कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातै प्रदेशका स्मारिका सिक्का निकालिने

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले सात वटै प्रदेशको स्मारिका सिक्का निकाल्ने भएको छ । हरेक प्रदेशका राष्ट्रिय विभूति, आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदामध्ये कुनै एक अंकित गरी स्मारिका सिक्का निकाल्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

सातै प्रदेशका स्मारिका सिक्का निकालिने

मुलुक संघीयतामा गएपछि बनेका प्रदेशको पहिचान र प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले स्मारिका सिक्का छाप्ने योजना बनेको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । ‘हरेक प्रदेशका स्मारिका सिक्का फरकफरक हुन सक्छन्,’ उनले भने, ‘सम्बन्धित प्रदेशमा विशेष महत्त्व राख्ने विषय वस्तु अंकित गरेर सिक्का निकालिनेछ ।’

सिक्का निष्कासनअघि यसबारे सम्बन्धित प्रदेशको पनि राय मागिने उनले बताए । ‘सिक्कामा अंकित विषयवस्तु विवादित नहोस्,’ उनले थपे, ‘हाम्रो उद्देश्य स्मारिका सिक्कामार्फत हरेक प्रदेशको पहिचान देश विदेशमा प्रचारप्रसार होस् भन्ने हो ।’

सुरुमा किप्रोनिकल धातु (कपर र निकल मिश्रित) बाट १ सय रुपैयाँ अंकित सिक्का बनाइने र मागअनुसार त्यसलाई बढाउँदै लैजाने राष्ट्र बैंकले बताएको छ । तिहारलगत्तै स्मारिका सिक्का बनाउने योजना रहे पनि प्राविधिक कारणले ढिलाइ हुन सक्ने आचार्यले बताए । ‘सुन्धारा स्थित टक्सारबाट सिक्का बनाउने गरिएकामा हाल उक्त स्थान धरहरा निर्माणमा उपयोग हुँदै छ ।

यसकारण अब यो स्थान छोड्नुपर्ने भएको छ । अर्को ठाउँमा गएर मेसिन जडान गर्न कति समय लाग्छ । त्यसकै आधारमा स्मारिका सिक्का निर्माणका लागि समय तोकिने उनले बताए । राष्ट्र बैंकले यो वर्षदेखि बबरमहलबाट असर्फीलगायत अन्य सिक्का बिक्री गर्दै आएको छ । सिक्का छाप्नका लागि पनि सोही स्थानमा मेसिन जडान गर्ने राष्ट्र बैंकको तयारी छ ।

‘यसका लागि सरकारको अनुमति चाहिन्छ,’ स्रोतले भन्यो, ‘हेरै कति छिटो प्रक्रिया पूरा हुन्छ ? सामान्य आधारमा कुनै संस्था वा कम्पनीको आग्रह र स्मारिका सिक्का निकालिन्छ । प्रदेशका स्मारिका सिक्का राष्ट्र बैंक अफैंले बनाउन लागेको हो । ती सिक्का राष्ट्र बैंकले बिक्री गर्नेछ ।

राष्ट्र बैंकले धेरै पहिलेदेखि नै स्मारिका सिक्का निकाल्दै आएको हो । स्मारिका सिक्का निष्कासन गर्दा सरकारको अनुमति चाहिन्छ । यस्ता सिक्कामा राष्ट्रिय विभूति वा सरकारबाट अनुरोध भई आएका व्यक्तित्वसँग सम्बन्धित विषयवस्तु राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धि अंकित गरिन्छ ।

आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याउँदै आएको कुनै कम्पनी, संघ, संस्थाको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धिसँग सम्बन्धित विषयवस्तु पनि सिक्कामा अंकित गरिएको हुन्छ । विशेष आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदालगायत पनि स्मारिका सिक्कामा अंकित गरिएको हुन्छ । चाँदीलगायत अन्य धातु वा धातु सम्मिश्रण गरी स्मारिका सिक्का बनाइन्छ ।

स्मारिका सिक्का पनि अंकित मूल्यमा बिक्री गरिन्छ । यस्तो सिक्का एकपटक बनाएपछि पुन: निर्माण (टकमरी) गरिँदैन । एकपटक निर्माण गरिएको स्मारिका सिक्का बिक्री नभई बाँकी रहेको अवस्थामा त्यस्तो सिक्काको टकमरी गरिएको मितिले १० वर्षमा पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यो वर्ष राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशी, गुरु नानकदेव र धितोपत्र बोर्ड अंकित स्मारिका सिक्का निकालेको छ । २५ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बोर्ड अंकित २५ सय र १ सय दरका चाँदीका स्मारिका सिक्का निकालिएको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशी र गुरु नानकदेव अंकित सिक्का पनि २५ सय, हजार र १ सय दरका छन् । यो वर्षको तिहारमा यी सिक्काको माग धेरै भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले असर्फी र मेडालियन सिक्का पनि बनाउँदै आएको छ ।

‘मेडालियन’ भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी (निर्माण) गरिने सिक्का हो । हाल लक्ष्मी, गणेश र लक्ष्मी प्लस गणेश चित्र भएका सिक्काको माग धेरै रहेको बताइएको छ । यी सिक्कामा अंकित मूल्य उल्लेख हुन्छ । सोही दरमा सिक्का खरिद गर्न सकिन्छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?