कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान खेतमा ‘आगो’

अर्जुन राजवंशी

(बिर्तामोड) — खैरो रङको फड्के किराले बाली नष्ट गरेपछि झापा बुद्धशान्ति गाउँपालिकाका किसानले धान खेतमा ‘आगो’ लगाएका छन् । किराको संक्रमणबाट फलेको धान सबै ‘भुस’ भएपछि बाली भित्र्याउने बेला धान नकाटी खेतमै आगो लगाएका हुन् । 

धान खेतमा ‘आगो’

‘धान कामै नलाग्ने भएपछि मैले खेतमै आगो लगाएँ,’ बुद्धशान्ति–४ का किसान धान्यप्रसाद खतिवडाले भने, ‘धान सबै भुस भयो । पराल पनि गाईवस्तुलाई खुवाउन नमिल्ने रे अनि आगो नलगाई के गर्नु ?’ १० कट्ठा जमिनमा लगाएको धान सबै किराले नष्ट गरेको उनले बताए । ‘मेरो जम्मा खेत १२ कट्ठा छ । दुई कट्ठाको ६ मन धान घर लगें । अरू सबै किराले नष्ट गरिदियो,’ उनले भने ।


वडा कार्यालयका अनुसार बुद्धशान्ति–४ को धर्ममार्ग टोलका १४, माथिल्लो पानीघट्टाका ११, सट्टाभर्नाका २३, अमरबस्तीका ४१, बाँझोखेतका २८ र वनडाँडाका २५ किसानले धान बाली नष्ट भएको भन्दै निवेदन दिएका छन् । ‘यो मंगलबारसम्मको तथ्यांक हो । पीडित किसानले निवेदन ल्याउने क्रम जारी छ,’ वडाध्यक्ष बुद्धिमान जबेगुले भने ।


किराको संक्रमणबारे किसानले धान काट्नुभन्दा १०/१५ दिनअघि मात्रै थाहा पाएका थिए । ‘धानको बोटको फेदमा ‘कालो ल्याउ’ लागेजस्तो भयो । २/३ दिनपछि त बोट पूरै सुक्यो,’ अर्का किसान टीकाराम गौतमले भने, ‘रोगबारे ज्ञान नहुँदा नियन्त्रण हुन सकेन ।’ धानमा लागेको रोग पत्ता लगाउन नसक्दा बाली सबै नष्ट गर्नुपर्ने बाध्यता भएको उनले बताए । गौतमले अधियाँमा १० कट्ठा जमिनमा खेती गर्दै आएका छन् । किराले ५ कट्ठा खेतमा लगाएको धान पूरै नष्ट भएको उनले दुखेसो गरे ।


अर्का किसान विजय उप्रेतीको भनाइ पनि उस्तै छ । ‘१२ कट्ठा खेतमा ४५/५० मन धान फल्थ्यो,’ उप्रेतीले भने, ‘यो वर्ष १२ मन मात्र धान भयो । भात खान यो वर्ष धान नकिनी उपाय छैन ।’ धान नष्ट गरेको किरा अझै खेतबारीमा जीवितै छ । किरा नमार्दा अर्को बालीलाई पनि क्षति पुग्ने किसान इन्द्रबहादुर खत्रीले बताए । ‘काटेको धानको गरा (फेद) मा किरा जीवितै भेटिन्छ । तर, किरा कसरी मार्ने भन्ने ज्ञान छैन,’ उनले भने ।


कृषि ज्ञान केन्द्र प्रमुख नीलकमल सिंहका अनुसार फड्के किराको संक्रमणबाट जिल्लामा २२५ बिघा धान बालीमा क्षति भएको छ । उक्त किराको संक्रमण जिल्लाको बुद्धशान्ति, हल्दीबारी, मेचीनगर ४, गौरीगन्ज १ लगायत स्थानमा देखिएको उनले बताए । किराको प्रकोपबारे ढिला गरी खबर प्राप्त गरेकाले नियन्त्रणको उपाय अपनाउन नसकेको बाध्यता सुनाए । केन्द्रका अनुसार भदौमा फौजी किराको संक्रमण देखिएको थियो । करिब २८३ हेक्टर धानबालीमा फौजी किराको संक्रमण थियो । ‘फौजी किराको संक्रमणबारे तत्काल जानकारी पाएकाले सबै उपाय अपनाएर नियन्त्रणको प्रयास भयो,’ सिंहले भने, ‘तर, फड्के किराबारे ढिला जानकारी पायौं । अहिले केही गर्न सकिएन ।’


धान उत्पादन घट्यो

जिल्लामा धान उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो वर्ष धान रोपाइँको क्षेत्रफल पनि घटेको थियो । ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत शेषराज पौडेलका अनुसार जिल्लामा ८४ हजार ८७५ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्ष ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । प्रारम्भिक प्रक्षेपणअनुसार यो वर्ष प्रतिहेक्टर ४.५ टन धान उत्पादकत्व रहेको छ । गत वर्ष धान उत्पादकत्व प्रतिहेक्टर ५.६ टन थियो । ‘यो वर्ष वर्षा पनि कम भयो । पर्याप्त पानी नहुँदा केही किसानले खेत बाँझै राखे,’ उनले भने, ‘सिजनमा मल पनि नपाएकाले उत्पादनमा असर पुग्यो ।’ पौडेलका अनुसार जिल्लामा ३ लाख ८१ हजार ९३७.५ टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?