कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा सुन्तला

(हुम्ला) — हिमाली जिल्ला हुम्लामा सुन्तलाको उत्पादन सुरु भएको छ । सर्केगाड गाउँपालिकाको गोठी गाउँमा गरिएको परीक्षण सफल भएपछि सुन्तलाको उत्पादन थालिएको हो । 

परीक्षणका लागि लगाइएका सुन्तला लटरम्म छन् । गोठीमा १० बोट सुन्तलाको सफल परीक्षण गरिएपछि किसान व्यावसायिक खेतीका लागि योजना बनाइरहेको स्थानीय सीता शाहीले बताइन् ।


उनका अनुसार विभिन्न जातका १० बोट सुन्तला लगाइएकामा चार बोटमा फल्न सुरु भएको हो । ‘सुन्तला पाक्न थालेको छ । अन्य बोटमा पनि अर्को वर्षभित्र फल लाग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘हिमाली जिल्लामा पहिलोपल्ट सुन्तला उत्पादन हुँदा सबै दंग छौं । गाउँमा व्यावसायिक सुन्तला खेतीको योजना अगाडि सारिएको छ ।’ कृषि प्राविधिक रुद्रबहादुर शाहीका अनुसार समुद्र सतहदेखि १ हजार २ सय मिटरदेखि १ हजार ४ सय मिटरसम्ममा मात्र यसअघि सुन्तला फल्दै आएको थियो ।


उनले २ हजार मिटर उचाइमा सुन्तलाको सफल परीक्षण भएको जनाए । जलवायु परिवर्तनको प्रभावका कारण हिमाली जिल्लामा सुन्तला फल्न लागेको उनको अनुमान छ । उनले गाउँमा सुन्तलाका बोट वितरण गर्न गाउँपालिकाले योजना बनाएको जानकारी दिए ।


‘मौसममा आएको फेरबदलले सुन्तला बढी उचाइमा पनि सरेको अनुमान छ,’ उनले भने, ‘फल्न सुरु भएको छ, थप अनुसन्धान पनि गरिरहेका छौं ।’ उनले विज्ञहरूसँग आवश्यक छलफलपछि किसानलाई सुन्तलाको बेर्ना किसानलाई वितरण गरिने जानकारी दिए ।


प्रकाशित : मंसिर ३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?