कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार महसुल हेरफेर

सुनचाँदी, फलाम वा इस्पात, सरसफाइको पार्टपुर्जा, कफीजन्य मालवस्तुमा भन्सार महसुल वृद्धि, कुखुरा व्यवसायलाई चाहिने फूल पैठारीमा ५० प्रतिशत छुट
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विभिन्न सामग्रीको भन्सार महसुल हेरफेर गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुनचाँदी, फलाम वा इस्पात, सरसफाइको पार्टपुर्जा, कफीजन्य मालवस्तुमा भन्सार महसुल बढाएको हो । कुखुरापालन व्यवसायका लागि आवश्यक पर्ने फूलको पैठारीमा भने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको छ ।

‘चल्ला कोरल्नका लागि निषेचित फूलको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने,’ कात्तिक २५ गते प्रकाशित राजपत्रमा उल्लेख छ । तयारी रङ उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने एक्रेलिक इमल्सनमा पनि छुट दिएको छ ।


एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा उक्त वस्तु उद्योगकै नाममा पैठारी भएमा २० प्रतिशत मात्रै भन्सार लगाउने उल्लेख छ । सुनको भन्सार महसुलमा १५ सय रुपैयाँ वृद्धि गरिएको छ । ‘व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुनमा प्रति १० ग्राममा लाग्ने महसुल दर ५ हजार रुपैयाँको सट्टा ६ हजार ५ सय रुपैयाँ तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महसुल दर ५६ रुपैयाँदेखि ७५ रुपैयाँ कायम गर्ने,’ राजपत्रमा उल्लेख छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याउने सुनका गहनाको भन्सार महसुल पनि बढाइएको छ । सुन तथा गहनाको गुणस्तर तथा डिजाइनअनुसार ६ हजार २ सयदेखि ९ हजार रुपैयाँसम्म लाग्दै आएको महसुल वृद्धि गरेर ७ हजार ५ सयदेखि १० हजार रुपैयाँ पुर्‍याएको छ ।


स्वदेशमा उत्पादित फलफूल र तिनको सारबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको स्वदेशी वाइनबाहेक स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्त:शुल्कको दरमा छुट गरिएको छ । मन्त्रालयका अनुसार वाइनमा लाग्ने अन्त:शुल्कको दरमा ३० प्रतिशत छुट दिइएको छ । कपालमा प्रयोग हुने कस्मेटिकजन्य मालवस्तुमा १० प्रतिशतको दरले अन्त:शुल्क लगाउने निर्णय भएको छ । यसअघि यी मालवस्तुमा ५ प्रतिशतको दरले अन्त:शुल्क लाग्थ्यो । फलाम वा इस्पातको सरसफाइसम्बन्धी सामान र तिनका पार्टपुर्जामा ५ प्रतिशत अन्त:शुल्क लगाइनेछ । कफीजन्य मालवस्तुमा १० प्रतिशत अन्त:शुल्क लगाउने राजपत्रमा उल्लेख छ ।

निजी क्षेत्रको आपत्ति

सरकारले कर बढाएको विषयमा निजी क्षेत्रले आपत्ति जनाएको छ । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतीत नहुंँदै करका दरमा परिवर्तनले व्यवसायमा स्थिरता नहुने उनीहरूको चिन्ता छ । ‘कुखुरापालन व्यवसायका लागि आवश्यक पर्ने फुलहरू तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भए पनि व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महसुल दरमा वृद्धि र विदेशबाट फर्केका यात्रुहरूले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनाको महसुल दरमा भएको वृद्धिले महँगी बढाउँछ,’ नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कपालमा प्रयोग हुने कस्मेटिक्स, फलाम वा इस्पातको सरसफाइसम्बन्धी सामान तथा कफीमा लगाइएको अन्त:शुल्क वृद्धिले एकातर्फ अनधिकृत व्यापार वृद्धि हुने सम्भावना हुन्छ भने अर्कोतर्फ मालवस्तुको मूल्य वृद्धि हुन गई उपभोक्तालाई प्रत्यक्ष रूपमा नकारात्मक असर पार्छ ।’ कर वृद्धिको विषयमा नेपाल समुद्रपार निकासी पैठारी संघले पनि ध्यानाकर्षण गराएको छ ।




प्रकाशित : कार्तिक २७, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?