कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरूङमा अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव

बलराम घिमिरे

(केरुङ) — जिलोङ काउन्टीको आयोजनामा केरुङमा आइतबारदेखि दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव भइरहेको छ । अक्टोबर २० बाट सुरु भएको महोत्सव एक साता चल्नेछ । 

केरूङमा अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव

रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एसिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले केरुङलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन, व्यापार व्यवसाय बढाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गरिएको जिलोङ काउन्टिका मजिस्ट्रेड हु हुङले बताए ।


जिलोङ काउन्टिका स्थायी कमिटी सदस्य पाचु, जिलोङ काउन्टिका मजिस्ट्रेड हु हुङ, रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलगायतले आइतबार साँझ संयुक्त रूपमा महोत्सव उद्घाटन गरेका थिए । चीनको संघीय सरकारले जिलोङ काउन्टीलाई प्राथमिकतामा राखेको उद्घाटन सत्रका वक्ताहरूले बताए ।


जिलोङ काउन्टी दक्षिण एसिया जोड्ने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) निर्माणको महत्त्वपूर्ण क्षेत्र रहेको छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत जिलोङ काउन्टीमा अबको केही वर्षमा रेल, सडक, प्रसारण लाइन र सुरुङमार्ग निर्माण हुने उनीहरूले बताए ।


केरुङमा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सवले दुवै देशको सम्बन्ध सुमधुर बनाउने, सीमा नाकामा व्यापारको विकास हुनको साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । महोत्सवमा नेपाली कलाकारहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुको साथै ढाकाबाट बनेको साडी र चोलो लगाएर फेसन सो गरेका थिए । त्यहाँका स्थानीय र राष्ट्रिय कलाकारहरूले पनि मनोरञ्जन प्रस्तुत गरेका थिए । यो महोत्सव अघिल्लो वर्षदेखि त्यहाँको स्थानीय सरकारले सञ्चालन गर्दै आएको छ ।


केरुङ बजारको ठूलो क्षेत्रमा सुरु गरिएको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सवमा हस्तकलाका सामग्री, तयारी पोसाक, स्थानीय उत्पादन, खानेकुरा, खेल तथा विभिन्न मनोरञ्जनका स्टलहरू राखिएको छ । महोत्सवमा काठमाडौंका व्यापारीहरूले पनि भाग लिएका छन् । नेपालीहरूले ललितकला र हस्तकलाका गरी २८ वटा स्टल राखेका छन् । नेपाली ललितकला र हस्तकलाका सामान हेर्न र किन्न त्यहाँका स्थानीयहरू आउन थालेको नेपाली व्यापारीले बताए । उक्त महोत्सवमा रसुवा जिल्लाका स्थानीय व्यापारीहरूको भने सहभागिता छैन । रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ । भूकम्पका कारण चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको छ । त्यसैले केरुङमा व्यापार दिन प्रतिदिन बढ्दै गएको अधिकारीहरूले बताएका छन् ।


भूकम्पपछि चीनतर्फको केरुङ क्षेत्रमा तीव्र रूपमा भौतिक पूर्वाधारको विकास भइसकेको छ । नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । भूकम्पपछि रसुवागढी नाकाबाट बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ । अहिले रसुवागढी नाकाबाट अर्बौं मूल्य बराबरको सामान आयात भइरहेको छ । आर्थिक वर्ष ०७५/०७६ मा चीनबाट नेपालमा करिब २ खर्ब मूल्य बराबरको सामान आयात भएको छ । त्यसमध्ये २० प्रतिशत सामान रसुवागढी नाकाबाट भित्रिने गरेको भन्सार विभागको तथ्यांक छ । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । पैठारी हुने मुख्य मालवस्तुमा तयारी कपडा, स्याउ, जुत्ता/ चप्पल, झोला र चस्मा/चस्माका फ्रेम रहेको उनले बताए ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?