कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

‘एक्सन रुम’ बाट प्रधानमन्त्रीको निरिक्षण - ‘समय अगावै सके मात्रै गौरवका आयोजना’

विमल खतिवडा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गौरवका २२ आयोजनामध्ये ७ वटा आयोजनाको निर्माण निर्धारित समयअघि नै सक्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’ बाट आयोजनास्थलको प्रत्यक्ष जानकारी लिँदै ओलीले बुधबार आयोजना प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले ‘एक्सन रुम’ बाटै आयोजनाहरूको अवलोकन गरेका थिए । 

‘एक्सन रुम’ बाट प्रधानमन्त्रीको निरिक्षण - ‘समय अगावै सके मात्रै गौरवका आयोजना’

‘एक्सन रुमबाट प्रधानमन्त्रीले कार्य क्षेत्रको प्रगतिको जानकारी लिनुभयो,’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भने, ‘आयोजना प्रमुखसँग नै त्यहाँको जानकारी लिने र आवश्यक निर्देशन दिने काम भएको छ ।’ पुनले असोजसम्म राम्रो काम भएको र प्रगति उल्लेख्य रहेको बताए । ‘अझै पनि गौरव गर्नलायक ढंगले काम गर्न र निर्धारित समयमा नभई त्योभन्दा अघि नै सक्ने गरी प्रधानमन्त्रीबाट मन्त्री, सचिव र आयोजना प्रमुखलाई निर्देशन भएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै पुनले भने ।


‘सबैको अलगअलग रूपमा प्रगति हेर्दा राम्रो छ,’ उनले भने, ‘प्रधानमन्त्रीले अहिलेको प्रगतिभन्दा तीव्र गतिमा निर्धारित समय र लक्ष्यभन्दा अघि नै सक्ने कार्यशैली र कोसिस हुनुपर्‍यो भन्ने निर्देशन भएको छ ।’ एक्सन रुममा ऊर्जामन्त्री पुन, पर्यटन, नागरिक तथा उड्ययनमन्त्री योगेश भट्टराई, अर्थ मन्त्री युवराज खतिवडा, मुख्य सचिव लोकदर्शन रेग्मी, योजना आयेगका उपाध्यक्ष पुष्पराज कडेल, विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।


प्रधानमन्त्रीले पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जल विद्युत्, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, हुलाकी लोकमार्ग गरी ७ आयोजनाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार विकास निर्माण सम्बन्धमा पहिलो पटक यसरी प्रधानमन्त्रीले प्रत्यक्ष जानकारी लिएका हुन् । ‘अन्य गौरवका आयोजनाहरूको पनि यसरी नै जानकारी लिइनेछ,’ उनले भने ।


‘प्रधानमन्त्रीसँग भिडियोमा कुराकानी भयो, के समस्या छ भनेर सोध्नुभयो,’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘निर्माणको प्रगतिबारे जानकारी गराएँ, भौतिक प्रगति सोचेअनुरूप नै अघि बढेको सुनाए ।’ उनका अनुसार अहिले विमानस्थलको भौतिक प्रगति ८३ दशमलव २ प्रतिशत रहेको छ । त्यस्तै अहिले उपकरण जडान, कार पार्किङस्थल निर्माणको काम भइरहेको छ । ‘डिसेम्बरसम्मको टार्गेट हो,’ उनले भने, ‘यो बेलासम्म भौतिक रूपमा निर्माण सकिए पनि मार्च अन्तिमसम्म विमानस्थल सञ्चालन योग्य हुनेछ ।’


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत रहेको छ । आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार ह्यांगर, टर्मिनल भवनको स्टिल स्ट्रकचर निर्माण काम भइरहेको छ । ‘डिसेम्बरसम्म टावरको काम सकिनेछ,’ उनले भने ।


भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतका आयोजना प्रमुख सञ्जीव बरालका अनुसार भौतिक प्रगति ३९ प्रतिशत छ । ‘टनेलको काम सकिएको छ,’ उनले भने, ‘पावर हाउस, पेनस्टकको काम भइरहेको छ ।’ सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकलको काम अघि बढेको उनले बताए । उनका अनुसार बाँकी कामका लागि कन्सल्ट्यान्ट आइसकेका छन् ।


सिक्टा सिँचाइ आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । ‘अलिकति समस्या भौतिक प्रगतिमा देखिएको छ,’ आयोजनाका निर्देशक कृष्ण नेपालले भने, ‘केही विवाद अदालतमा विचाराधीन अवस्थामै छ, काम गर्ने वातावरण अपेक्षित रूपमा छैन ।’ उनले बेलाबेला हुने बन्द हडतालले समेत काम प्रभावित बन्ने गरेको बताए । ‘स्रोत साधनको पर्याप्तता नहुँदा लक्ष्य लम्बिने देखिएको छ,’ उनले भने ।


रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरका आयोजना निर्देशक मधुकर रानाका अनुसार अहिलेसम्मको भौतिक प्रगति ४४ दशमलव ५ प्रतिशत छ । ‘अहिलेसम्म निर्माणको काम सन्तोषजनक छ,’ उनले भने । हुलाकी लोकमार्ग आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकिसकेको छ ।


प्रकाशित : कार्तिक ७, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?