कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोवल आइएमई र जनता बैंकको एकिकृत कारोबार सुरु 

विमल खतिवडा

काठमाडौँ — ग्लोबल आइएमई र जनता बैंकले शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुबै ‘क’ बर्गका वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको नामबाट बैंकिङ कारोबार सुरु भएको हो ।

ग्लोवल आइएमई र जनता बैंकको एकिकृत कारोबार सुरु 

मर्जर अनुरोध नमाने कठिन अवस्था आउनेछ : अर्थमन्त्री


विमल खतिवडा

जनता बैंक र ग्लोबल आईएमई बैंकले एकीकृत कारोबार थालेका छन् । अर्थमन्त्री युवराज खतिवडाले कमलादीस्थित ग्लोबल आईएमईको कर्पोरेट कार्यालयमा शुक्रबार एकीकृत कारोबारको उद्घाटन गरे । मर्जरपछि नेपालकै ठूलो र मजबुत बैंक बन्ने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ग्लोबल १३ वर्ष र जनता १० वर्षअघि स्थापना भएका बैंक हुन् ।


मर्जरपछि बैंकको प्राथमिक पुँजी २४ अर्ब, कुल निक्षेप २ खर्ब १३ अर्ब, कुल कर्जा १ खर्ब ९४ अर्ब र ८ सय ४० सेवा केन्द्र हुने अध्यक्ष ढकालले बताए । देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा बैंकका ३ सयभन्दा बढी शाखा र ३ हजार २ सय ५० कर्मचारी छन् ।


२ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा, ३३ वटा एक्सटेन्सन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित ८४० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइएको बैंकले जनाएको छ । गत आर्थिक वर्षमा दुवै बैंकले ३ अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याएको जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले बताए । बैंकको ३ लाख ५० हजारभन्दा बढी पब्लिक सेयर छ । ‘मर्जपछि बैंक नेपालकै ठूलो तथा मजबुत बनेको छ,’ रायमाझीले भने, ‘ग्राहक २० लाखभन्दा बढी पुगेका छन् ।’


०७६/७७ को बजेट वक्तव्यमार्फत बैंक तथा वित्तीय संस्था गाभिन प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार दुवै बैंकले मर्जरको प्रक्रिया अघि बढाएका हुन् । यी बैंक गाभिन ०७६ असार २० गते प्रारम्भिक समझदारी भएको थियो । मर्जरका लागि बैंकलाई राष्ट्र बैंकबाट असोज ८ मा सैद्धान्तिक सहमति प्राप्त भएको थियो । मंसिर १३ मा राष्ट्र बैंकबाट मर्ज भएको अन्तिम स्वीकृति प्राप्त भएको बैंकले जानकारी दिएको छ ।


मर्जरपछि अध्यक्षमा आईएमईकै ढकाल र जनताका अध्यक्ष रायमाझी सञ्चालक समितिमा रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने परशुराम कुँवर रहनेछन् ।


मर्जरमा जान आग्रह

एकीकृत कारोबार उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थालाई मर्जमा नआए पछि कठिन अवस्था आउने चेतावनी दिएका छन् । ‘हाम्रो अनुरोध पालना नगरे भविष्यमा कठिन अवस्था आउँदा सरकार र राष्ट्र बैंकले सुन्ने दिन टाढा पुगिसक्नेछ,’ उनले भने ।


स्वैच्छिक मर्जर सबैभन्दा राम्रो उपाय रहेको र त्यसको सुरुवात भइसकेको उनले बताए । मर्ज भएर कारोबार सुरु गरेको ग्लोबल आईएमई बैंक विदेशी वित्तीय संस्थाहरूबाट बढी स्रोत परिचालन गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ । मर्ज हुनुको विकल्प नभएको र लहड एवं घमण्डले अब बैंक नचल्ने उनले बताए । ‘रहर नभएर बाध्यताले लहडमा बैंक चलाउन आएका साथीहरूलाई निस्कने यो राम्रो बाटो हो,’ उनले भने, ‘अहिलेसम्म उन्मुक्ति पाउनुभएको छ, नत्र १० वटा प्रश्न, १० मुद्दा थेग्नुपर्ने हुन्थ्यो ।’


बैंकर मात्रै समृद्ध भएर मुलुक समृद्ध नबन्ने उनले बताए । ‘कुनै बैंकमा सातौं/आठौं तहमा काम गरेको व्यक्ति अर्को बैंकको सीईओ भइहाल्नुभयो । अर्को बैंकमा झन् धेरै रकममा सीईओ हुनुभयो । मासिक ५० हजार रुपैयाँ लिइरहेको मान्छे ३ देखि ५ लाख रुपैयाँ लिने हुनुभयो,’ उनले भने, ‘१० वर्षमा दस गुणा तलब बढेर तपाईं धनी बनिहाल्नुभयो ।’ तर, मुलुक समृद्ध हुनलाई व्यवसायी, लगानीकर्ता र निक्षेपकर्ता पनि समृद्ध हुनुपर्ने उनको भनाइ छ ।

बैंकहरूको तरलतामा कमी नआओस् भनेर स्रोत उपलब्ध गराउन लागिएको खतिवडाले बताए । ‘सरकारको खर्च बढाउँदै छौं, सरकारी ट्रेजरीमा पैसा बसेर बैंकको तरलतामा कमी नआओस् भनेर स्थानीय तहको ट्रेजरीको पैसा ५० प्रतिशतसम्म बैंकमै राख्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसमा अझै पनि पुनरावलोकन गरेर बैंकहरूलाई स्रोत उपलब्ध गराउन सकिनेछ ।’


कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले राष्ट्र बैंकले केही वर्षअघिदेखि लिएको नीतिअनुसार दुई बैंक गाभिएको बताए । ‘यो अन्य बैंकका लागि सन्देश पनि हो,’ अन्य बैंकलाई लक्ष्य गर्दै उनले भने, ‘त्यसैले समयमै सोचेर निर्णय लिइहाल्नुस् ।’ राष्ट्र बैंकले कुनै पनि नीति लिँदा दीर्घकालीन अवस्थालाई अध्ययन गर्ने गरेको र मर्जर नीति पनि त्यहीअनुसार आएको उनको भनाइ छ । डिजिटलाइजेसनमा बैंकहरूले अत्यन्त न्यून खर्च गर्दै आएकाले त्यसमा खर्च बढाउन उनको आग्रह छ । ‘बैंक नियमन निकायको प्रमुख भएर भन्न पनि लाज लागेको छ,’ उनले भने, ‘बैंकमा काम गर्ने कर्मचारीलाई चेक बुक कसलाई दिनुपर्छ भन्नेसमेत थाहा छैन । यो जस्तो लाजमर्दो के हुन्छ ?’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज हुनु खुसीको कुरा रहेको बताए । वित्तीय संस्थालाई ठूलो, बलियो र विश्वासिलो बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘मर्जरमार्फत ठूला र बलिया संस्था बन्न थालेपछि पूर्वाधारमा लगानी बढ्ने अपेक्षा छ,’ उनले भने, ‘त्यसैले उद्योगी व्यवसायी आशावादी छौं, बैंकले साना, मझौला र कृषि उद्यमीलाई सहज पहुँच दिओस् ।’


नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानलगायतले बैंक मर्जरमा गएकामा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?