कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकको कमजोरीले चलेन आरटीजीएस 

‘भदौमा पर्याप्त गृहकार्य नगरी सुरू गरिएछ, अब सबै तयारी पूरा भएपछि मात्र सुरू हुन्छ, पुरानो गल्ती दोहोरिन्न’
यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंककै कमजोरीको कारण रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सञ्चालनमा आउन नसकेको खुलासा भएको छ । राष्ट्र बैंकले पर्याप्त दक्ष कर्मचारी, आन्तरिक सफ्टवेयरसँगको मिलानलगायत आन्तरिक तयारी नगरी लागू गरेकाले झन्डै दुई महिनासम्म पनि आरटीजीएस सञ्चालन हुन नसकेको आरोप सरोकारवालाहरूले लगाएका छन् । 

राष्ट्र बैंकको कमजोरीले चलेन आरटीजीएस 

भदौ २९ मा उद्घाटन गरेर नचलेपछि राष्ट्र बैंकले तिहारपछि (कात्तिक १५ गते) देखि पुनः सुरु गर्ने बताएको थियो । पछिल्लो पटक तोकिएको समय गत शुक्रबार नै सकिएको छ । राष्ट्र बैंकले आरटीजीएस पुनः सञ्चालनबारे केही बोलेको छैन । आन्तरिक तयारी पूरा नभएकै कारण तोकिएको समयमा आरटीजीएस सञ्चालन हुन नसकेको स्रोतले बताएको छ ।


‘अझै धेरै काम गर्न बाँकी छ,’ स्रोतले भन्यो, ‘अहिले आएर दक्ष कर्मचारीको पनि अभाव देखियो ।’ भदौमा हतारिएर सुरु गरेकै कारण नियमित रूपमा सञ्चालन गर्न नसकिएको ती अधिकारीले स्वीकार गरे । ‘गत भदौमा पर्याप्त गृहकार्य नगरी सुरु गरिएछ,’ ती अधिकारीले भने, ‘अब सबै तयारी पुरा भएपछि मात्र सुरु हुन्छ । पुरानो गल्ती दोहोरिन्न ।’


आरटीजीएस चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनसाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधा सहितको कारोबार प्रणाली हो । आरटीजीएस प्रणाली बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । नेपालमा डीएफआईडीले उक्त प्रणाली निर्माण गरेर राष्ट्र बैंकलाई हस्तान्तरण गरेको हो । प्राविधिक सहयोग र सफ्टवेयर आरटीजीएस प्रणाली निर्माणमा करिब १८/१९ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।


अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उदघाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको थियो । आरटीजीएस प्रणाली तयार भए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूको सिस्टममा पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नुपरेको राष्ट्र बैंकले त्यतिबेला बताएको थियो ।


बैंकहरू भने राष्ट्र बैंकको भनाइ स्वीकार गर्न तयार छैनन् । राष्ट्र बैंकको कारोबार प्रणालीमा समस्या रहेकाले आरटीजीएस सञ्चालनमा आउन नसकेको उनीहरूको भनाइ छ । ‘आरटीजीएस अझै राष्ट्र बैंककै प्रणालीमा समायोजन नभएको कुरा आइरहेको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘बैंकहरू तयारी अवस्थामा छन् ।’ आरटीजीएस निर्माण गरिदिने बेलायत सरकारलाई खुसी बनाउने ध्ययले राष्ट्र बैंकले हतारमा सञ्चालन गरेकाले अहिले समस्या भएको उनले आरोप लगाए ।


राष्ट्र बैंकले भने अहिले म्यानुअल र स्वचालित गरी दुवै प्रणालीबाट परीक्षण भइरहेको जनाएको छ । यो ठूलो रकमको कारोबार प्रणाली भएकाले राम्रोसँग परीक्षण पछि मात्र सञ्चालनमा ल्याइने स्रोतले बताएको छ ।


आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । यो प्रणालीमार्फत कारोबार गर्दा सेवाग्राहीले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एक देखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकरा पाइनेछ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ ।


आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण हुनेछ । खासगरी ठूला कारोबारका लागि यो आरटीजीएस उपयुक्त हुने जानकारहरू बताउँछन् ।


सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो । २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्ने पर्ने बताएको थियो । सुरुको अवस्था भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ । यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा आरटीजीएसमार्फत गरिने राष्ट्र बैंकको योजना थियो ।


राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको थियो । वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन् । विकास बैंक र फाइनान्स कम्पनी एसोसिएट सदस्य छन् । आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्र बैंकले जनाएको छ । तर, वाणिज्य बैंकहरूमै लागू गर्न ढिलो भएपछि विकास बैंक र वित्त कम्पनीको पालो तत्काल नआउने जानकारहरू बताउँछन् ।


यो प्रणाली लागू भएपछि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने जानकारहरू बताउँछन् । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीतिको सफलताका लागि पनि आरटीजीएस सहयोगी हुने उनीहरूको तर्क छ ।


प्रकाशित : कार्तिक १८, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?