कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजार लिँदै तिहारे फूल

माधव अर्याल

(पाल्पा) — जिल्लामै पहिलोपटक तिहार लक्षित व्यावसायिक फूल खेती रामपुर नगरपालिका–४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले पहिलोपटक लगाएको तिहारे फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् ।

बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ । उनको फूल खेती हेर्न वरपरका बासिन्दासमेत पुग्ने गरेका छन् ।


सदरमुकामदेखि ७० किलोमिटर पूर्वमा लगाए पनि स्थानीय बजारमै खपत हुने विश्वास उनको छ । तिहारलाई मध्यनजर गर्दै थापाले एक रोपनी बारीमा फूल लगाएका हुन् । दसैंदेखि नै टिप्न तयार भएको उनले बताए । ‘बारीको फूल विभिन्न संघसंस्थाले औपचारिक कार्यक्रममा लैजाने गरेका छन्,’ उनले भने । उनले बारीमा हाइब्रिड र उन्नत जातको सयपत्री र मखमली फूल लगाएका छन् ।


रामपुर नगरपालिका–४ को उद्यमी कृषक महिला समूहले पनि थापासहित कृषि सेवा कार्यालयको सल्लाहमा एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेको छ । समूहमा आबद्ध १८ जना महिलाले रामपुरमा पहिलोपटक यस वर्ष फूल खेती गर्न सफल भएको समूहकी सीमा रानाले बताइन् । उनले लगाएको फूल खेतीको रामपुर नगरपालिकाका प्रमुखसहितको टोलीले अवलोकन गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए । व्यावसायिक फूल खेतीको अवलोकन गर्दै नगर प्रमुख रमण थापाले फूलको बजार तिहारमा मात्र नभएर वर्षभरि नै हुने बताए । ‘फूल खेती रामपुरको गौरव बन्नेछ,’ उनले भने ।


रामपुर नगरपालिका–४ की वडा सदस्य तथा न्यायिक समिति सदस्य पार्वती परियारले दसैं र तिहारमा प्लास्टिकका फूलले बजार ढाकेका बेला स्थानीयस्तरमा गरिएको फूल खेतीले सबैलाई राहत पुग्ने बताइन् । रामपुरमा घरघरमा बगैंचा र गमलामा फूल लगाउन सुरु भएको छ । ‘त्यसैले पनि नर्सरीको बिरुवाबाट पनि राम्रो आम्दानी हुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘आवश्यकताअनुसारका फूलका बिरुवासमेत तयारी गर्ने गरेको छु ।’


प्रकाशित : कार्तिक ५, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

सिँचाइले रोक्यो बसाइँसराइ

०५२ सालमा बुटवल पावर कम्पनीमार्फत आँधीखोला सिँचाइ उपभोक्ता संस्था खुल्यो । कम्पनीले उत्पादन गरेको बिजुली उपभोग गर्ने र पानीलाई सिँचाइमा उपयोग गर्ने योजना बनेपछि गाउँको मुहार फेरिएको हो ।
माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगी असेर्दीका थानेश्वर जीटीको परिवार दुई वर्षअघिसम्म सुकुम्वासी जग्गामा बस्दै आएको थियो । बस्ने सानो छाप्रो थियो । खाने सामल जुटाउन दैनिक ज्यालादारी र अर्काको मजदुरी गर्थे । अहिले आफु बसेको जग्गाबाट घरखर्चको जोहो गर्न सकेका छन् । घर निर्माण गरेका छन् ।

यहाँ विभिन्न जातजातिका २ सय ५० घरपरिवारको बस्ती छ । पहिला कालीगण्डकीले बनाएको टार हो । यहाँ गरिबी, विपन्नता, बसाइँसराइ २० वर्षअघिसम्म थियो ।

खेतबारीमा मकै, कोदो, सिल्टुङ, भट्ट लगाउने चलन थियो । खेत निकै कम थियो । यही दु:ख गर्दा कतिपय मधेसतिर झरे । तर, अहिले त्यस्तो छैन । त्यसपछि बसाइँसराइ नै रोकिएको छ ।

‘पहिले थोरै व्यक्तिको मात्र यो असेर्दी गाउँमा खेत थियो,’ स्थानीय कुलराज पौडेलले भने, ‘सबै पाखो बारी नै हो ।’ ०५२ सालमा बुटवल पावर कम्पनीमार्फत आँधीखोला सिँचाइ उपभोक्ता संस्था (आक्वा) स्याङ्जा गल्याङमा खुल्यो । उत्पादन भएको बिजुली उपभोग गर्ने र बिजुली निकालेर खेर गएको पानीलाई सदुपयोग गर्ने योजना बनेपछि गाउँको मुहार फेरिन थालेको उनले बताए ।

असेर्दीको माथिल्लो क्षेत्रमा पानी फाल्ने योजना बन्यो । ‘गाउँको माथिल्लो भेगमा आएको पानी रोपनीअनुसार बाँडफाँट गरेर वितरण हुन्छ,’ स्थानीय ईश्वरी अर्यालले भने, ‘जसले गर्दा कसलाई कति पानी आवश्यक पर्छ, सोहीअनुसारको साँचो निर्माण भएको छ ।’

गाउँमा पाखो खेत, बारी, खर्‍यान थिए । अहिले सबै खेत बनेको छ । बारी देख्न पाइँदैन । सबैले तीन खेती गर्छन् । सोही जग्गा त्यतिबेला मूल्य पनि नपर्ने भएकाले विपन्न परिवारलाई दिन कुनै समस्या भएन । त्यसैले आक्वा र बुटवल पावर कम्पनीका विदेशीको आग्रहमा प्रतिव्यक्ति दुई रोपनीले खान पुग्ने भन्दै विपन्नलाई समेत जग्गा वितरण गरेका हुन् । पानीको वार्षिक कर तिर्छन् । उपभोक्ताले वार्षिक ६ सयदेखि १ हजार ५ सयसम्म पानीको पैसा तिर्ने गर्छन् ।

अहिले गाउँबाट कालीगण्डकी करिडोरको सडक खनिएको छ । सडकछेउको जग्गा आनाको कम्तीमा पाँच लाख रुपैयाँमा बिक्छ । भित्री र खेतीयोग्य जमिन रोपनीको कम्तीमा ५ लाख पर्छ ।

स्थानीयले आफ्नो गाउँ असेर्दीलाई ‘सुकुम्वासी र गरिब नभएको गाउँ’ भन्न रुचाउँछन् । यो गाउँ बसाइँसराइ पनि कम हुने स्थानको रूपमा चिनिएको छ । यहाँका सबै घरपरिवारले तीन खेती गर्छन् । विपन्न र अति गरिब कोही छैनन् । तरकारी खेती व्यावसायिक हुन नसके पनि घरमा किनेर खानु पर्दैन ।

‘गाउँका कसैले तरकारी किनेर खाँदैनन्,’ स्थानीय व्यवसायी विनोद अर्यालले भने, ‘अन्य सामग्री किनेर ल्याइन्छ तर तरकारी किनिँदैन ।’

प्रकाशित : कार्तिक ४, २०७६ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×