कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्तला चीन निर्यात हुने आशा

प्रतीक्षा काफ्ले

(गण्डकी) — साढे सात वर्षअघि स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीन लैजाने भन्दै दुई पक्षीय सम्झौता भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा असोज २६ मा दुवै देशबीच सुन्तला तथा अमिलोजन्य फलफूल चीन निर्यातसम्बन्धी सम्झौता भएपछि भने यसअघिको सम्झौता पनि कार्यान्वन हुने आशा जागेको छ ।

सुन्तला चीन निर्यात हुने आशा

राष्ट्रपति चिनफिङकै भ्रमणका अवसरमा भएको सम्झौता कार्यान्वयन हुनेमा किसान आशावादी भएका हुन् । ‘सुन्तला तथा अमिलोजन्य उत्पादन चीन लैजाने कुराले खुसी लागेको छ,’ स्याङ्जाको भीरकोट नगरपालिका–७ का पाका किसान मीनप्रसाद कोइराला भन्छन्, ‘दुई सरकारबीच भएको सम्झौता कार्यान्वयनमा आउनुपर्‍यो ।’ राष्ट्रपतिकै भ्रमणका अवसरमा सम्झौता भएकाले सुन्तला निर्यात हुनेमा उनी विश्वस्त देखिएका छन् ।


सुन्तला निर्यात हुन सके मूल्य पनि राम्रै पाइने आशा किसानको छ । ‘सम्झौता गरेर मात्र हुँदैन यसका लागि सरकार स्वयंले कार्यान्वयनका लागि पहल गर्नुपर्छ,’ कोइराला भन्छन् । उनले स्याङ्जाको सुन्तला गुणस्तरीय रहेको दाबी गर्दै सहजै निर्यात हुनेमा आफू ढुक्क रहेको बताए । अर्जुनचौपारी गाउँपालिकाका फणिनारायण अर्याल जिल्लाकै ठूला सुन्तला कृषक हुन् ।


वार्षिक करिब १ करोड आम्दानी गर्ने अर्याल पनि दुई सरकारबीचको सुन्तला निर्यातमा भएको सम्झौताले खुसी छन् । ‘अहिले हामीलाई खुसीमाथि खुसी थपिएको छ,’ अर्याल भन्छन्, ‘यदि हामीले उत्पादन गरेका सुन्तला सहजै चीन पुर्‍याउन सक्यौं भने अर्को आम्दानीको विकल्प खोज्नु पर्दैन । सुन्तला पेसामा युवाको आकर्षण रहिरहन्थ्यो ।’ सुन्तला व्यवसायी संघका तत्कालीन अध्यक्षसमेत रहेका अर्यालले सुन्तला निर्यात हुन सके किसानको जीवनस्तर थप उकासिने बताए । यसअघि स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीन लैजान ४ जुलाई २०१२ मा सम्झौता भएको थियो । लामो समयसम्म कार्यान्वयनमा भने आएन ।


सुन्तला तथा अमिलोजन्य फलफूल निर्यातका लागि प्रोटोकल सम्झौता भएको थियो । सम्झौतानुसार त्यस्ता फलफूलको न्यूनतम गुणस्तर जाँच गर्ने र निर्यात गर्ने काम हुनेछ । सम्झौतानुसारको सुन्तला उत्पादन नभएको भन्दै स्याङ्जाका सुन्तला चीन पुर्‍याउन नसकिएको अर्याल बताउँछन् । ‘कर्मचारीको लापरबाहीले पनि सुन्तला चीन पठाउन पाइएन,’ उनले भने, ‘सम्झौता कार्यान्वयनमा सरकारी तवरबाट जति चासो देखाउनुपर्थ्यो, भएन ।’


प्रकाशित : कार्तिक १७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?