कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँ जलविद्युत्‌मा पहुँच मार्ग बनाउन सुरु

प्रताप रानामगर

(दमौली) — तनहुँ जलविद्युत् आयोजनाको ऋषिङ गाउँपालिका झापुटारमा निर्माण हुने आयोजना स्थलसम्म पहुँच सडकको निर्माण सुरु भएको छ । 

सिनो हाइड्रोले ठेक्का लिएको प्याकेजअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको काम गर्नुपर्ने हुन्छ । पहिलो चरणमा विद्युत्गृह पुग्ने पहुँच मार्गको काम भइरहेको हो । झापुटारस्थित आयोजनाको आवास गृह सडकदेखि सर्ज ट्यांक र पावर हाउससम्म सडकको ट्र्याक खोलिसकेको तनहुँ हाइड्रोका उपप्रबन्धक श्यामजी भण्डारीले बताए ।


‘प्याकेज २ को काम भइरहेको छ,’ उनले भने, ‘ट्र्याक खोल्ने काम सकिएको छ ।’ सडकको दूरी २ किमि ५ सय मिटर छ । बाँधस्थलदेखि पावर हाउससम्म १२ सय मिटर लम्बाइको सुरुङ निर्माण गरिनेछ । करिब ९० मिटर लम्बाइ, २४ मिटर चौडाइ र ४६ मिटर उचाइको पावर हावस निर्माण गरिनेछ । पहुँच मार्गसँगै कार्यालय भवन, श्रमिक आवास क्षेत्रलगायत काम पनि हुन थालेको हो ।


१४० मेगावट क्षमताको आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सीएमसीसँग ठेक्का रद्द भएर पुन: बोलपत्र आह्वान गरिएको थियो । अहिले बोलपत्र मूल्यांकन गर्ने काम भइरहेको छ । पहिलो प्याकेजका लागि १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेस गरेका थिए ।


आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत्गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको आयोजनाका उपप्रबन्धक विदुर अधिकारीले बताए । बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २ सय ३० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।


पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिने उनले बताए । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको सर्वेक्षण गरिरहेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख लाग्ने अनुमान छ ।


मालिङमा विद्युत्गृह र दुलेपहरोमा बाँध निर्माण गरिनेछ । दुलेपहरोको बाँधदेखि १२ सय मिटरको सुरुङमार्फत विद्युत्गृहमा पानी खसालिनेछ । दुलेपहरोबाट भिमाद बजारसम्म आयोजनाको जलाशय २२ किमि लम्बाइमा रहनेछ । दुलेपहरोमा १४० मिटर अग्लो र २१५ मिटर क्रेस्ट लम्बाइको बाँध बन्नेछ । उक्त जलविद्युत् आयोजना सन् २०२४ अगस्तमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित : मंसिर २५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?