कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घट्यो बैंकको नाफा वृद्धिदर

सञ्चालनमा रहेका २८ मध्ये ८ बैंकको खुद नाफा पहिलो त्रैमासमा घटेको छ 
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा करिब ५ प्रतिशतले मात्र बढ्यो । गत वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धिदर उल्लेख्य रूपमा घटेको हो । गत वर्ष पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा ४६ प्रतिशतले बढेको थियो । सञ्चालन मुनाफामा कमी, कर्जा निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घट्नु, सञ्चालन खर्च बढ्नुलगायत कारण नाफा वृद्धिदर घटेको बैंकर बताउँछन् ।

घट्यो बैंकको नाफा वृद्धिदर

गएको तीन महिनामा २८ वाणिज्य बैंकले कुल १६ अर्ब १७ करोड रुपैयाँ कुल नाफा कमाएका छन् । गत वर्षको असोजसम्म ती बैंकको यस्तो नाफा १५ अर्ब ४१ करोड रुपैयाँ थियो । त्रैमासिक रूपमा बैंकको खुद नाफा वृद्धिदर हालसम्मकै कम भएको जानकारहरू बताउँछन् । अप्ठेरो परिस्थितिमा पनि उच्च नाफा कमाएको आरोप बैंकलाई लाग्दै आएको छ । अघिल्ला वर्षमा नाफाको वृद्धिदर उच्च रहँदै आएकाले सो आरोप वास्तविकजस्तै देखिए पनि अहिले परिस्थिति बदलिएको बैंकहरू बताउँछन् ।


स्प्रेड दरमा कमी, लगानीयोग्य रकम (तरलता) अभाव र उच्च प्रतिस्पर्धाका कारण नाफा वृद्धिदर घटेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘बैंकहरूको नाफा दर कम हुँदै गएको छ, खर्च निरन्तर बढ्दो छ,’ उनले भने, ‘बजारको परिस्थितिअनुसार हालको नाफा वृद्धिदर स्वाभाविक हो ।’ बजारमा यस्तै अवस्था रहिरहे आउँदा दिनमा पनि नाफामा उल्लेख्य बढोत्तरीको सम्भावना कम रहेको उनले बताए । ‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले स्प्रेड दर साढे ४ प्रतिशतमा झार्नुपर्नेछ,’ उनले भने, ‘यसले नाफामा प्रत्यक्ष प्रभाव पार्छ ।’ पहिलो त्रैमासमा नाफामा कमी आउनुमा तरलताभन्दा पनि अरू पक्षको प्रभाव धेरै रहेको उनले बताए ।


तोकिएको अवधिमा वित्तीय संस्थाले कति नाफा कमाए भनेर हेर्नका लागि तीनको सञ्चालन नाफा हेर्नुपर्छ । सञ्चालन नाफाले सो अवधिमा भएका वित्तीय गतिविधिबाट मात्र आर्जन गरेको नाफा देखाउँछ । सञ्चालन नाफामा कर र विभिन्न कोष कट्टी कटाएर खुद नाफा गणना गरिन्छ । खुद नाफामा बैंकको खराब कर्जा असुलीलगायत अन्य आय पनि जोडिन्छ ।


यो वर्ष बैंकहरूको सञ्चालन नाफा वृद्धिदर औसतमा ०.०६ प्रतिशत मात्र छ । यो वृद्धिदर त्रैमासिक रूपमा सम्भवतः हालसम्म कम भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘पहिलो त्रैमासको सञ्चालन नाफा वृद्धिदर यसअघि यति कम थिएन,’ उनले भने, ‘बढ्दो सञ्चालन खर्च, तीव्र प्रतिस्पर्धा, शाखा सञ्जाल विस्तारलगायत कारण नाफा वृद्धिदर खुम्चिएको हो ।’ बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कुल सञ्चालन नाफा २५ अर्ब ६४ करोड रुपैयाँ छ । ०७५ असोजसम्म यस्तो नाफा २५ अर्ब ६२ करोड रुपैयाँ थियो ।

यो वर्षको तीन महिनामा नाफा वृद्धिदर धेरैले घटेको देखिए तीन वटा बैंकले १ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक हो । यो बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा थोरै बढी हो । ०७५ को पहिलो त्रैमासमा यो बैंकको खुद नाफा १ अर्ब ११ करोड रुपैयाँ थियो ।


निजी बैंकमध्ये नबिल र एनआईसी एसियाको खुद नाफा १ अर्बभन्दा बढी छ । तीन महिनामा १ अर्ब १२ करोड रुपैयाँ कमाएर नबिल बैंक निजी बैंकमध्ये सबैभन्दा अघि छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको नाफा करिब ७ करोडले बढेको छ । गत वर्ष यो बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ थियो ।


नाफा वृद्धिदरका हिसाबले एनआईसी एसिया बैंकले यो त्रैमासमा राम्रो प्रगति गरेको देखिन्छ । तीन महिनामा यो बैंकको नाफा १ अर्ब रुपैयाँ छ । गत वर्षको तुलनामा बैंकको नाफा ३४ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा यो बैंकको नाफा ७५ करोड २७ लाख रुपैयाँ थियो । यी तीनबाहेक सबै बैंकको खुद नाफा अर्बभन्दा कम छ । सञ्चालनमा रहेका २८ बैंकहरूमध्ये ८ बैंकको खुद नाफा पहिलो त्रैमासमा घटेको छ । बाँकी २० को बढेको छ ।


विगतमा जस्तै यो वर्षको पहिलो तीन महिनामा बैंकहरूको कर्जा प्रवाह वृद्धिदर निक्षेप संकलनभन्दा धेरै छ । निक्षेप संकलन औसतमा ३.१३ प्रतिशतले बढेको छ । सोही अवधिमा बैंकहरूको कर्जा प्रवाह दर १५.८८ प्रतिशत छ । यसको अर्थ वित्तीय असन्तुलन बढ्यो भन्ने हो । निक्षेपभन्दा कर्जा प्रवाह बढी हुँदा ऋणको दर महँगो हुन्छ । ऋण महँगो हुँदा लगानी निरुत्साहित हुन्छ ।

प्रकाशित : मंसिर २, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?