन खरिद गरेको अध्यक्ष दाहालले जानकारी दिए । गत साउनदेखि मेसिनबाट त्रिफला चूर्ण बनाउने काम गरिरहेको उनले बताए ।


अमला जिल्लामा प्रशस्त मात्रामा पाइन्छ । हर्रो जिल्लाका विभिन्न स्थान तथा संखुवासभाबाट ल्याउने गरेको प्राविधिक पुरुषोत्तम भट्टराईले बताए । बर्रो जिल्लाकै सामुदायिक वनहरूबाट खरिद गर्ने गरेको उनले बताए । हर्रो, बर्रो र अमला प्रतिकिलो ५० रुपैयाँका दरले खरिद गर्ने गरेको भट्टराईले जानकारी दिए ।


काँचो हर्रो, बर्रो र अमला मेसिनमा फुटाएर सुकाउनुपर्छ । सुकाएर पुन: मेसिनमा धूलो बनाउनुपर्छ । धुलो बनाएर आवश्यकताअनुसार तीन वटैको सम्मिश्रणबाट त्रिफला चूर्ण उत्पादन गर्न सकिने भट्टराईले बताए । सहकारीले त्रिफला चूर्ण दुई सय ग्रामको प्याकेज बनाएर बिक्री गर्ने गरेको छ । दुई सय ग्राम प्याकेजको २५० रुपैयाँमा बेच्ने गरेको अध्यक्ष दाहालले बताए । ‘पहिलो वर्ष हातले कच्चा पदार्थ फुटाएर बनाएको एक सय केजी त्रिफला चूर्ण सबै बिक्री भयो ।


परीक्षणका लागि बनाएको त्रिफला चूर्णले उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाएपछि हामीले थप लगानी गरेर यो वर्षदेखि मेसिनबाट उत्पादन गर्न थालेका हौं,’ सहकारीका सदस्यसमेत रहेका भट्टराईले भने ।

प्रकाशित : मंसिर २६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?