कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औद्योगिक क्षेत्रको ईआईए थन्कियो

प्रताप विष्ट

काठमाडौँ — सरकारले हेटौंडा उपमहानगरपालिका–१४ को मयूरधापमा स्थापना गर्ने भनेको नयाँ औद्योगिक क्षेत्रको ईआईए प्रतिवेदन छ महिनादेखि थन्किएको छ । औद्योगिक क्षेत्रको जग्गा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्ज कार्यालयले ईआईए स्वीकृत नगर्न वन मन्त्रालयमा पत्राचार गरेको छ ।

निकुञ्जसँग कुनै स्वीकृत नलिई तारबार गर्ने र औद्योगिक क्षेत्र बनाउने कार्य कानुनविपरीत भएको निकुञ्जका अधिकारीहरूको भनाइ छ । ‘यही विवादका कारणले मन्त्रालयबाट ईआईए स्वीकृतमा विलम्ब भएको छ,’ परियोजनाका एक कर्मचारीले भने, ‘ईआईए स्वीकृत नभएकाले परियोजनाको काम अघि बढ्न पाएको छैन ।’


निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेको जग्गा हटाउन हेटौंडा उपमहानगरपालिकाले वन मन्त्रालयलाई पत्राचार गरेको छ । ‘अहिलेसम्म ईआईए मन्त्रालयवाट स्वीकृत भएको छैन,’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख राजेन्द्र कँडेलले भने, ‘छिटो स्वीकृत गरिदिन अनुरोध गरेका छौं, डीपीआरको काम सकिएको छ, ईआईए स्वीकृत भएपछि परियोजनाले काम सुरु गर्छ ।’


हेटौंडा उपमहानगरपालिका–१४ मयूरधाप कालापानीमा औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरिसकेको छ । सरकारले गत आवमा औद्योगिक क्षेत्रमा पूर्वाधारका काम बनाउन विनियोजन गरेको ५० लाख फ्रिज भएको थियो । चालु आवमा ३१ करोड विनियोजन गरेको छ । अहिलेसम्म ईआईए स्वीकृत नभएकाले उक्त रकम पनि खर्च गर्न समस्या हुने प्रमुख कँडेलले बताए ।

सरकारले ०७२ चैत १ गते प्रदेश–३ को मयूरधापमा नयाँ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । ०७३ साउन ६ गते औद्योगिक क्षेत्रका नाममा जग्गा हालेको थियो ।


ईआईएको स्वीकृत हुनेबित्तिकै मयूरधाप कालापानी औद्योगिक क्षेत्रको शिलान्यास हुने परियोजनाले जनाएको छ । करिब २ सय बिघा क्षेत्रमा स्थापना गरिन लागेको औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम सकिइसकेको छ । उक्त जग्गामध्ये २० बिघा जमिन मुद्र्रण विभागले लिइसकेको छ । बाँकी जमिनलाई ४ देखि १४ रोपनीसम्मका गरी ६२ वटा प्लटमा विभाजित गर्ने जनाएको छ । नयाँ औद्योगिक क्षेत्रको जमिनमा अतिक्रमण र उत्खनन रोक्न तारबार लगाउने कार्य पनि गरिएको छ ।


मयूरधापको उक्त ऐलानी जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा गराउन मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्न कम्तीमा २ वर्ष लाग्न सक्ने प्रमुख कँडेलले बताए । उक्त नयाँ औद्योगिक क्षेत्रमा एक सय उद्योग स्थापना हुन सक्नेछन् । गुरुयोजनाबमोजिम निर्माणमा साढे ७ अर्ब खर्च हुने अनुमान गरिएको छ ।


‘पूर्वमा मयूरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा १६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने उक्त चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो । चुरेको खहरेको उकास जमिनमा उद्योग स्थापना गर्न लागेको हो । वर्षौंअगाडिसम्म त्यही जमिन भएर चुरेको खहरे बग्ने गरेको थियो । अहिले धार बदलेर खहरे अन्यत्रबाट बगेकाले उक्त जमिन सुरक्षित छ ।


बुट्यानहरूले ढाकेको उक्त जमिनमा ठूला रूखहरू छैनन् । राजमार्गसँग जोड्न सडक पुर्‍याउन पनि समस्या नहुने र बिजुली पनि सहज ढंगले पुर्‍याउन सकिने भएकाले औद्योगिक क्षेत्र स्थापना गर्न उपयुक्त थलो रहेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने, ‘अनुत्पादक जग्गा उपयोगमा पनि आउने, औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने पूर्वाधारहरू उक्त स्थानमा निर्माण गर्न सहज हुन्छ ।’


अमेरिकी सरकारको सहयोगमा २०२० सालमा २ सय १२ बिघा जमिनमा हेटौंडा औद्योगिक क्षेत्र स्थापना गरेको थियो । ५६ वर्षपछि हेटौंडा औद्योगिक क्षेत्र नजिककै २ सय १ बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?