सिमीसित चामल साटफेर

‘हामीसँग सिमी हुन्छ, व्यापारीले चामल ल्याउँछन्, एक पाथी सिमी दिएर दुई पाथी चामल राख्छौं’
हरि गौतम

(रुकुम पूर्व) — सिस्ने गाउँपालिका–१ ठूला सिस्नेका मनराज बुढा प्रशस्त सिमी उत्पादन गर्छन् । यसरी उत्पादन गरिएको अर्गानिक सिमीले मूल्य पाउन सकेको छैन । बिक्री नहुने भएपछि बुढाले चामलसित सिमी साट्ने गरेका छन् । एक पाथी चामल बराबर बुढाले त्यति नै सिमी दिन्छन् । 

ZenTravel

भूमे गाउँपालिका–२ की बलकुमारी बुढा मगरले यस वर्ष पनि आफूलाई चाहिनेबाहेकको सिमी बेचिसकिन् । उनले पनि नगदमा बेचेकी होइनन् । चामलसित साटेकी हुन् । यी मात्र होइन, यहाँका अधिकांश स्थानीयले सिमीसित चामल साट्छन् ।

Meroghar


सिस्ने–१ का सबै टोलमा सिमी फल्छ । सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन् । घरमा चामल लिएर आउने जो कोहीलाई सिमी दिन्छन् । शिक्षक र व्यापारीले चामलसित सिमी साटेर बजार पुर्‍याउँछन् । चामलसँग साट्दा सिमी कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए । ‘बजारमा चामलको भन्दा दोब्बर मूल्यमा सिमी बिक्री हुन्छ, हामीले भने सरोबरमै सिमी साटिरहेका छौं,’ बुढाले भने ।

सडक नजोडिएकाले सजिलै सिमी बजार पुर्‍याउन सम्भव छैन । भूमे–१, २, ३ र अन्य वडामा पनि चामलसित सिमी साट्ने गरिन्छ । यस क्षेत्रमा भने एक भाग सिमीको दुई भाग चामल राख्ने चलन छ । व्यापारीले दुई बोरा चामल दियो भने एक बोरा सिमी बजार लगेर बेच्छन् । बजारमा प्रतिपाथी ६ देखि ८ सय रुपैयाँमा सिमी बेचिन्छ । केही वर्षदेखि चामलले सिमी साट्न थालेको बलकुमारीले बताइन् । ‘हामीसँग सिमी हुन्छ, व्यापारीले चामल ल्याउँछन्, एक पाथी सिमी दिएर दुई पाथी चामल राख्छौं,’ उनले भनिन् ।

यी क्षेत्रमा धान उत्पादन हुँदैन । मुख्य खाद्यान्न बाली मकै, गहुँ र आलु हो । भात खानका लागि हुनेहरूले सिमीले साटफेर गर्छन् भने नहुनेहरूले किनेर भात खान्छन् । ‘यो चलन सुरु भएको केही समय भयो,’ सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले भने, ‘पहिला यत्तिकै खेर जाने सिमी अब चामलसँग साटफेर हुने अवस्था आएको छ ।’ बजार टाढा भएका कारण उत्पादित वस्तु कम मूल्यमै बेच्नुपरेको भनाइ उनको छ । गाउँ नजिक सडक पुग्दै गरेपछि व्यापारीहरू स्थानीय उत्पादन खोज्दै सिस्ने पुग्ने गरेको उनले सुनाए । गाउँसम्म सडक नपुग्दासम्म स्थानीय उत्पादनले मूल्य नपाउने वडाध्यक्ष बुढाले बताए । सिमीका साथै यहाँको आलु पनि बजारसम्म पुग्न मुस्किल छ । सिस्नेका हरेक घरमा प्रशस्त आलु फल्ने गर्छ ।


प्रकाशित : मंसिर २५, २०७६ ०८:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तनहुँ जलविद्युत्‌मा पहुँच मार्ग बनाउन सुरु

प्रताप रानामगर

(दमौली) — तनहुँ जलविद्युत् आयोजनाको ऋषिङ गाउँपालिका झापुटारमा निर्माण हुने आयोजना स्थलसम्म पहुँच सडकको निर्माण सुरु भएको छ । 

सिनो हाइड्रोले ठेक्का लिएको प्याकेजअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको काम गर्नुपर्ने हुन्छ । पहिलो चरणमा विद्युत्गृह पुग्ने पहुँच मार्गको काम भइरहेको हो । झापुटारस्थित आयोजनाको आवास गृह सडकदेखि सर्ज ट्यांक र पावर हाउससम्म सडकको ट्र्याक खोलिसकेको तनहुँ हाइड्रोका उपप्रबन्धक श्यामजी भण्डारीले बताए ।

‘प्याकेज २ को काम भइरहेको छ,’ उनले भने, ‘ट्र्याक खोल्ने काम सकिएको छ ।’ सडकको दूरी २ किमि ५ सय मिटर छ । बाँधस्थलदेखि पावर हाउससम्म १२ सय मिटर लम्बाइको सुरुङ निर्माण गरिनेछ । करिब ९० मिटर लम्बाइ, २४ मिटर चौडाइ र ४६ मिटर उचाइको पावर हावस निर्माण गरिनेछ । पहुँच मार्गसँगै कार्यालय भवन, श्रमिक आवास क्षेत्रलगायत काम पनि हुन थालेको हो ।

१४० मेगावट क्षमताको आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सीएमसीसँग ठेक्का रद्द भएर पुन: बोलपत्र आह्वान गरिएको थियो । अहिले बोलपत्र मूल्यांकन गर्ने काम भइरहेको छ । पहिलो प्याकेजका लागि १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेस गरेका थिए ।

आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत्गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको आयोजनाका उपप्रबन्धक विदुर अधिकारीले बताए । बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २ सय ३० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।

पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिने उनले बताए । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको सर्वेक्षण गरिरहेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख लाग्ने अनुमान छ ।

मालिङमा विद्युत्गृह र दुलेपहरोमा बाँध निर्माण गरिनेछ । दुलेपहरोको बाँधदेखि १२ सय मिटरको सुरुङमार्फत विद्युत्गृहमा पानी खसालिनेछ । दुलेपहरोबाट भिमाद बजारसम्म आयोजनाको जलाशय २२ किमि लम्बाइमा रहनेछ । दुलेपहरोमा १४० मिटर अग्लो र २१५ मिटर क्रेस्ट लम्बाइको बाँध बन्नेछ । उक्त जलविद्युत् आयोजना सन् २०२४ अगस्तमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित : मंसिर २५, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×