२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : मुआब्जा वितरण प्रक्रिया सुरु

विमल खतिवडा

काठमाडौँ — नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले धादिङतर्फ मुआब्जाका लागि निवेदन पेस गर्न माग गरेको छ । आयोजनाले साउन २४ गते सूचना जारी गरे पनि जग्गा धनीहरूबाट निवेदन नआउँदा पुन जग्गासँग सम्बन्धित कागजपत्रसहित मुआब्जा लिन बिहीबार सूचना जारी गरेको हो ।

धादिङको धुनीबेसी नगरपालिका ९ अन्तर्गतका अधिग्रहणमा पर्ने जग्गाको मुआब्जा निर्धारण भएअनुसार सम्बन्धित जग्गा धनीबाट आआफ्नो जग्गाको पुर्जा, तिरो तिरेको रसिद, सम्बन्धित वडाको सिफारिस, नागरिकताको फोटोकपी तथा अन्य प्रमाण कागजात सक्कलै संलग्न गरी निवेदन पेस गर्न साउनमै माग गरिएको थियो । तर घर परेको भनेर निवेदन आए पनि जग्गाका लागि नआएको आयोजनाले जनाएको छ ।


‘अधिकांशसँग जग्गाको कागज पत्र छैन, त्यही भएर पनि निवेदन नआएको हो,’ आयोजना प्रमुख श्यामप्रसाद खरेलले भने, ‘निवेदन नआएपछि पुन: सूचना प्रकाशित गर्दै जग्गासम्बन्धी जे कागजपत्र छ, त्यो पेस गर्न भनेका छौं ।’ यति भएपछि निकास खोज्न सजिलो हुने उनले बताए । जग्गाको उपभोग गरिरहेकालाई जग्गाको नापी मात्र भए पनि ल्याउन आयोजनाले सूचित गरेको हो ।


‘मालपोत, गुठी गएर हेर्दा जे प्रमाण भेटिन्छ त्यही ल्याउन भनेका छौं,’ उनले भने, ‘नक्साबाट कित्ता नम्बर देखिन्छ, कसको हो, धनी कोहो, गुठी हो कि त्यो पनि खुलेको छैन, यो जग्गाधनीलाई खोजेर ल्याउन भनेका हौं ।’ उनले निश्चित समय तोकेर सूचना ननिकालेको दाबी गरे । प्रभावित क्षेत्रका स्थानीयले आयोजना सुरु भइरहेको समयसम्ममा पेस गरे पनि मुआब्जा पाउनेछन् ।


‘सूचना यही दिनभित्रमा पेस गरी सक्नुपर्ने भनेर जारी गरिएको छैन,’ उनले भने, ‘जग्गाको मूल्यांकन नै नगरी घरको मात्र दिने कुरा भएन, कागजपत्र पुर्‍याएर आउनेलाई भोलि नै मुआब्जा दिन तयार छौं, पैसा तयारी अवस्थामा छ ।’ तर उनले कागज बिनामुआब्जा दिन नमिल्ने बताए । अधिकांश जग्गा गुठीका नाममा भएकाले समस्या भएको हो । ‘यसले निर्माणमा प्रभाव पार्ने छैन,’ उनले भने, ‘केही दिनभित्रमा एउटा न एउटा निर्णय निस्कनेछ ।’ उनले निर्माणको ठेक्का पाएको जापानिज निर्माण कम्पनी हाज्मा–एन्डोलाई यथेष्ट समय दिएको बताए । यो क्षेत्रमा अहिलेसम्म मुआब्जा वितरण भएको छैन । यो क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि १ सय ९ रोपनी जग्गा प्रयोग हुनेछ ।


जस मध्ये ४४ रोपनी स्थानीयको छ । यसमा पनि करिब २६ रोपनी जग्गा श्री ५ को वायु गुठीको पर्छ । प्रमुख खरेलले गुठी र लालपुर्जा नभएकाहरूको हकमा मन्त्रिपरिषद्बाट निर्णय गराउने कुरा भएको र चाँडो निर्णय भए समस्या समाधान हुने बताए । धादिङतिर करिब ८० करोड मुआब्जा वितरण गर्नुपर्नेछ । गत वर्ष निर्धारण गरिएअनुसार नै मुआब्जा वितरण गरिनेछ । प्रमुख खरेलका अनुसार गत वर्ष प्रतिआना ७ देखि ९ लाख निर्धारण गरिएको छ ।


‘तिहारपछि एउटा टोली नै धादिङ पठाएर जग्गाको लगत कट्टाका लागि खटाइनेछ,’ प्रमुख खरेलले भने, ‘जसको पूरा छ, उसको मुआब्जा वितरण गरिनेछ ।’ काठमाडौंमा मात्र ४ अर्ब बढी मुआब्जा वितरण भइसकेको छ । जहाँ करिब ३ सय रोपनी जग्गा सुरुङमार्गमा पर्छ । धादिङतर्फ त्रिभुवन राजपथको जग्गा बढी पर्छ । आयोजनाको गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३ वर्षमा निर्माण सक्ने गरी सुरुङमार्गको शिलान्यास गरिसकेका छन् ।


‘काठमाडौंतर्फ १५ प्रतिशत मुआब्जा वितरण गर्न बाँकी भए पनि कुनै समस्या छैन,’ प्रमुख खरेलले भने, ‘मैले मुआब्जा पाइनँ, मलाई मुआब्जा दिएनन् भनेर गुनासो गर्ने कोही आएका छैनन्, जग्गा पर्नेहरू कोही विदेश, कोही मुद्दामालिला भएर पनि नआएका हुन सक्छन् ।’ सुरुङमार्ग काठमाडौंतर्फ चन्द्रागिरि नगरपालिका १ टुटेपाखाबाट सुरु भई धादिङतर्फ धुनीबेंसी नगरपालिका ९ सिस्नेखोलामा निस्कनेछ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार नेपाल सकरकारको ६ अर्बसहित करिब साढे २२ अर्ब खर्च लाग्नेछ । जसमा जापान सरकारको शून्य दशमलब एक प्रतिशत ब्याजमा साढे १६ अर्ब ऋण सहयोग रहनेछ ।


प्रकाशित : कार्तिक ८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?