कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागढुंगा-सिस्नेखोला सुरुङमार्गः धादिङतर्फ मुआब्जा वितरण

विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पर्ने धादिङतर्फको जग्गाको मुआब्जा शुक्रबारबाट वितरण सुरु गरिएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार एकैदिन ६ रोपनी जग्गाको ३ करोड मुआब्जा वितरण भएको छ । निवेदन दिने सबैलाई मुआब्जा वितरण गर्दै जाने आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए । 

१०९ रोपनीमध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । जसमा ४४ मध्ये झन्डै २६ रोपनी श्री ५ को वायु गुठीको नाममा छ । ‘गुठीको नाममा रहेको जग्गाको अझै समस्या समाधान भइसकेको छैन,’ उनले भने, ‘गुठी संस्थान ऐनअनुसार मोहीले पाउने एक तिहाइ मुआब्जा मात्र वितरण गरिएको छ ।’ एक तिहाइ मात्र मुआब्जा दिँदा बाँकी रकम सरकारको गुठीमा जानेछ । आयोजनाले भने शतप्रतिशत मुआब्जा दिन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरी पठाएको थियो । यसबारे अहिलेसम्म निर्णय भएको छैन । उनका अनुसार स्थानीयले अहिलेलाई एक तिहाइ भए पनि मुआब्जा दिनुपर्ने माग राख्दै निवेदन दिएपछि वितरण थालिएको हो ।


‘मालपोत कार्यालयबाट लगत कट्टा गरेर नआउँदा समस्या भएको छ, पठाएको २०/२५ दिन भइसक्यो,’ उनले भने, ‘निवेदन दिएकाको लगत कट्टाका लागि पठाएका छौं, तीन कित्ताको मात्र आयो, १० कित्ताको अझै आउन बाँकी छ ।’ उनले जग्गाको प्रमाण लिएर निवेदन पेस गर्नेलाई मुआब्जा दिन समस्या नहुने बताए । ‘सबैले एक तिहाइ रकम मात्र लिएर गएका छन्,’ उनले भने, ‘पछि सरकारले निर्णय गरेर थप रकम पाउने भए फेरि वितरण गरिनेछ ।’ एक तिहाइका लागि समस्या नभए पनि केहीको जग्गाको प्रमाण नहुँदा समस्या भएको छ ।


‘प्रमाण नभएकाले निवेदन नै दिन सकेका छैनन्,’ उनले भने, ‘उनीहरूको माग शतप्रतिशत मुआब्जा पाउनुपर्छ भन्ने छ ।’ केही पनि प्रमाण नभएकाको हकमा सरकारले निर्णय गरे पनि मुआब्जा दिन नसकिने उनले स्पष्ट पारे । मुआब्जा वितरण गरेपछि काम गर्न ठाउँ खाली हुने उनले बताए । काठमाडौंतर्फ भने जम्मा ३ सय १२ रोपनी जग्गा प्रयोग हुनेछ । १२ रोपनी भने पछि थप गर्न लागिएको हो । यो जग्गाको हकमा मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ । जसका लागि १ अर्ब चाहिनेछ । काठमाडौंतर्फ ४ अर्ब २० करोड मुआब्जा वितरण भइसकेको छ ।


‘काठमाडौंतर्फ केही व्यक्तिले पैसा लगेर पनि घर खाली गरेका छैनन्,’ उनले भने, ‘केहीले जग्गाको सम्बन्धमा गुनासो गरेका छन्, कार्यालयमै बोलाएर गुनासो सुनुवाइ गर्ने काम भइरहेको छ ।’ मुआब्जा वितरणमा समस्या भने नरहेको उनले दाबी गरे । जापानी निर्माण कम्पनी हाज्मा एन्डोले ठेक्का लिएको सुरुङमार्गको ४२ महिनाभित्र निर्माण सकिसक्नुपर्नेछ । जसलाई बिहीबार निर्माण कार्यादेश दिइएको छ । ‘निर्माण व्यवसायीलाई कार्यादेश दिइसकेका छौं, ४२ महिनाको गणना सुरु भइसकेको छ,’ उनले भने, ‘कार्यादेश दिएको २८ दिनभित्र हामीले निर्माण कम्पनीलाई शतप्रतिशत साइट उपलब्ध गराउनेछौं ।’ सुरुङ निर्माणको काम सिस्नेखोला तर्फबाट हुनेछ ।

प्रकाशित : मंसिर १, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?