कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

हिमाली जिल्लामा व्यावसायिक आँप खेती

राजबहादुर शाही

(मुगु) — हिमाली जिल्लामा प्राय: स्याउ फल्छ । अब १२ सय मिटरसम्मको तल्लो भूभागमा आँप पनि फल्न थालेको छ । जिल्लाको खत्याड गाउँपालिका ८ सुकाढिकका केही किसानले व्यावसायिक रूपमै आँप खेती सुरु गरेका छन् । फल्न अनुकूल हुने गरी तापक्रम बढेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

खत्याडका गणेश गिरीले बारीमा ६ वर्षदेखि आँप फलाइरहेका छन् । बारीमा आँपका चार वटा रूख छन् । केही वर्षयता लटरम्म आँप फलेपछि बिक्री गरी राम्रो आम्दानी लिन थालेका छन् । सुकाढिक गाउँकै दान गिरी, धनराज कार्की, टक्क डाँगर, वीरबहादुर कार्की र राजबहादुर कार्कीलगायतले पनि आँप फलाएका छन् । रहरले बिरुवा ल्याएर रोपेकाहरूले पछिल्ला केही वर्षयता आँप राम्रो फल्न थालेको बताए । यो वर्ष गाउँका ११८ घरधुरीले आफ्नै लगानीमा आँपका करिब एक हजार बिरुवा रोपे ।


गिरीले हरेक वर्ष तीन क्विन्टलसम्म आँप बिक्री गर्दै आइरहेको बताए । उनको बारीमा फलेका आँप स्थानीय बजारमा प्रतिदाना २० रुपैयाँमा बिक्री हुन्छ । पाँच वर्षयता आँपको उत्पादन राम्रो हुँदै आएको उनले बताए । सुकाढिकमा तराईमा हुने अनार, अम्बा र केरा पनि फल्न थालेको छ ।


स्थानीयले बारीमा आँप, अनार र केरालगायत फलफूल फल्न थालेपछि बर्सेनि नेपालगन्ज, दाङ र सुर्खेत गएर फलफूलका बेर्ना खरिद गर्दै रोप्ने क्रम बढेको छ । साबिक कर्णालीका पाँच जिल्लामध्ये मुगुको सुकाढिक गाउँमा मात्र आँप फल्ने गरेको स्थानीय टक्क डाँगरले बताए । ‘हाम्रो गाउँमा आँप पाक्छ भन्दा कसैले पत्याउँदैनन्,’ उनले भने, ‘यहाँ आएर देखेपछि भने दंग पर्छन् ।’ आफ्नो बारीमा आँपका ५० बोट लगाएको उनले बताए । आँप पाक्ने मौसममा बाजुराको बोल्डिक, धिम र फैतीलगायत गाउँका बासिन्दा सुकाढिकमा खरिदका लागि आउने गरेका छन् ।


सुकाढिकमा आँप फल्न थाले पनि जिल्ला कृषि विकास कार्यालयले थप अनुसन्धानमा ध्यान नदिएको स्थानीय राजबहादुर कार्कीले बताए । ‘कुन जातको आँप फल्यो र कसरी बढी फलाउने भन्ने चिन्तामा किसान हुन्छौं,’ उनले भने, ‘प्राविधिक सहयोग मात्रै उपलब्ध गराऊ भन्दा पनि कृषि कार्यालयले ध्यान दिएन ।’ गोडमेल र काँटछाँटको विधि थाहा नहुँदा व्यावसायिक तरिकाले आँप फलाउन चाहनेलाई समस्या भइरहेको उनको गुनासो छ ।


उन्नत जातका बिरुवा वितरण भए धेरै किसान व्यावसायिक आँप खेतीमा लाग्ने उनको भनाइ छ । ‘हाम्रो गाउँबाहेक जिल्लामा अन्त आँप नहुने भएकाले बजारमा बिक्दैन भन्नुपरेको छैन,’ उनले भने । खत्याडको रातापानी, तलिबगर, हयाङलु, सोरु गाउँपालिकाको फोतु, सिप, तारापानी र लिब्रु रावलबाडालगायत गाउँमा सुन्तला उत्पादन हुने गरेको छ । २६ सय मिटरभन्दा माथि स्याउ फल्ने गरेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केबी रोकायाले बताए । ‘बर्सेनि जिल्लाको हावापानीमा परिवर्तन भइरहेको छ,’ उनले भने, ‘तराईमा हुने फलफूल र तरकारी हाम्रा लेकाली बस्तीमा फल्न थालेपछि किसान क्रमश: व्यावसायिक बनिरहेका छन् ।’ बर्सेनि कार्यालयले किसानलाई सुन्तला, कागती र स्याउलगायत बिरुवा अनुदानमा वितरण गरिरहेको उनले बताए ।


प्रकाशित : मंसिर २२, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?