कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउको सुकुटी र चाना

छपाल लामा

(हुम्ला) — सिजन सकिएर थन्क्याएको स्याउ कुहिन थालेपछि किसानले चाना बनाउन सुरु गरेका छन् । ढुवानी समस्याका कारण बिक्री नभएर स्याउ कुहिन थालेपछि चाना बनाउन थालिएको हो । 

स्याउको सुकुटी र चाना

सडक सुविधा नभएको हुम्लामा स्याउ महँगो मूल्यमा हवाई ढुवानी गरेर बाहिर पठाउनुपर्ने बाध्यता छ । ढुवानी समस्याकै कारण जिल्लाका अधिकांश क्षेत्रमा उत्पादन हुने स्याउ बिक्री हुँदैन । स्याउ बढी उत्पादन हुने खार्पुनाथ र सिमकोट गाउँपालिकाका दुई सहकारी संस्थाका सदस्यलाई स्याउको चाना र सुकुटी बनाउने तालिम लिइएको थियो । तालिम सकिएलगत्तै स्थानीयवासी घरघरमा चाना बनाउन जुटेको सिमकोट–४, का एमबहादुर लामाले बताए ।


उनको बारीमा दुई सय स्याउका बोट छन् । ‘दुई दिन लगाएर ७० किलो स्याउको सुकुटी र चाना बनाइयो,’ उनले भने, ‘सडक सुविधा नहुँदा स्याउ बिक्रीमा समस्या भएपछि बर्सेनि सुकुटी बनाउने गरेका हौं ।’ तालिम लिएपछि यस वर्ष व्यवस्थित तरिकाले सुकटी बनाइएको उनले जानकारी दिए । उनका अनुसार अहिले अधिकांश घरमा स्याउको चाना बनाउने चटारो चलिरहेको छ ।


बारीमा चार सय बोट स्याउ लगाएकी सिमकोट–४, की छिरिङकुजुम लामाले पनि स्याउको चाना बनाउन सुरु गरिएको बताइन् । उनको बारीमा यस वर्ष ३० क्विन्टल स्याउ उत्पादन भएको थियो । सबै स्याउको सुकुटी बनाउन सुरु गरिएको उनले जानकारी दिइन् । ‘सुकुटी बनाएपछि कम्तीमा खेतीको खर्च उठ्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘सहरतिरबाट स्याउको सुकुटीको माग धेरै आएको छ, बारीको स्याउ सबै कुहिन लागेपछि चाना बनाएर बिक्री गर्ने योजना छ ।’


स्थानीय वसन्ती शाहीका अनुसार अधिकांश किसानले यस वर्ष मेसिनबाट चाना बनाइरहेका छन् । सबै चाना र सुकुटी सहकारीले किन्ने सहमति भएको उनले जानकारी दिइन् । उत्पादन भएको स्याउ खेर जान नदिन सिमकोटस्थित पञ्चमुखी–दूधेदह कृषि सहकारी र खापुनार्थ गाउँपालिकाको महिला–दूधकण्ठ सहकारीले स्थानीय महिलालाई तालिम दिएको थियो ।


सहकारीका प्राविधिक जंग शाहीले स्याउका चानाको मूल्य प्रतिकिलो ७ सय रुपैयाँ निर्धारण गरिएको जानकारी दिए । ‘चानाको मूल्य कायम गरिसकिएको छ, कृषकले आफैं पनि चाना बेच्न सक्नेछन्,’ उनले भने, ‘तर बिक्री नभए सहकारीले खरिद गरी बाहिर पठाउनेछ ।’


प्रकाशित : कार्तिक २७, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?