कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानी छोकडा भारत तस्करी

जम्मु–कश्मीर प्रकरणपछि भारत र पाकिस्तानका बीचमा बढेको तनावले भारतमा छोकडा आयात बन्द छ । त्यसैले पछिल्लो समय पाकिस्तानी छोकडा वैधानिक बाटोबाट दिउँसो नेपाल आयात हुने र भित्रिएकै नाका आसपासबाट राति भारततर्फ तस्करी भइरहेको छ ।
पर्वत पोर्तेल

(काँकडभिट्टा) — पाकिस्तानबाट आयात गरिएको सुक्खा खजुर (छोकडा) को भारततर्फ तस्करी बढेको छ । मुलुकका विभिन्न भन्सार नाकाबाट आयात भइरहेको खजुर तस्करीको बाटो भारत जान थालेको हो । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चौमासिकमा करिब डेढ अर्ब मूल्यको १८ हजार टन खजुर आयात भएको छ । विभागका निर्देशक शिशिर घिमिरेले भारतसँग सीमा जोडिएका तराईका पाँच मुख्य भन्सार नाकाबाट पाकिस्तानी खजुर आयात भइरहेको बताए । खजुर आयातबापत साढे ३२ करोड रुपैयाँ राजस्व असुली भएको छ ।


चार महिनामा वीरगन्ज नाकाबाट सबैभन्दा बढी ७० करोड १७ लाख रुपैयाँको ८१ लाख ८ हजार १ सय २५ किलो खजुर आयात भएको छ । यस्तै सुख्खा बन्दरगाहबाट ५१ करोड ८४ लाख ३ हजार ६ सय ६ रुपैयाँको ७४ लाख २५ हजार २३ किलो भित्रिएको छ । नेपालगन्ज नाकाबाट ३० लाख ४८ हजार रुपैयाँ बराबरको ५ लाख ८५ हजार ५ सय ४ किलो भित्रिएको छ ।


पूर्वका मुख्य भन्सारहरू विराटनगर र मेचीबाट समेत उल्लेख्य मात्रामा खजुर आयात भएको देखिएको छ । विराटनगरबाट १५ करोड ३७ लाख ९५ हजार ९ सय ५५ रुपैयाँ मूल्यको १७ लाख ३४ हजार ७ सय ९० किलो आयात भएको विराटनगर भन्सारका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए ।


मेची भन्सारबाट अढाई करोडभन्दा बढी रुपैयाँको ३ लाख १२ हजार ३ सय ५० किलो खजुर आयात भएको छ ।


भन्सार विभागका अनुसार पाकिस्तानबाट अन्य सामान बाक्लै आयात भए पनि खजुर भने पहिलो पटक भित्रिएको हो । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार गत साउनदेखि नै छोकडा आउने क्रम जारी छ । उनी भन्छन्, ‘थेग्नै गाह्रो हुने गरी आएको आएकै छ ।’


दिउँसो आउँछ, राति जान्छ

गत मंसिर २९ मा बाराको सिम्रौनगढ नगरपालिका–७ सतुआही नाकामा छोकडा कारोबारी र सशस्त्र प्रहरीबीच रातको समयमा झडप नै भयो । भारतसँग सीमा जोडिएका तराईका विभिन्न नाकामा यस्ता घटना अक्सर हुने गर्छन् । खुला सिमानाको फाइदा उठाउँदै विगत लामो समयदेखि सीमा नाकाबाट चोरी तस्करी हुँदै आएको छ । यही सिलसिलामा कारोबारी र सुरक्षाकर्मीबीच ‘नोकझोक’ हुनु सामान्य नै हो ।


पछिल्लो समय पाकिस्तानी छोकडा आयात हुने र तस्करी भएर भारत पुर्‍याउने क्रम तीव्र छ । दिनमा वैधानिक बाटोबाट आयात हुन्छ । भित्रिएकै नाका आसपासबाट राति पुन: बाहिरिन्छ । खासमा तेस्रो देशबाट नेपालका लागि भनेर वस्तु आयात गर्ने र पुन: भारत तस्करी गर्ने चलन पुरानै हो । तर, तेस्रो देशबाट आयातित वस्तु अन्यत्र निर्यात गर्न मिल्दैन । वैधानिक रूपमा त निर्यात हुँदैन । तर, अवैध रूपमा तेस्रो देशबाट आयातित धेरैजसो वस्तु पुन: भारत पुग्छ ।


दोब्बर नाफा

भन्सार विभागले आयातलाई निरुत्साहित पार्न मूल्यांकन वृद्धि गरी प्रतिकिलो ४५ रुपैयाँ कायम गरेपछि सुपारीको आयात अहिले गिर्दो छ । सुपारीको आयात घटेसँगै देशका विभिन्न नाकाहरूबाट पाकिस्तानी छोकडाको आयात बढेको छ । खजुरअघि मरिच र केराउको आयात पनि बढेको थियो ।


भन्सार विभागका अनुसार छोकडा आयातमा १० प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत भ्याट गरेर २८ प्रतिशत ड्युटी लाग्छ । नेपाल आइपुग्दा प्रतिकिलो ११० रुपैयाँ खर्च पुग्छ । यही वस्तु भारत पुर्‍याउँदा भने दोब्बर नाफा हुन्छ । भारतमा हाल छोकडा प्रतिकिलो २६० (नेरु) मा बिक्री भइरहेको छ । पाकिस्तानमा छोकडाको खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ पर्छ । एक कारोबारीका अनुसार सुरक्षा निकाय, भरिया, ढुवानीलगायत खर्च कटाएर पनि प्रतिकिलो सय रुपैयाँ जति ‘मार्जिन’ बस्छ ।


भिजन इन्टरनेसनल भद्रपुर, कुवेर एक्जिम काठमाडौं र मीरा ट्रेडिङ शनिश्चरे झापा नामका फर्महरूले मेची भन्सार नाकामार्फत छोकडा आयात गरिरहेका छन् । आयातित छोकडा गोदाममा संकलन गरी अवैध रूपमा भारत पठाइन्छ ।


पाकिस्तानमा व्यावसायिक छोकडा खेती हुन्छ । पाकिस्तानमा सबैभन्दा बढी उत्पादन हुने फलफूलमा छोकडा तेस्रो नम्बरमा पर्छ । मुख्यत: छोकडा उत्पादन जुलाईमा सुरु हुन्छ र सेप्टेम्बरसम्म चल्छ । पाकिस्तानका चारै प्रान्तका करिब ७५ हजार हेक्टरको क्षेत्रफलमा यसको खेती गरिएको छ । पाकिस्तानमा वार्षिक ५ लाख ५० हजारदेखि ६ लाख ५० हजार टनसम्म उत्पादन हुने गरेको छ । कुल उत्पादनको करिब ५ प्रतिशत स्वदेशमा खपत हुन्छ । ५ प्रतिशत बेलायत, टर्की, जर्मनी, बंगलादेशलगायत मुलुकमा निर्यात हुन्छ । बाँकी ९० प्रतिशत भारत निर्यात हुन्थ्यो । भारत–पाकबीचको सम्बन्ध चिसिएपछि भारत पठाउने छोकडा पाकिस्तानले नेपाल पठाइरहेको छ ।


जम्मु–कश्मीर फ्याक्टर

जम्मु–कश्मीरबाट संविधानको धारा ३७० अन्तर्गतको विशेष अधिकार खारेज गरी गत अगस्तमा केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) मा गाभ्ने भारतको निर्णयलगत्तै पाकिस्तान आक्रोशित बन्यो । एक अर्कालाई ‘शत्रु’ ठान्ने भारत र पाकिस्तानबीचको दरार जारी नै छ । उनीहरू बीचको शत्रुता यसरी बढ्यो कि दुई देशबीचको व्यापार नै अवरुद्ध बन्न पुग्यो ।


भारतले पाकिस्तानबाट छोकडा, ऊन, कच्चा कपास, अल्कोहल, चिकित्सा उपकरण, छालालगायतका वस्तु आयात गर्दै आएको थियो । जसमध्ये सबैभन्दा बढी खजुर आयात गर्थ्यो । भारतमा पाइने सबै किसिमका छोकडा पाकिस्तानकै उत्पादन हुन् । खासगरी ताजा र सुक्खा छोकडा पाकिस्तानले निर्यात गर्छ ।


पाकिस्तानमा उत्पादिन कुल छोकडामध्ये ९० प्रतिशत भारत निर्यात हुन्थ्यो । बाँकी १० प्रतिशत बेलायत, टर्की, बंगलादेशलगायतका मुलुक निर्यात हुने पाकिस्तानको खजुर निर्यातकर्ता कम्पनी एसिया फ्रुट इन्टरनेसनलको वेबसाइटमा उल्लेख छ ।


दुई देशबीचको व्यापार अवरुद्धपछि भारतमा छोकडाको माग उच्च छ । मूल्य पनि बढेको छ । ‘पाकिस्तानबाट आउन छाडेपछि बजार भाउ पनि दोब्बर भएको छ,’ भारतको सिलिगुडीका व्यवसायी रामकृष्ण साहले भने, ‘माग बढेपछि मूल्य बढ्छ अनि तस्करी पनि ।’ उनका अनुसार पहिला प्रतिकिलो भारु ८० खरिद बिक्री हुने छोकडाको भाउ अहिले दोब्बर (१६० भारु) पुगेको छ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?