कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ महिने व्यापार तथ्यांक : आयातित पाम तेलले बढायो निर्यात

अन्य मुलुकबाट पाम तेल नेपाल आयात गर्दा थोरै भन्सार लाग्छ । यहाँबाट भारत पठाउँदा भने भन्सार महसुल नलाग्ने गरेकाले निर्यात बढेको हो । 
राजु चौधरी

काठमाडौँ — व्यापारिक फाइदाका लागि पाम तेल तेस्रो मुलुकबाट आयात गरी फेरि त्यसैलाई प्रशोधन गरेर भारत निर्यात गर्ने क्रम बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यसको कारणले निर्यात २३ प्रतिशतले वृद्धि भएको देखिएको छ । कात्तिकसम्मको कुल निर्यात ३६ अर्ब २७ करोड रुपैयाँमध्ये पाम तेल मात्रै ८ अर्ब ३६ करोड रुपैयाको निर्यात भएको छ ।

४ महिने व्यापार तथ्यांक : आयातित पाम तेलले बढायो निर्यात

असोजसम्ममा ५ अर्ब ७५ करोडको पाम तेल निर्यात भएको थियो । एक महिनामै निर्यात २ अर्ब ६१ करोड रुपैयाँले बढ्दा समग्र निर्यातमा सुधार र व्यापार घाटामा समेत यसको प्रभाव परेको छ ।


भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार पाम भन्ने रूखबाट उत्पादन हुने वनस्पति तेलको कच्चा पदार्थ भारतमा अन्य मुलुकहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । ‘नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन,’ उनले भने । नेपालमा अन्य मुलुकबाट आयात गर्दा गुणस्तरको आधारमा ५/७ प्रतिशतसम्म भन्सार लाग्छ । अन्य मुलुकबाट नेपाल आयात गर्दा थोरै भन्सार लाग्ने र फेरि भारत निर्यात गर्दा भन्सार महसुल नलाग्ने गरेकाले व्यापारीहरूले ट्रान्जिट बनाई प्रशोधन गरेर यो तेल निर्यात गरिरहेका हुन् ।


‘निर्यात बढ्ने मुख्य भूमिका पाम तेलले निर्वाह गरेको छ,’ घिमिरेले भने, ‘मलेसिया र इन्डोनेसियाबाट कच्चा पदार्थका रूपमा आयातित पाम तेल प्रशोधन भएर निर्यात हुन्छ ।’ प्रशोधित पाम तेल भारत निर्यात भइरहेको छ । भारतमा निर्यात गर्दा भारतले कृषि वस्तुमा सहुलियत दिएको छ । नेपाल सरकारले पनि निर्यात बढाउन सहुलियत दिएको छ ।


विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा कुल ४ खर्ब ८६ अर्ब ५७ करोडको व्यापार भयो । जसमध्ये निर्यात व्यापार २३.९० प्रतिशत बढेको छ । आयात व्यापार ६.९२ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको ४ महिनामा २९ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको पाम तेल अहिले ३६ अर्ब रुपैयाँ नाघेको छ । आयात ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँबाट झरेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँमा पुगेको छ । निर्यातमा सुधार राम्रो देखिए पनि आयातित कच्चा पदार्थ प्रशोधन गरेर निर्यात हुँदा सन्तोष मान्न नसकिने जानकारहरू बताउँछन् । ‘भारतको नीतिका कारण केही फाइदा देखिए पनि फेरबदलले मुलुकलाई कुनै दिन नोक्सान हुन्छ । निर्यात बढे पनि स्वदेशी उद्योगको क्षमता बढेको देखिँदैन,’ अर्थविद् पोषराज पाण्डेले भने, ‘यस्तो अवस्थामा निर्यात बढेर सन्तोष मान्न सकिँदैन ।’


उनले भन्सार महसुलको अन्तरले पाम तेल निर्यातमा केही फाइदा भएको बताए । दिगो निर्यात वृद्धिका लागि गुणस्तरीय स्वदेशी उत्पादनको वृद्धि, उद्योग उत्पादन क्षमतामा विस्तार हुन जरुरी रहेको बताए । तथ्यांकअनुसार दोस्रोमा धागो निर्यात भएको छ । २ अर्ब ७९ करोड रुपैयाँको धागो निर्यात भएको देखिन्छ । अघिल्लो ३ महिनामा २ अर्ब १९ करोड रुपैयाँको निर्यात भएको थियो । व्यवसायीका अनुसार धागोको माग बंगलादेशमा अत्यधिक छ । निर्यात अवरोधको समस्याले निर्यात बढाउन नसकेको धागो उत्पादक संघले जनाएको छ । तेस्रोमा क्रमश: उनी गलैंचा/कार्पेट २ अर्ब ६२ करोड रुपैयाँ, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड रुपैयाँको निर्यात भएको छ । ४ महिनाको अवधिमा १ अर्ब ५४ करोड रुपैयाँको अलैंची, १ अर्ब ३० करोड रुपैयाँको फलफूलको जुस निर्यात भएको उल्लेख छ ।


आयातित वस्तुमध्ये पहिलो नम्बरमा डिजेल छ । सवारी साधनको मागसँगै डिजेलको खपत पनि बढेको छ । ३ महिनामा २० अर्ब १६ करोड रुपैयाँको आयात भएको डिजल ४ महिनाको अवधिमा २९ अर्ब २४ करोड रुपैयाँको आयात भएको छ । तयारी कपडा पनि उल्लेख्य रूपमा आयात भएको छ । पहिलो ३ महिनामा १० अर्ब ९० करोड रुपैयाँको आयात भएको तयारी कपडा ४ महिनाको अवधिमा १४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।


यस्तै एमएस बिलेटको आयातमा १२ अर्ब ७० करोड, पेट्रोलमा १२ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ । अर्थविद् पाण्डेका अनुसार पछिल्लो महिना अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले पनि व्यापारमा सुधार देखिएको हो । विभागको तथ्यांकअनुसार एचआरसीटमा ९ अर्ब ७७ करोड, हवाईजहाज र हेलिकप्टरको सामानमा ९ अर्ब २१ करोड, एलपी ग्यासमा ८ अर्ब ९० करोड, मोबाइल/टेलिफोनमा ८ अर्ब ६२ करोड, मोटरसाइकल खरिदमा ८ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । ४ महिनाको अवधिमा सबैभन्दा बढी वीरगन्ज भन्सार नाकाबाट आयात/निर्यात भएको छ । वीरगन्जबाट १ खर्ब ५२ अर्ब १२ करोड रुपैयाँको आयात र १० अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रोमा क्रमश: भैरहवा भन्सार कार्यालयबाट ७६ अर्ब ८५ करोड रुपैयाँको आयात र ९५ करोड रुपैयाँको निर्यात भएको छ । ड्राइपोर्टबाट ५६ अर्ब ५ करोडको आयात र ८३ करोडको निर्यात भएको उल्लेख छ ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?