कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगो परिवार नाम्लोको भर

नुमा थाम्सुहाङ

काठमाडौँ — वर्षौंदेखि टाउकोमा नाम्लोले भारी बोक्दा त्यसको डाम नै बसिसकेको छ । सुस्त हिँडाइ, बल र उमेरको बेला भारी बोक्ने शरीरमा अब भार थाम्ने सामर्थ्य छैन । काठमाडौंमा बाँच्न र परिवारको खर्च धान्नलाई भारी बोक्नुपर्ने बाध्यतामा छन रामेछाप, मन्थलीका ६० वर्षीया भरिया चंखे खड्का । राजधानी पसेसँगै खर्च धान्न कामका रूपमा भारी बोक्ने नाम्लो रोजे । काठमाडौंको ओमबहालमा ६ जनाको परिवारसंगै २८ वर्षदेखि बस्दै आएका उनले नाम्लोसँग रमाउन थालेको पनि उति नै भयो । 

‘काठमाडौं आएपछि नै भारी बोक्ने काम सुरु गरें,’ उनी भन्छन्, ‘सुरुमा आउँदा रत्नपार्कको खुलामञ्चमा बिहान बेलुकी भारी बोक्ने काम गर्थे । महिनाभरि ३ सय भारी बोक्दा १ हजार रुपैयाँ बुझ्थें ।’ २ छोरीको घरजम भइसकेको छ । बाँकी एक छोरा र छोरीको बिहा गरेर घर बसाइदिन पाए हुन्थ्यो भन्ने उनको धोको छ । कुनै समयमा महिनाको ३ सयसम्म भारी बोक्ने उनले अहिले गोडा दुख्ने रोगले गर्दा दिनमा ५/६ भारी बोक्छन् । यसबाट एक भारीको ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म पाउँछन् । ‘सकुन्जेल भारी बोकेर कमाइ गर्छु, ज्यान काम नलाग्ने भएपछि के हुन्छ, थाहा छैन ?’ उनले सुनाए ।


धादिङको खाल्टे नगरपालिका–५ का ५६ वर्षीय बुद्धिमान श्रेष्ठले पनि भारी बोकेरै ११ जनाको परिवारको खर्च धान्दै आएका छन् । २५ वर्षदेखि भारी बोक्ने काम गर्दै आएका उनलाई पनि भारीले गलाएको छ । ८/१० वटा भारी बोकेर दिनको १ हजार रुपैयाँसम्म कमाउँछन् । घर बनाउन र बालबच्चालाई पढाउन भनी बैंकबाट १६ प्रतिशतका दरले ११ लाख रुपैयाँ ऋण लिएको उनले बताए ।


आफ्नो ढल्कँदो उमेरले उनलाई काम गरेर परिवार कसरी पाल्ने चिन्ता छ । ‘यो उमेरमा कसलाई भारी बोक्ने रहर हुन्थ्यो । छोराछोरी ९/१० मा पढ्दै छन्,’ उनले भने, ‘पढाउन त निजी विद्यालयमा मन थियो, आर्थिक अवस्था कमजोर छ, सरकारी विद्यालयमा पढ्दै छन् ।’ छोराछोरीलाई पढाएर केही बनाउन रहर भएको र आफूजस्तै भारी बोक्ने नहोस् भन्ने इच्छा सुनाउँछन् ।


भारी बोकेर उनले मात्र होइन उनी जस्तै धेरैले परिवारको खर्च चलाइरहेका छन् । पढाइ नभएकाले र अरू काम गर्न नजान्ने कारण बताउँदै भारी बोक्ने काम रोजेको धादिङको परेवाटार गाँउपालिका–६ का ५९ वर्षीया खड्कबहादुर श्रेष्ठ बताउँछन् । छोराबुहारी, श्रीमती, नातिनातिनासहित ८ जनाको परिवारलाई सकेको खर्च आफैंले जुटाइरहेका छन् । १२ वर्षदेखि भरियाको काम गर्दै आएको उनले भारी बोक्ने कामले नै परिवारको खर्च, गाँउको साहुबाट भूकम्पले भत्काएको घर बनाउन भनी २० प्रतिशतका दरले ३ लाख रुपैयाँको ऋण तिरिरहेको बताए । ‘दिनको ८ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ उनले भने, ‘घर बनाउँदा लागेको ऋण तिर्न पाए आनन्द हुन्थ्यो ।’ भरियाको काममा दु:ख बढी हुने गुनासो पोख्दै भने, ‘५०/१०० केजीको भारी बोकेर ७/८ तला माथि पुर्‍याउनुपर्छ । तिहारमा अरू समयको भन्दा केही आम्दानी गर्ने बाटो हुन्छ । अहिले नै निकै साह्रो हुन्छ, उमेर नि ढल्कँदै गएपछि कसरी भारी बोकेर परिवार पाल्नु ?’


धादिङको खाल्टे नीलकण्ठ–५ का अम्बर रोक्काले राजधानी आएदेखि भारी बोक्ने काम गर्दै आएका छन् । ३२ वर्षे उनी ८ जनाको परिवार एक्लैले भारी बोकेको कमाइले धान्छन् । दिनको १२ सय रुपैयाँ कमाइ गर्ने उनलाई पनि आफ्ना छोराछोरीलाई पढाएर राम्रो जागिर खाएको हेर्ने धोको छ । गाउँमा भूकम्पले घर भत्काएपछि घर बनाउँदा थप उनलाई ३ लाख रुपैयाँ ऋण लागेको बताउँछन् । ‘काठमाडौंको महँगी त्यसमाथि एक्लोको कमाइले मुस्किलले चलाइरहेको छु,’ उनी भन्छन् ।

प्रकाशित : कार्तिक २४, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?