कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सागमा सहभागीका लागि निःशुल्क फोरजी सिमकार्ड

रासस

काठमाडौँ — नेपाल टेलिकमले यही मंसिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण विदेशी खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । 

नेपाल टेलिकमको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जनाएको छ । मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने बताइएको छ ।


कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलमा ग्राहक सेवाका साथै फोरजीलगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टलसमेत राख्ने भएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्

कृष्णसार बचाउन चुनौती

कमल पन्थी

(बर्दिया) — दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार हेर्नुपरे मुलुकमै एक मात्र सुगम स्थान गुलरियाको खैरापुर हो । यहाँ निश्चित क्षेत्रफललाई तारबार गरेर वन्यजन्तु हुर्काइएको छ । यसलाई अवलोकन गर्न दिनहुँ सर्वसाधारण आउने गरेका छन् । 

आगन्तुकले रूपरंग र गतिविधि हेरेर रमाइलो मान्ने यो दुर्लभ वन्यजन्तु जोगाउन भने चुनौती बढ्दो छ । मानवीय अतिक्रमण, बस्तुभाउको चरन, भुस्याहा कुकुर र चितुवाको आक्रमण बढेपछि संरक्षणमा चुनौती बढेको हो । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ४५ वर्षअघि कृष्णसार लोप भएको अनुमान गरिएको थियो । कतै नदेखिएपछि हराइसकेको संरक्षणकर्मीले अड्कल गरेका थिए । त्यही बेला बर्दिया वन्यजन्तु आरक्ष स्थापना भयो । २०३२ असोजबाट यसको खोजी थालियो । संरक्षणकर्मीका अनुसार बाँके र बर्दियामा कृष्णसार खोजी गर्ने क्रममा गुलरिया–२ स्थित खैरी पण्डितपुरको वनमा एउटा सिङ भाँचिएको बूढो भाले, एउटा वयस्क भाले, तीनवटा पोथी र चार बच्चासहित नौवटा कृष्णसार फेला परे । तिनको संरक्षणका लागि तत्कालीन वन विभागको सुरक्षा पोस्ट खडा गरेको बर्दिया निकुञ्जले जनाएको छ । लामो प्रयासपछि अहिले भाले ४४, पोथी १ सय २५ र बच्चा ६५ गरी २ सय ३४ वटा कृष्णसार छन् । निकुञ्जका अनुसार कृष्णसार दुबो र काँस भएको मैदानमा बस्न रुचाउँछन् । गाई, भैंसी र भेडाबाख्रासँगै चर्न रमाउँछन् ।

बथानमा चरिरहेका कृष्णसार मानिस देख्नासाथ सुरक्षित स्थलतर्फ भाग्छन् । अन्य वन्यजन्तु र वस्तुभाउसँग चर्न मन पराउने भएकाले संरक्षित क्षेत्रमै गोठालाले बस्तुभाउ ल्याउने गर्छन् । घरपालुवा वस्तुभाउले कृष्णसारको आहारा खाने भएकाले दैनिक झगडा गर्नुपरेको संरक्षण केन्द्रका कर्मचारीले बताए । चितुवा र भुस्याहा कुकुरको आक्रमणमा वर्सेनि एक दर्जनभन्दा बढी कृष्णसारको मृत्यु हुने गरेको छ । सामुदायिक वनबाट निस्कने चितुवाको आक्रमणबाट गत साउनयता पाँचवटा कृष्णसार मारिएको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी मनराज मोक्तानले बताए । उनका अनुसार बर्सेनि १२ देखि १५ वटा कृष्णसार मारिने गर्छन् । अहिले भुस्याहा कुकुर नियन्त्रणमा आए पनि चितुवाले आक्रमण गर्न थालेको संरक्षण समितिका अध्यक्ष कृष्ण खनालले बताए । ०३२ सालमा नौवटा कृष्णसार रहेकोमा ०७१ मा ३ सय १ वटा पुगेका थिए । ०७१ साल साउन अन्तिम साता आएको बाढीले ४० वटा बगाएको थियो । ०७४ सालमा बाढीले १८ वटा कृष्णसार मारिएको संरक्षण समितिले जनाएको छ । कृष्णसार संरक्षण क्षेत्रसँग बबई नदी जोडिएका कारण पनि बाढी आउनासाथ कृष्णसार संरक्षण क्षेत्रलाई क्षति पुर्‍याउँदै आएको छ ।

सूचना अधिकारी लामाका अनुसार यसको एउटा भालेले प्रजननका लागि एक दर्जन पोथी खोज्ने गर्छ । एउटै भालेले दिनहुँ एक दर्जनभन्दा बढी पोथीलाई आफ्नै नियन्त्रणमा राख्ने गर्छ । आफ्नो नियन्त्रित क्षेत्रमा अन्य भालेलाई प्रवेश गर्न दिंदैन । बलियो भाले आयो भने लडाइँ हुन्छ । त्यसमा जित्नेले ती पोथीलाई नियन्त्रणमा राख्ने गरेको दुई दशकदेखि कृष्णसार संरक्षण क्षेत्रमा काम गर्दै आएका गेम स्काउट डुम चन्दले बताए । उनका अनुसार पूर्णिमा र अँधेरी रात प्रजनन्का लागि कृष्णसारलाई मन पर्ने समय हो । एउटा कृष्णसारले ६–६ महिनामा २/३ वटा पाठापाठी जन्माउँछन् ।

अतिक्रमण समस्या
गुलरिया नगरपालिका–२ खैरापुर फाँटस्थित कृष्णसार संरक्षण क्षेत्र ७ सय ८ बिघा क्षेत्रमा फैलिएको थियो । हाल करिब ३ सय ५० बिघा क्षेत्रफल अतिक्रमण भएर १ सय ४२ घरटहरा बनिसकेको छ । अतिक्रमण हटाउन पहल नभएकाले वन्यजन्तु संकटमा परेको छ । केही वर्षयता थप अतिक्रमण रोकिएको छ । तर, त्यहाँबाट हटाइएकाहरूको व्यवस्थापन नहुँदा उनीहरूको दृष्टि कृष्णसार क्षेत्रकै जग्गामा छ । ०६५ चैत ३ मा संरक्षण क्षेत्र घोषणाअघि ऐलानी जग्गामा बस्दै आएका ५३ घरधुरी पनि यहीँ छन् । ०६२/६३ को जनआन्दोलनका समय विभिन्न ठाउँबाट आएका ९३ जनाले संरक्षित क्षेत्रको जमिन कब्जा गरी अस्थायी टहरा बनाए । सरकारले यहाँ रहेका सुकुम्बासीका लागि अन्यत्र व्यवस्था गरे पनि छाडेर गएनन् ।

कृष्णसार संरक्षण समितिका पूर्वअध्यक्ष एवं गुलरिया–२ का वडाध्यक्ष टंक अधिकारीले केन्द्रले बस्ती अन्यत्र स्थानान्तरण गर्न समिति गठन प्रक्रिया अघि नबढाएका कारण समस्या भएको बताए । वर्दिया राष्ट्रिय निकुञ्जले कृष्णसारको वंश नै समाप्त गर्न अतिक्रमणकारी समूह लागिपरेको शंका गरेको छ ।

जमिन अतिक्रमण भएलगत्तै केही समयसम्म चोरी सिकारीले चारवटा कृष्णसार मारेर कान, नाइटो र पुच्छर काटेर लगेका थिए । त्यस अवधिमा भुस्याहा कुकुर, हुँडार र प्राकृतिक कारणबाट पाँचवटाको मृत्यु भएको थियो ।

कृष्णसारलाई संरक्षित वन्यजन्तु घोषणा गरे पनि संरक्षणका लागि सरकारले खासै पहल नगरेको वडाध्यक्ष अधिकारी गुनासो गर्छन् । चितुवा र स्याललगायतको आक्रमणले कृष्णसार मर्दै जाने हो भने केही वर्षभित्र निमिट्यान्न हुने स्थानीय जग्गु यादवले बताए । कृष्णसार एन्टीलोप (मृग) जातिको एक वन्यजन्तु हो । यसको वैज्ञानिक नाम सर्भिकापा हो । यसलाई अंग्रेजीमा ब्ल्याक बक भनिन्छ । नेपालबाट लोप हुन थालेका कारण यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको हो । पहिले तराइका धेरै भागमा पाइने उक्त वन्यजन्तु वासस्थान र आहाराको कमीले गुलरियाको खैरापुर क्षेत्रमा मात्र सीमित छ । ०५५ सालमा ३५ वटा कृष्णसार हराएका थिए । तिनीहरू भारतीय सीमा नजिक रहेको जंगलात क्षेत्र र कृष्णसार (काली मृग) संरक्षण केन्द्रमा गएको शंका स्थानीयले गरेका छन् । सामान्यत: भाले कृष्णसार पोथीभन्दा अलि ठूलो हुन्छ । भालेका दुईवटा सिङ बटारिएको हुन्छ तर पोथीको सिङ नै हुँदैन । जिल्ला वन कार्यालयदेखि पाँच किमि पश्चिम र राष्ट्रिय निकुञ्जबाट ५० किमि पूर्व–दक्षिणमा छ ।

प्रकाशित : मंसिर १४, २०७६ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×