कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन महिनामा उद्योग दर्ता कम

नुमा थाम्सुहाङ

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्वदेशी तथा विदेशी उद्योगको दर्ता अघिल्लो वर्षको तुलनामा कमी आएको छ । उद्योग विभागका अनुसार १० करोड रुपैयाँभन्दा बढी पुँजी भएका उद्योगको दर्ता अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम छ ।

विभागका अनुसार अघिल्लो वर्ष तीन महिनामा १ सय ७५ स्वदेशी लगानीका उद्योग दर्ता भएकोमा यस वर्ष ८३ मात्रै दर्ता भएका छन् । यसैगरी गत वर्ष विदेशी लगानीका १ सय २९ कम्पनी दर्ता भएकामा यस वर्ष ७९ मात्रै दर्ता भएका छन् ।


विभागले दर्ता भएका उद्योगलाई ६ वर्गमा विभाजन गरेको छ । यस अनुसार चालु आर्थिक वर्षको तीन महिनामा सेवामूलक १२, पर्यटनमूलक ३०, उत्पादनमूलक २०, कृषि तथा वन पैदावरमा आधारित ३, सूचना प्रसारण तथा सञ्चार प्रविधि २ र ऊर्जामूलक २० उद्योग दर्ता भएका थिए । यी उद्योगहरूको जम्मा पुँजी ५२ अर्ब २४ करोड रुपैयाँ छ भने ५ हजार एक सय १३ रोजगारी सिर्जना गर्ने दाबी गरिएको छ । पुँजी र रोजगारी सिर्जनाका आँकडा पनि अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्ष तीन महिनामा दर्ता भएका उद्योगले ६८ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने र ८ हजार ४ सय ८४ रोजगारी सिर्जना गर्ने दाबी गरिएको थियो ।


यसका साथै गत वर्षमा विदेशी लगानीतर्फ पर्यटनका ५०, सेवामूलक ४१, उत्पादनमूलक २१, सूचना प्रसारण तथा सञ्चार प्रविधि १०, कृषि तथा वन पैदावरमा आधारित ५, खनिजका २ उद्योग दर्ता भएका थिए । चालु वर्षमा पर्यटनका ३८, सेवामूलक २६, उत्पादनमूलक ८, सूचना प्रसारण तथा सञ्चार प्रविधि ६ र कृषि तथा वन पैदावरमा आधारित १ उद्योग दर्ता भएका छन् । गत वर्ष तीन महिनामा दर्ता भएका विदेशी लगानीका उद्योगमा ७ अर्ब १३ करोड रुपैयाँ लगानी हुने र तीनले ५ हजारलाई रोजगारी दिने दाबी गरिएको थियो । चालु वर्ष दर्ता भएका उद्योगको पुँजी ११ अर्ब १३ करोड देखाइएको छ भने ४ हजार ३ सय ६५ ले रोजगारी पाउने दाबी गरिएको छ ।


‘यहाँ मझौला तथा ठूला उद्योग मात्र दर्ता हुन्छन्,’ विभागका सूचना अधिकारी विनोदकुमार खड्काले भने, ‘त्योबाहेकका उद्योग प्रदेशमा जान्छन् ।’ प्रदेश तहमा समेत दर्ता हुने भएकाले यसको संख्यामा कमी आएको उनले बताए । विभागमा १० करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मका पुँजी भएका उद्योग दर्ता हुन्छन् । यो भन्दा कम पुँजी लगानी भएको उद्योग प्रदेश तह अन्तर्गतका लघु, घरेलु तथा साना उद्योगका कार्यालयमा र त्यो भन्दा बढी पुँजी भएको उद्योग लगानी बोर्डमा दर्ता हुन्छन् ।


गत वर्षको अन्तसम्ममा ७ हजार ९ सय ६६ उद्योग विभागमा दर्ता भएका थिए । यी उद्योगहरूमा २ खर्ब २५ अर्ब २१ करोड ३० लाख रुपैयाँबराबरको कुल पुँजी लगानी भएको छ भने तिनले ६ लाख ४ हजार ८ सय ३२ जनालाई रोजगारी दिएका छन् ।


प्रकाशित : कार्तिक २७, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?