कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ हेर्न टिकट

आश गुरुङ

(लमजुङ) — अब स्याउ खान मात्रै होइन, हेर्न पनि टिकट लाग्ने भएको छ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले यस्तै नियम लागू गरेको छ । आन्तरिक पर्यटकले प्रतिव्यक्ति २ सय र बाह्य पर्यटकले प्रतिव्यक्ति ४ सय रुपैयाँ तिर्नुपर्छ । लमजुङ बेंसीसहरका रवि कायस्थले २ सय रुपैयाँको टिकट काटेर बगानमा फलेको स्याउ हेरेको बताए । टिकट काटेबापत उनले २ वटा स्याउ पनि पाए । ‘२ सय रुपैयाँ तिरें । कुनै मनखत लागेन,’ उनले भने, ‘यति ठूलो स्याउबारी । लोभै लाग्ने दाना । मज्जाले फोटो खिचें । बगान घुमें र फर्किएँ ।’

स्याउ हेर्न टिकट

एग्रोले स्याउबारीमा पर्यटन प्रवर्द्धन टिकट प्रणाली लागू गरेको छ । दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७ सय ३५ रोपनी जग्गामध्ये ४ सय ५० रोपनीमा स्याउबारी छ । इटली र सर्भियाबाट ल्याएर स्याउ रोपिएको हो । स्याउ हेर्न दिनहुँ पर्यटकको भीड लाग्ने स्याउ फार्मका म्यानेजर पञ्च गुरुङले बताए । ‘विदेशी पर्यटक १०/१५ जना टुट्दैन । स्वदेशी पर्यटक ४०/५० जनाले हेर्छन्,’ उनले भने, ‘पर्यटकलाई स्याउले लोभ्याएको छ । अहिले फल्दै गरेका स्याउभन्दा यो स्याउका बोटहरू फरक र फल्ने तरिका पनि फरक भएकाले पर्यटकको आकर्षण बढेको छ ।’


कीराले नखाएको दाना बोटमा सुन्दर देखिँदा पर्यटक लोभिएको उनले बताए । उनका अनुसार स्याउका दाना एकनासका छन् । स्याउ बारीमा फोहोर गर्न दिइएको छैन । ‘केहीले दिनभरि स्याउबारीमै बिताएर फोटो र भिडियो खिचेर लाने गरेका छन् । केहीले स्याउबारीमै टिकटक बनाएका छन् । आफ्नो इन्स्ट्राग्राममा हालेका छन् । फेसबुक र ट्विटर भरेका छन्,’ उनले भने । एग्रो अध्यक्ष समराज गुरुङका अनुसार स्याउ हेर्न पर्यटकको भीड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको हो । टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउ, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, यसको प्रकार, टिप्ने तरिका, भण्डारण, फार्म हाउस साथै ग्रेडिङ प्रणाली देखाइने गरिएको छ । यसका लागि फार्मले सहयोगी खटाएको छ । ‘जथाभाबी जान थालेपछि टिकटको व्यवस्था गरेका हौं,’ उनले भने ।


गत वर्ष ३ सय ५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ४ सय ५० टन उत्पादन हुने प्रक्षेपण गरिएको छ । हालसम्म ९ ट्रक स्याउ काठमाडौं लगिसकिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार गाला जातका सबै स्याउ टिपिसकिएको छ । अहिले फुजी र गोल्डेन जातका स्याउ टिप्ने काम भइरहेको छ । दैनिक औसत ५ हजार किलोका दरले स्याउ टिप्ने काम भएको छ । यसका लागि दैनिक ४५ जना खटिएका छन् । ‘हामी नोभेम्बर महिनामा सबै स्याउ टिपेर सक्छौं । राम्रा दाना छनोट गरी बिक्रीका लागि बजार पठाएका छौं,’ उनले भने, ‘केही साना दाना जुस र चिप्सका लागि राखेका छौं ।’


एग्रोले समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो । स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । एग्रोका संस्थापक प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियामा २ वर्ष हुर्किसकेको र यहाँ ल्याएपछि रोपेको ६ महिनाबाट स्याउ उत्पादन भएको बताए । उनका अनुसार नासों र चामे गाउँपालिकाका विभिन्न ठाउँमा स्याउ फल्न थालेको छ । एग्रोले माथिल्लो मनाङको तत्कालीन ७ गाविस (हाल मनाङ ङिस्याङ गाउँपालिका) को सगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती गर्दै आएको छ । स्याउ फार्ममा मात्रै ३० करोड लगानी छ ।

प्रकाशित : कार्तिक १९, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?