कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ महिनामा ४ करोड सेवा शुल्क

नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम वसन्तपुरले चालु आर्थिक वर्षको पछिल्लो त्रैमासिकमा पर्यटन सेवा शुल्कबापत ४ करोड २५ लाख ६ सय ५० रूपैयाँ आम्दानी गरेको छ ।

३ महिनामा ४ करोड सेवा शुल्क

युरोप तथा अन्य राष्ट्रबाट तीन महिनामा ४१ हजार ५ सय ३० पर्यटक र सार्क राष्ट्रबाट ६ हजार ४ सय ७१ ले बसन्तपुर दरबार क्षेत्र भ्रमण गरेको तथ्यांक छ ।


भूकम्पपछि हुनमानढोका दरबार क्षेत्रका मन्दिर तथा भवनमा क्षति पुगेपछि बाह्यभन्दा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाको आर्थिक वर्ष २०७५/७६ तथ्यांक अनुसार ४ लाख ७७ हजार ५ थान आन्तरिक पर्यटक भित्रिएका थिए भने १४ लाख ५७ हजार ६ सय १० रूपैयाँ सेवा शुल्क संकलन भएको थियो ।


पाल्पाका गोविन्द भुसालले आफ्नो परिवारलाई वसन्तपुर दरबार क्षेत्र घुमाउन ल्याएका थिए । ऐतिहासिक ठाँउ रहेकाले परिवारसँग घुम्न इच्छा रहेको सुनाए । ‘भूकम्पले निकै क्षति बनाएको रैछ,’ उनले भने, ‘यस ठाउँको पूनर्निर्माण भइरहेको छ, निर्माण सम्पन्न भएपछि कलात्मक वस्तु देख्न पाइन्छ ।’


भूकम्पपछि स्वदेशी पर्यटकको संख्यामा वृद्धि भएको एए क्राफ्ट, वसन्तपुर झोंछेका व्यापारी सरोज खनाल बताउँछन् । ‘भूकम्पपछि विदेशी पर्यटकको संख्यामा कमी आएको छ,’ उनले भने, ‘भूकम्पले सबै हेर्न लायक मन्दिर तथा दरबारमा क्षति पुर्‍याएको छ, यहाँ हेर्नलाई केही छैन । सबै संरचनाहरू निर्माणाधीन अवस्थामा छन् ।’


वसन्तपुर दरबार क्षेत्र भनेको काठमाडौंको मुटु हो । भ्रमण वर्ष नजिकिँदै गर्दा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने आशा रहेको उनी सुनाउँछन् । वसन्तपुरमा पहिला जस्तो खान र बस्नलाई राम्रो होटल तथा रेष्टुरेन्टको कमी भएकोले विदेशी पर्यटकको कमी भएको उनको भनाई छ । ‘भएको विदेशी पर्यटकहरू सबै ठमेलतिर जान्छन्,’ उनले भने । विदेशी पर्यटकको संख्यामा कमी हुँदा व्यवसायहरू राम्ररी चल्न समेत समस्या हुने उनी सुनाउँछन् ।


विदेशी पर्यटकले धानिरहेको वसन्तपुर डबली क्षेत्रको हस्तकलाको व्यवसाय अहिले आन्तरिक पर्यटकको भरमा रहेको व्यापारी निरन श्रेष्ठ बताउँछन् । ‘सार्क राष्ट्रमा चिनियाँ पर्यटक बढी हुन्छन्,’ उनले भने, ‘नेपालीहरुको सन्दर्भमा भन्नुपर्दा भूकम्पछि घुम्ने पर्यटक बढी रहेका छन् ।’ विदेशी पर्यटक सेप्टेम्बर र अक्टोबरमा बढी आउँने उनले बताए ।


हनुमानढोका दरबार क्षेत्रमा ४३ वटा मन्दिर तथा दरबार रहेका छन् । यी मध्ये २६ वटा मन्दिर काठमाडौं महानगरपालिकाले अर्न्तगत पूनर्निर्माण कार्य भइरहेको छ । बाँकी पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले पूनर्निर्माणका कार्यहरू गरिरहेका छन् ।


पर्यटकहरू बसन्तपुर दरबार, काष्ठमाण्डप, गद्दी बैठक, कुमारी घर हेर्न आउँने महानगरका आर्किटेक्ट गौरव श्रेष्ठले बताए । ‘यसमध्ये महानगर अर्न्ततका ४ वटा मन्दिरको पूनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । केहीको हुँदैछ,’ उनले भने, ‘हनुमानढोका दरबार क्षेत्रको आकर्षण भनेको काष्ठमाण्डप हो, यसको भने ५० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’अ

प्रकाशित : कार्तिक ८, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?