कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

अनुदानमा आलुको बीउ

माधव अर्याल

(पाल्पा) — आलु उत्पादनमा रामपुर नगरपालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदानमा बीउ वितरण गरिएको छ । रामपुर नगरपालिका–६ का ६ कृषक समूह र ६८ जनालाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो । यहाँ १५० रोपनीभन्दा बढी क्षेत्रफलमा आलु लगाइनेछ । 

अनुदानमा आलुको बीउ

किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेर उत्पादन भित्र्याउँदा महोत्सव गर्ने वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनका अनुसार बीउ बितरणसँगै आलु उत्सव सुरु भएको छ । ‘हाम्रो वडाले कृषि र पर्यटन विकासको नारा बोकेको छ,’ उनले भने, ‘त्यसैले कृषिको क्षेत्रमा किसानलाई अनुदानदेखि लिएर उत्पादनलाई बजारीकरणमा जोड दिएका छौं ।’ रामपुर नगरपालिकाको १० मध्ये ६ नम्बर वडाले कृषि र पर्यटनमा अगुवाइ गरेको छ ।

विजयपुर कृषि सहकारी संस्थाको सहकार्यमा आलु महोत्सव मनाउने योजना बनेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । त्यसका लागि किसानलाई जनकदेव जातको आलुको मूल बीउ अनुदानमा दिइएको छ । वडालाई कृषि विशेष क्षेत्रका रूपमा अगाडि बढाउन गत वर्ष मल, बीउ, प्रविधि वितरण गरिएको थियो । यस वर्ष आलु पकेट क्षेत्रका रूपमा विकास गर्न बीउ वितरण गरिएको हो । उत्पादन हेरेपछि आगामी वर्ष आलु लगाउने क्षेत्रफल अझ बढाउँदै लैजाने योजना बनाएको वडाध्यक्ष न्यौपानेले बताए ।


आलुको बीउ वितरणमा सहभागी रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुर क्षेत्रलाई आलु हबका रूपमा चिनाउने योजना रहेको सुनाए । उनका अनुसार रामपुर नगरपालिकाको यस क्षेत्रलाई नगरकै आलु उत्पादन हुने पकेट क्षेत्रका रूपमा विकास गराउन बीउ वितरण, उत्पादन भएपछि महोत्सव गर्ने योजना छ । ‘रामपुरमा बुटवल, भैरहवाबाट ठूलो परिमाणमा विषादीसहितको तरकारी भित्रिएको छ,’ उनले भने, ‘त्यसैले अब स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने योजना छ ।’


नगरप्रमुख थापाले पुस १ गतेदेखि बाहिरबाट आउने तरकारी निरुत्साहित गर्ने बताए । किसानले उत्पादन गरेका कृषि उपज बजारमा बिक्री नभए बजारको प्रबन्ध नगरपालिकाले गर्ने उनको दाबी छ । रामपुर नगरपालिकाले ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिएको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले निर्वाहमुखी नभई व्यावसायिक खेती गर्ने किसान बनाउन लागिपर्ने बताए । ‘थोरै थोरै विभिन्न जातका तरकारी लगाउने भन्दा व्यावसायिक किसान बन्ने सोंच सबैको पाल्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि उत्पादनको क्षेत्र पहिचान गर्दै छौं ।’


उत्सवको सुरुवातमा आलु खेती लगाउने प्रविधि, आलुको उत्पादन, मलजल, रोग किरा नियन्त्रण, बजारीकरणका सम्बन्धमा किसानलाई जानकारी गराइएको छ । कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जनकदेव जातको एक किलो आलुको बीउबाट १५ किलोसम्म उत्पादन हुने बताए । ‘आलुका लागि यो क्षेत्र उपयुक्त मानिन्छ,’ उनले भने, ‘आलु लगाएर किसानले राम्रो आम्दानी लिन सक्छन् ।’


वडा कार्यालयले किसानलाई सूचना आह्वान गरेर निवेदन संकलन गरेको थियो । सोहीअनुसार बीउ मगाएर उपलब्ध गराएको वडासचिव वासुदेव ढकालले जानकारी दिए । नदी किनारा आयआर्जन महिला कृषक समूह, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, जनजागृति कृषक समूह, मिलिजुली कृषक समूह, राधाकृष्ण कृषक समूहअन्तर्गतका किसानले बीउ लगेका छन् । उनीहरूलाई ११ क्विन्टलका साथै ६८ किसानलाई प्रतिव्यक्ति ५० किलोका दरले आलुको बीउ उपलब्ध गराइएको छ ।





प्रकाशित : कार्तिक २९, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?