कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैथाने बीउ संरक्षण गर्न सांसदको सुझाव

राजु चौधरी

काठमाडौँ — आयातित बीउले किसानहरू समस्यामा परेपछि सांसदहरूले रैथाने जातका बीउ संरक्षण गर्दै गुणस्तर बढाउन सुझाव दिएका छन् । बीउबिजन (दोस्रो सशोधन) विधेयक २०७५ सम्बन्धमा सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छलफलमा सांसदहरूले गुणस्तर बढाउन परीक्षण तथा अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका हुन् । 

भारतीय हाइब्रिड जातको धान रोपेका १३ जिल्लाका किसान पीडित भएपछि उनीहरूले रैथाने बीउलाई संरक्षण गर्न सुझाएका हुन् । ‘बीउबिजनको हकमा बीउ राम्रो भए बोट राम्रो हुन्छ । फल पनि राम्रो हुन्छ,’ सांसद शान्तिमाया तामाङले भनिन्, ‘रैथाने जातलाई संरक्षण गर्दै गुणस्तर बढाउन जोड दिऊँ । बीउको परीक्षण, बीउको अनुसन्धान महत्त्वपूर्ण कुरा हो, त्यसले बीउ आफैं निखारेर आउँछ ।’ नेपालमा संरक्षित बीउबिजन व्यवस्थित र संरक्षण नहुँदा समस्या भएको उनले बताइन । बीउबिजनको हकमा विज्ञहरूबाट पनि स्पष्ट धारणा आउन जरुरी रहेको उनले बताइन् ।


सांसद रेणु यादवले पनि बीउकै कारण बाली उत्पादन हुने मुख्य प्रदेश २ मा समस्या भएको बताइन् । ‘धानसँगै मकै बीउको पनि समस्या छ । सरकारले जिम्मेवारी लिएन,’ यादवले भनिन्, ‘अहिले अस्तव्यस्त छ । सरकारले माटो परीक्षणको पनि व्यवस्था गर्नुपर्छ । कुन माटोमा कुन बीउ/तरकारी खेती गर्ने पहिचान गर्नुपर्छ ।’ जानकारका अनुसार बीउसँगै मलखाद पनि पनि गुणस्तहीन भित्रिने गरेको छ ।


मल खाद्य पनि गुणस्तरहीन हुन थप जटिलता थपेको उनीहरूको दाबी छ । एग्रोभेटले राम्रो बीउ दिएका छैनन् । नक्कली बीउ वितरण हुँदा पनि नियमन हुन सकेको छैन । जिल्लाजिल्लामा भएको ज्ञान केन्द्र/शाखाले नियमन गर्न सकेको छैन । ‘माटो खाद्य/मल र बीउलाई संरक्षण गर्न नसके समस्या हुन्छ,’ यादवले भनिन्, ‘त्यतातिर पनि ध्यान दिनुपर्छ । यसका लागि विज्ञ टोलीको समिति गठन गर्नुपर्छ ।’


सांसद राजबहादुर बुढाले बीउबिजन क्षेत्रमा छाडा प्रवृत्तिले किसानलाई समस्या परेको बताए । उनले भने, ‘गुणात्मक हिसाबले महत्त्वपूर्ण जातलाई संरक्षण गरौं ।’


सांसद सीतादेवी यादवले पनि प्रदेश २ कृषिमै आश्रित भए पनि तरकारीदेखि अन्नबालीमा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताइन् । ‘भारतबाट खाद्य/मल आए उब्जनी हुन्छ । भारतले रोके उत्पादन हुँदैन,’ उनले भनिन्, ‘तरकारी, धान, माछालगायत क्षेत्रका लागि धेरै विज्ञ नियुक्त भएका छन् । कहाँ–कहाँ कस्तो भयो । नवनियुक्त कृषिमन्त्रीले विशेष ध्यान दिनुपर्छ ।’ उनले कृषिका क्षेत्रमा धेरै भ्रष्टाचार भएको बताउँदै स्थलगत निरीक्षण गरेर नीति बनाउनुपर्ने बताइन् । ‘५ हजार आँपको बीउ स्वीकृत हुँदा किसानले एक हजार पनि पाउन सकेनन्,’ उनले भनिन् ।


सांसद राधा ज्ञवालीले पनि बीउकै कारण किसानले ठूलो पीडा खेपेको बताउँदै सरकार सचेत हुनुपर्ने बताइन् । ‘सस्तोका कारण बीउ/मल आयात हुन्छ । परीक्षणबिना प्रयोग हुँदा किसान पीडामा परे,’ उनले भनिन्, ‘राम्रो बीउ ल्याएर संरक्षण पनि गर्न सकिन्छ । त्यसका लागि अध्ययन–अनुसन्धान बढी गर्नुपर्छ ।’ यसका लागि बजेटमै प्राथमिकता दिनुपर्ने उनले बताइन् । सासद सत्यनारायण शर्माले सस्तोको नाममा नक्कली बीउ आयात बन्द गर्नुपर्ने बताए । नक्कली बीउ आयात नियन्त्रण गर्न सरकारी निकायले तत्काल निरीक्षण गर्नुपर्ने बताए । ‘खाद्य भण्डार तराईमा धेरै छ । तर, नक्कली बीउका कारण तराई मारमा परेको छ,’ उनले भने, ‘बीउबिजनको हकमा भद्रगोल छ । कुन क्षेत्रमा कुन बीउ उचित हुन्छ, निर्धारण गर्नुपर्छ ।’


सांसद घनश्याम खतिवडाले पन बीउबिजन क्षेत्रमा देखिएको बेथितिलाई अन्त गर्नुपर्ने बताए । त्यस क्रममा नेपाल भेटेरिनरी एसोसएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठ नक्कलीबाट बच्न डीएनए फिंगर प्रिन्ट परीक्षण अनिवार्य हुनुपर्ने बताए । नक्कली बीउ वितरण प्रवृत्तिलाई निरुत्साहित गर्न सजायको दायरा बढाउनुपर्ने बताए ।


कृषिसचिव युवकध्वज जीसीले गुणस्तरको हकमा मन्त्रालय सचेत रहेको बताए । ‘गुणस्तरीय बीउको विषयमा चिन्तित छौं,’ सासदले उठाएको प्रश्नको जवाफ दिँदै सचिव जीसीले भने, ‘माटो परीक्षण पनि सँगसँगै हुन्छ । माटो परीक्षणका लागि माटो भ्यान ल्याब छ । मागको आधारमा माटो परीक्षण भइरहेको छ ।’ हाल बजारमा सूचीकृत नभएका बीउ छ्यापछ्याप्ती पाइन्छ ।


प्रकाशित : मंसिर १०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?