कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापार बढायो सागले

नुमा थाम्सुहाङ

भुटान र नेपालबीच मंगलबार भएको पुरुष फुटबलको खेल हेर्न आएका नखिपोटका राजमान सुनुवार खेलको दोस्रो हाफमा बाहिर निस्केर नेपाली खेलाडीलाई समर्थन गर्न गलबन्दी लिए  । ‘नेपालले जित्छ भन्ने विश्वास भएपछि बीचैमा निस्किएँ  ।

व्यापार बढायो सागले

अहिले यो खेलमा नेपालले भुटानविरुद्ध दुई गोल लगाइसक्यो, नेपालले अब जित्छ,’ उनले भने, ‘नेपाललाई अर्को खेलमा समर्थन गर्न गलबन्दी पनि किनें ।’


नेपालले भुटानविरुद्ध चार गोल गर्दै जित हासिल गरेर उनले मात्र नभई नेपाली खेलाडीलाई गरेको विश्वास खेर गएन । अर्को खेलमा नेपाली खेलाडीलाई समर्थन गर्ने उनको इच्छा पनि पूरा हुनेछ । नेपाली खेलाडीलाई समर्थन गर्ने यो एक माध्यम भएको उनले बताए ।


कुनै समय दिनको २० हजार रुपैयाँ व्यापार गर्ने स्पोटर्स लिंककी सञ्जु श्रेष्ठले १३ औं साउथ एसियन गेम (साग) सुरु भएसँगै दिनकै ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म कारोबार गर्दै छिन् ।


दशरथ रंगशाला त्रिपुरेश्वरमा १२ वर्षदेखि विभिन्न खेल सामग्री बिक्री गर्ने उनी भन्छिन्, ‘सागले हाम्रो कारोबार बढेको छ । अहिले सबैले नेपाललाई समर्थन गर्न नेपाली राष्ट्रिय झन्डा अंकित गलबन्दी, टिसर्ट, झन्डा किन्छन् । यसमा पनि गलबन्दी र झन्डा बढी रुचाइरहेका छन् ।’ सागले खेलकुद सामग्रीको कारोबार मात्र नभई पसलको प्रचारप्रसार भएको बताउँछिन् ।

‘खेलको समयमा प्रायजसो मानिसहरू खेल हेर्नमा बढी केन्द्रित हुन्छन्,’ उनले भनिन्, ‘तर, त्यो समयमा हाम्रो पसलतिर पनि आउँछन्, त्यसले पसलमा यो खेलकुद सामग्री पाइने उनीहरूलाई थाहा हुन्छ । यसले पसलको ब्रान्डिङसमेत हुन्छ ।’


नेपालले खेलेको नतिजाअनुसार राम्रै प्रदर्शन भएकाले व्यापारमा सकारात्मक प्रभाव पर्ने उनले बताइन् । उनले सबै नेपालीको क्षमताअनुसार ३ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्मको झन्डा, टिसर्ट र गलबन्दीजस्ता सामान बिक्री गरिरहेको सुनाइन् । अहिले उनको पसलमा दिनको सयभन्दा बढी ग्राहक आउँछन् । सबैले नेपाललाई समर्थन गर्न नेपाली राष्ट्रिय झन्डा अंकित भएको सामान खोज्छन् ।


त्रिपुरेश्वरको स्काई ब्रान्ज नेपालका सञ्चालक मनोज श्रेष्ठले गएको भूकम्पले क्षति पुर्‍याएपछि पहिलो पटक दशरथ रंगशालामा खेल आयोजना गरिँदा खेलप्रेमीहरूमाझ खेलको उत्साह
बढ्दो रहेको बताए । दिनको ५० हजार रुपैयाँ कारोबार गरिरहेका उनी भन्छन्, ‘खेलकुदको सामग्री व्यापार अरू बेला नि सामान्य नै हुन्छ, यस्ता खेलले अझ राम्रो र प्रचारमा समेत सहयोग हुन्छ ।’ टिसर्टको ८ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको उनले बताए ।


मंगलबारको खेलमा फुटबेल प्रेमीहरूले नेपाली राष्ट्रिय फुटबल खेलाडीले लगाउने पोसाक खोजे पनि त्यो नभएकाले नेपाली राष्ट्रिय झन्डा भएको टिसर्ट नै बिक्री गरिरहेको बताउँछन् । ‘हामीसँग त्यो पोसाक छैन, त्यसको नक्कली पनि बेच्न प्रतिबन्ध छ,’ उनले भने, ‘त्यसैले सामान्य टिसर्ट नै बेचिरहेका छौं । यसमा पनि टेबलमा राख्न मिल्ने नेपालको सानो झन्डा, जर्सी मन पराउँछन् ।’


स्नातक तह दोस्रो वर्षमा आरआर क्याम्पसमा अध्ययनरत सञ्जयकुमार यादवलाई पनि नेपाली राष्ट्रिय टोलीले लगाउने पोसाक लगाउने धोको भए पनि त्रिपुरेश्वरमा नपाएकाले सामान्य टिसर्टमै चित्त बुझाएको बताए । ‘आज (मंगलबार) को फुटबल हेर्न आएको थिएँ, टिसर्ट नि लाउन मन थियो तर पाइएन,’ उनले भने ।


‘रंगशालामा खेल सञ्चालन भएमा बिस्तारै खेलकुद सामग्रीको व्यापार राम्रो हुने आशा छ,’ सलिम स्पोटर्स इन्टरप्राइजेज त्रिपुरेश्वरकी सरिता बज्राचार्यले भनिन् । फुटबल, नेपालको झन्डा भएको ब्याज, गलबन्दी, टिसर्ट नै मागमा रहेको उनले पनि सुनाइन् । उनले दैनिक २० हजार रुपैयाँको कारोबार गरिरहेकी छिन् ।

प्रकाशित : मंसिर १९, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?